सहकारीबारे भ्रम नै बढी प्रचारित भैरहेको भन्दै यसले गरेका सकारात्मक कुराहरू बाहिर आउन नसकेको जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले तथ्यमा आधारित कुरामा मात्रै विश्वास गर्न आव्हान गरेका छन् ।
शनिबार भरोसा बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारणसभा उद्घाटन गर्दै सहकारी संघका प्रदेश अध्यक्ष समेत रहेका सुवेदीले सीमित सहकारीको कमजोरीसँग जोडेर सहकारी आन्दोलनलाई नै बदनाम गर्न नहुने स्पष्ट पारे ।
‘कस्ता सहकारी डुबे ? भन्ने कुराको तथ्यगत जानकारीमा जानुभयो भने सहकारी कसरी राम्रो गर्न सकिन्छ भन्ने कुरा स्पष्ट हुन्छ’, अध्यक्ष सुवेदीले सहकारी अध्ययन सम्बन्धी सरकारी कार्यदलको प्रतिवेदन उद्धृत गर्दै भने, ‘सदस्यले गर्ने नियमित र नजिकको आर्थिक सम्बन्धले सहकारीलाई बलियो र विश्वसनीय बनाउँछ ।’
सहकारी संघका लुम्बिनी प्रदेश अध्यक्ष सुवेदीको भनाइ थियो, ‘केबल ऋण लिनका लागि मात्रै सदस्य बन्ने प्रवृत्ति र सञ्चालनमा बेवास्ता गर्ने शेयर धनीको कारण सहकारी जोखिममा रहने गरेको छ ।’
संस्थाका उपाध्यक्ष टंक बहादुर विष्टको अध्यक्षतामा भएको भरोसा बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो बार्षिक साधारणसभामा राष्ट्रिय सहकारी बैंक नेपालगन्ज शाखाका प्रबन्धक प्रकाश थपलियाले सबैभन्दा नजिकिको र भरपर्दो आर्थिक कारोबारको संस्था नै सहकारी भएको बताए ।
‘१० प्रतिशत खराब कारोबार गर्ने सहकारीका कारण ९० प्रतिशत संस्थालाई बदनाम गरिनु हुन्न’, प्रबन्धक थपलियाले भने, ‘सहकारीको महत्व बुझाउन जरुरी छ ।’