भरोसा बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारणसभा शनिवार गरिएको छ । जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले साधारणसभाको उद्घाटन गरेका हुन् ।
साधारणसभा उद्घाटन गर्दै सहकारी संघका प्रदेश अध्यक्ष समेत रहेका सुवेदीले सीमित सहकारीको कमजोरीसँग जोडेर सहकारी आन्दोलनलाई नै बदनाम गर्न नहुने स्पष्ट पारे । सहकारीबारे भ्रम नै बढी प्रचारित भैरहेको भन्दै अध्यक्ष सुवेदीले सहकारीले गरेका सकारात्मक कुराहरू बाहिर आउन नसकेको तथ्यमा आधारित कुरामा मात्रै विश्वास गर्न आव्हान गरे ।
‘कस्ता सहकारी डुबे ? भन्ने कुराको तथ्यगत जानकारीमा जानुभयो भने सहकारी कसरी राम्रो गर्न सकिन्छ भन्ने कुरा स्पष्ट हुन्छ’, अध्यक्ष सुवेदीले सहकारी अध्ययन सम्बन्धी सरकारी कार्यदलको प्रतिवेदन उद्धृत गर्दै भने, ‘सदस्यले गर्ने नियमित र नजिकको आर्थिक सम्बन्धले सहकारीलाई बलियो र विश्वसनीय बनाउँछ ।’
सहकारी संघका लुम्बिनी प्रदेश अध्यक्ष सुवेदीको भनाइ थियो, ‘केबल ऋण लिनका लागि मात्रै सदस्य बन्ने प्रवृत्ति र सञ्चालनमा बेवास्ता गर्ने शेयर धनीको कारण सहकारी जोखिममा रहने गरेको छ ।’
संस्थाका उपाध्यक्ष टंक बहादुर विष्टको अध्यक्षतामा भएको भरोसा बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो बार्षिक साधारणसभामा राष्ट्रिय सहकारी बैंक नेपालगन्ज शाखाका प्रबन्धक प्रकाश थपलियाले सबैभन्दा नजिकिको र भरपर्दो आर्थिक कारोबारको संस्था नै सहकारी भएको बताए ।
‘१० प्रतिशत खराब कारोबार गर्ने सहकारीका कारण ९० प्रतिशत संस्थालाई बदनाम गरिनु हुन्न’, प्रबन्धक थपलियाले भने, ‘सहकारीको महत्व बुझाउन जरुरी छ ।’
भरोसाका सञ्चालक हिमाल गैरेले युवा पलायन रोक्न सहकारीले नयाँ र सिर्जनशील कारोबारीलाई लगानी प्रोत्साहन गर्ने बताए । ‘आर्थिक मन्दी र युवा पलायन बीच पनि टिकेकाहरूलाई सरकारले पनि प्रोत्साहन गरेर अगाडि बढाउनु पर्छ’, सञ्चालक सदस्य गैरेले भने, ‘त्यसका लागि भरोसाले नयाँ योजना र प्रविधि मैत्री प्रणालीको विकास गरेर अगाडि बढिरहेको छ ।’
इन्दिरा बुढामगरले सञ्चालन गरेको कार्यक्रममा भरोसाका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावलले प्रगति विवरण, योजना र कोषाध्यक्ष मिना कुमारी बोगटीले आगामी बर्षको बजेट प्रस्ताव गरिन् ।
लेखा सुपरिवेक्षण समितिका संयोजक समीर पौडेलले संस्थाको आन्तरिक सुशासनबारे प्रस्तुति गरेका थिए । भरोसाका प्रमुख कार्यकारी अधिकृत रावलका अनुसार, ८६ लाख ३ हजार ५ सय चुक्ता पूँजी रहेको भरोसाले आगामी बर्ष १ करोड २० लाख चुक्ता पूँजी पुर्याउने लक्ष्य अघि सारेको छ ।
९ सय ४५ शेयर सदस्य रहेको संस्थाले यस आर्थिक बर्षको अन्त्यसम्म १ हजार ५ सय पुर्याउने योजना लिएको रावलले जानकारी दिए । कार्यक्रम बीच बर्षभरी उत्कृष्ट काम गर्ने कर्मचारी सम्मान संस्थाका कर्मचारी मन बहादुर विकलाई प्रदान गरिएको थियो ।