गाडी सडकमा होइन, ग्यारेजमा बनाउन दबाब

भावुक योगी


पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगन्ज गत शुक्रबार राति करिव ९ बजेतिर रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना हुँदा ७ जनाको ज्यान गयो २९ जना घाइते भए ।


बर्दिया ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली दाङ भ्रमणबाट फर्किदै गर्दा शमशेरगन्ज नजिक राजमार्गमा रोकि राखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ना ७ ख २३२१ नम्बरको बस ठोक्किएर ठुलो मानवीय क्षति हुनपुग्यो । दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको छ ।


घाइते २९ मध्ये अझै २१ जनाको कोहलपुर र नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये ५ जनाको अवस्था अझै गम्भीर छ । एक जना काठमाडौंमा र २ जना कोहलपुरमा भेन्टिलेटरमा र २ जना नेपालगन्जमा भेन्टिलेटरमा उपचार भइरहेका गम्भीर छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शमशेरगन्ज नजिक राजमार्गमा रोकिराखेको ट्रकमा बस ठोक्किदा दुर्घटना भएको हो ।


त्यही राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका २ मा २७८ कार्तिक २४ गते तिहारको समयमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा बर्दिया ठाकुरबाबा नगरपालिकाका दाजुभाईको ज्यान गयो ।


दुर्घटनामा ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ नेउलापुरका २२ वर्षीय आशिष थारू र १९ वर्षीय सौरभ थारूको ज्यान गएको थियोे । राजमार्गमा रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ५५ प ९७५६ को मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवारको ज्यान गएको हो ।


त्यतिबेला व्यस्त सडकमा बिग्रिएको ट्रक विना संकेत राख्नाले २ जनाको मृत्युु भएको भन्दै पीडित पक्षले दिएको मुद्दामा अदालतले जिल्ला प्रशासनमा पठायो ।


सो मुद्धामा बाँकेका तत्कालीन प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले पीडितका पक्षमा बोल्दै व्यस्त सडकमा बिग्रिएका गाडीहरु गाडि मालिक र ट्राफिकले तत्काल हटाउनुपर्ने निर्णय गरे । प्रजिअ कुरुम्वाङको सरुवासँगै त्यो निर्णय कार्यान्वयन भने हुन सकेन ।


यी दुई घटना प्रतिनिधि घटनामात्रै हुन् । अति व्यस्त राजमार्गमा रोकिराखेका गाडी दुर्घटनाका कारक बनेको पाइएको छ । पछिल्ला तथ्य तथ्यांकका आधारमा कारक प्रष्ट भएपछि बिग्रिएर ठाउँ ठाउँमा छाडिएका गाडीहरु तत्कालै सडकबाट हटाउने अभियान थालियोस् भन्दै सामाजिक सञ्जालमार्फत ट्राफिक प्रहरीलाई यसबीच दबाब सिर्जना गरिएका छन् ।


‘क्षमता भन्दा बढि यात्रु बोक्ने तथा तिब्र गतिमा गुड्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले जरिवानासमेत लिइ बढि भएका यात्रुलाई तुरुन्तै अर्को गाडी व्यवस्था गरि गन्तव्यमा पु¥याउने तर्फ पनि ध्यान जाओस्,’ अभियन्ताहरुले भनेका छन् ।


उनीहरुको भनाइ छ, ‘आर्थिक संकलन गर्ने होडबाजीमा यातायातका साधनका संचालक, चालक र ट्राफिक प्रहरीले लापरवाही गर्दा अनाहकमा यात्रुले ज्यान गुमाउने क्रम बढिरहेकाले बेलैमा यसतर्फ सरकारको पनि ध्यान जान जरुरी छ ।’
यसबीच, सोमवार इलाका प्रहरी कार्यालय कोहलपुरले सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया आयोजना गरेको छ ।


