रास्वपाको नगर सभापतिमा खड्का

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालगन्ज उपमहागरपालिकाको नगर सभापतिमा गुप्त बहादुर खड्का ( नबिन ) सर्वसम्मत चयन भएका छन् । शनिवार भएको भेलाबाट खड्काको नेतृत्वमा ११ सदस्यीय नगर समिति गठन भएको हो ।


उप सभापतिमा अर्चना पोखरेल, सचिवमा घनश्याम भट्ट, कोषाध्यक्षमा बुद्धिसागर सुवेदी तथा सदस्यहरुमा कृष्ण प्रसाद मरासिनी , हरिलाल उपाध्याय , असलम अलि कबडिया, नरेन्द्र श्रेष्ठ, स्नेहा प्रसाईं, निभा कुमारी सोनी र बिनिता आचार्यलाई पनि सर्वसम्मत चयन गरेको छ ।


त्यस्तै संगठन विभाग प्रमुखमा अमृत थापा, प्रशिक्षण विभाग प्रमुखमा पवन गौतम, उद्योग विभाग प्रमुखमा कपिल नेपाल र आर.ए.टि. विभाग प्रमुखमा शम्भुराम भुर्तेललाई जिम्मेवारी दिइएको छ ।


शनिवारनै रास्वपाका लुम्बिनी प्रदेश महामन्त्री निलराज अधिकारीले नवनिर्वाचित पदाधिकारी सदस्य तथा विभाग प्रमुखहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।


त्यसअघि, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेलालाई सम्बाधन गर्दै पार्टीमा भ्रष्टाचारको गन्ध आउने वित्तिकै संलग्नलाई तत्काल कार्वाही गरिने बताए ।


सभापति लामिछानेले अपारदर्शी चन्दा र अनुचित सम्झौताको विषय पनि पुष्टि हुने वित्तिकै पार्टीले कसैलाई नछाड्ने बताए । उनले निराधार आरोप लगाएर बदनाम गर्ने अधिकार र छुट कसैलाई नभएको भन्दै पार्टी सत्यको पक्षमा उभिने बताए ।


सभापति लामिछानेले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्न आवश्यक रहेको बताए । उनले जनताबाट शक्ति लिएर जनताको कल्याणकै लागि उक्त शक्ति लगाउनुपर्नेमा जोड दिए ।

राजनीतिक दलहरुले बाटो विराउँदा मुलुक अप्ठेरोमा परेको भन्दै लामिछानेले भनाई र गराईमा एकरुपता नहुँदा समस्या देखिएको बताए । लामिछानेले भ्रष्टाचार, बेथिति र दण्डहीनताप्रति सरकार संवेदनशिल नभएको दाबी गर्दै जनताको मतको सम्मान गर्न नसकेको जिकिर गरे ।


पार्टी कार्यक्रमको शिलशिलामा सभापति लामिछाने शनिबार नै दाङ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया