नयाँ शैक्षिकसत्रका लागि कृषि स्नातक तहमा गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरले असोज १२ गतेसम्म अवधी दिएर प्रवेश परीक्षाको आवेदन फारम खुल्ला गरेको जनाएको छ ।
बाँकेको कोहलपुरमा पत्रकार भेटघाट गरेको गोरखाले बिएस्सीएजी तर्फ अनलाइन आवेदन खुला गरिसकेको जानकारी दिएको हो । प्रवेश परीक्षाको आवेदन फारम भर्नका लागी एसएलसी/एसइइ वा सो सरहको परीक्षामा कम्तिमा द्वितीय श्रेणी वा ‘सी ग्रेड’मा उत्तिर्ण भई आवश्यक दक्षता हासिल गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ ।
गोरखा कलेजका अनुसार, आई.एस्सी (विज्ञान) वा १०+२ (विज्ञान) वा १०+२ (कृषि विज्ञान, वन विज्ञान वा पशु विज्ञान) विषयमा प्राविधिक प्रमाणपत्र तह वा सो सरह अध्ययन गरी कुल प्राप्ताङ्कको कम्तिमा ४५ प्रतिशत अङ्क वा प्रत्येक विषयमा ‘सी ग्रेड’का साथै कूल प्राप्ताङ्क ‘सी जीपिए’ मा २.२ प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्नेछ ।
कोहलपुर नगरपालिका वडा नं. २ मा गोरखा पोलिटेक्निक एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याएको पश्चिम नेपालकै उत्कृष्ट बिद्यालयका रुपमा स्थापित गोरखा स्कुल संस्थापनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट २०७५ सालमा सम्बन्धन प्राप्त गरेको थियो ।
‘५० जना विद्यार्थीको कोटा प्राप्त भएको छ,’ आइतवार पत्रकार भेटघाटमा क्याम्पस प्रमुख इश्वरी चन्द्र प्रकाश तिवारीले पाँचौं ब्याचका लागी आवेदन खुल्ला गरिएको जानकारी दिंदै भने, ‘१० प्रतिशत अनिवार्य छात्रबृत्ति प्रदान गरिएको छ ।’
कृषि विज्ञान पढ्न चाहने विद्यार्थीहरुलाई कोटा अनुसार छात्रवृत्ति प्रदान गर्दै आएको क्याम्पसले पढाई सँगसँगै विद्यार्थीहरुको प्रयोगात्मक अभ्यासकालागि रिसर्च सेन्टर समेत सञ्चालन गरिएको पनि जनाएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका अनुसन्धान तथा प्रसार निर्देशनालय निर्देशक डा. ऋषिराम कट्टेलले विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै अहिले चितवनकासाथै काठमाडौंबाट समेत प्रवेश परीक्षा दिने ब्यवस्था मिलाइएको जानकारी दिए । ‘आगामी दिनमा विध्यार्थीहरुको माग र आवश्यकताका आधारमा अन्य ठाँउबाट समेत प्रवेश परीक्षा दिनसक्ने ब्यवस्था मिलाइने गरि काम भइरहेको छ,’ डा.कट्टेलले भने ।