राजमार्गमा रोकिराखेको ट्रकमा बस ठोक्किएपछि शुक्रवार भएको दुर्घटनापछि इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले सरोकारवाला पक्ष ट्राफिक प्रहरी, यातायातका साधनका समिति, गाडी मालिक, चालक, निकुञ्जसहित सरोकारवाला पक्षहरुबीच अन्तक्र्रिया गरेका हुन् ।


इलाका प्रहरी कार्यालय, कोहलपुर बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुर बाँकेको संयुक्त आयोजनामा सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवालासँग अन्तक्र्रिया गरिएको हो ।


यातायात व्यवसायी, सुरक्षाकर्मी र सञ्चारकर्मी गरि झण्डै जनाको उपस्थितिमा भएको अन्तरक्रियामा विषय प्रवेश गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी तिवारीले सवारी दुर्घटनाका कारण र न्यूनीकरणमा सरोकारवालाको भूमिका बारेमा प्रस्तुतिकरण गरे ।


अन्तरक्रियाको क्रममा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले गत आर्थिक वर्षमा मात्र राष्ट्रिय निकुञ्ज क्षेत्रमा भएको सवारी दुर्घटनामा ८६ वटा वन्यजन्तुको ज्यान गरेको बताए । उनले वन्यजन्तु र मानवको सहअस्तित्वलाई गम्भीरतापूर्वक लिई राष्ट्रिय निकुञ्जमा निर्धारित गति भन्दा तीव्र गतिमा सवारी साधन नगुडाउन ध्यानाकर्षण गराए ।


अन्तक्र्रियामा ईलाका प्रहरी कार्यालय चिसापानीका कार्यालय प्रमुख प्रहरी निरीक्षक नेत्र प्रसाद भट्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदी, कोहलपुर नगरपालिकाका नगर प्रहरी निरीक्षक बिर बहादुर थापाले सडक सुरक्षा र सावधानीको बारेमा आआफ्नो धारणा राखे ।

बागेश्वरी यातायात व्यवसायी प्रा.लिका अध्यक्ष मन प्रसाद आचार्यले सम्पूर्ण व्यवसायीको तर्फबाट मन्तव्य राख्दै सडक सुरक्षा आम सरोकारको विषय भएकाले छलफलमा उठेका विषयवस्तुहरूमा सम्पूर्ण व्यवसायी सम्वेदनशील रहेको बताउँदै छलफलमा भएका निर्णय पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाए ।


यात्राको दौरानमा सवारी साधन बिग्रिएको खण्डमा यथासम्भव मूल सडक भन्दा बाहिर पार्किङ गरी मर्मत गर्नुपर्ने निर्णय गरिएको अन्तक्र्रियामा सडकमा राखेर मर्मत गर्नुपर्ने विकल्प नरहेको अवस्थामा अनिवार्य रूपमा सवारी साधनको ५० मिटर अगाडी–पछाडी टल्किने अथवा सहजै थाहा पाउन सकिने सावधान लेखेर र देखिने संकेत राख्नुपर्ने व्यवस्था गरिएको छ ।


‘मर्मतका लागि एक घण्टा भन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित सवारी धनी पक्ष वा व्यवसायी पक्षबाट व्यहोर्ने गरी सवारीसाधन जसरी पनि सुरक्षित स्थानमा लैजाने’ निर्णय गरिएको प्रहरीले जनाएको छ ।


बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको लोक मार्ग खण्डमा निर्धारित अधिकतम गति ४० किलोमिटर प्रति घण्टा रहेकोले सबै सवारी चालकले अनिवार्य रूपमा पालना गर्ने कुरामा जोड दिइएको छ ।

‘सो सडक खण्डमा टाइम कार्ड लगाउनको लागि थप छलफल गर्ने,’ इलाका प्रहरी कार्यालय कोहलपुरले भनेको छ । ‘यी सबै कुरालाई म कडाईका साथ कार्यान्वयनका लागि पहल लिइनेछ,’ डिएसपी तिवारीले दैनिक नेपालगन्जसँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया