फेरिए विद्युत हाकिम, नियमित होला त विद्युत आपूर्ति ?

बाँकेस्थित नेपाल विद्युत प्राधिकरणका वितरण केन्द्रहरुमा सोमबार देखि नयाँ प्रमुखले जिम्मेवारी सम्हालेका छन् ।


नेपालगन्ज वितरण केन्द्रमा सहायक प्रबन्धक जगन्नाथ लामिछानेले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । उनी लमही वितरण केन्द्रबाट नेपालगन्जमा प्रमुख पदको जिम्मेवारी सम्हाल्न आएका हुन् ।


नेपालगन्ज वितरण केन्द्रमा सहायक प्रबन्धक दिवाकर प्याकुरेल घोराही वितरण केन्द्रमा सरुवा भएका छन् । आफ्नो दुई वर्षे कार्यकाल पूरा गर्दै प्याकुरेल सोमवारनै घोराही वितरण केन्द्र प्रस्थान गरे ।


नेपालगन्ज वितरण केन्द्रका प्रमुख प्याकुरेलको सक्रियतामा विभिन्न स्थानमा विद्युतीकरण ,लाइन निर्माण र सुधार, विद्युत बक्यौता असुली, चुहावट नियन्त्रण , सिंचाइ विद्युत मिटरको अनुगमन लगायतका उल्लेखनीय कार्यहरु मानिन्छ


सोमवार आयोजित एक कार्यक्रमबीच पदभार ग्रहण गर्दै नेपालगन्ज वितरण केन्द्रका नयाँ प्रमुख लामिछानेले नेपालगन्ज र अन्तरगतको सेवा क्षेत्रमा गुणस्तरीय विद्युत सेवा प्रवाह गराउनु आफ्नो पहिलो मुख्य लक्ष्य रहेको बताए ।

सबैको साथ र सहकार्यको अपेक्षा राख्दै उनले छिट्टै कार्ययोजना बनाएर सुधारको अनुभुति दिलाउने गरि काम गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै, कोहलपुर वितरण केन्द्रमा इन्जिनियर माधव महतले सोमवारनै जिम्मेवारी सम्हालेका छन् ।

यसअघि कोहलपुर वितरण केन्द्रमा सहायक प्रबन्धक सुरज रेग्मी परासी वितरण केन्द्रका लागि बाँकेबाट बिदाइ भए ।


सम्बद्ध कार्यालयका अनुसार, केन्द्र प्रमुख रेग्मीको कार्यकालमा कोहलपुर भित्र विद्युतीय सेवा थप सुलभ भएको छ । ग्राहकलाई आवेदन गरेको २४ घन्टाभित्र सिंगल फेज विद्युत मिटर हस्तान्तरण, विभिन्न सेवा एकीकृत गर्दै एकद्वार सेवा प्रवाह प्रणाली, विद्युत बक्यौता असुली, महसुल संकलन, सुविधासम्पन्न वातानुकुलित ग्राहक प्रतिक्षालय, विभिन्न दुई स्थानमा फ्युज सेवा केन्द्र विस्तारलगायतका ग्राहकमैत्री सेवा थालिएको थियो ।


दुवै कार्यालयमा नयाँ प्रमुख आएपछि विद्युत नियमित होला त ? यो चाहिं कार्यसम्पादनका क्रममा देखिंदै जानेछ ।

प्रतिक्रिया

प्रतिक्रिया