बाँकेको सम्शेरगन्ज शुक्रबार राती बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
बर्दिया ठाकुरद्वारा स्थित बेतहनी सामुदायिक वन उपभोक्ता समितिबाट दाङ्ग भ्रमण गएर फर्किएको टोली चढेको ना ७ ख २३२१ नम्बरको बस सडकमा बिग्रेको अवस्थामा रहेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किएको थियो ।
‘घाइतेको उद्दार र उपचार व्यवस्थापनको काम भैरहेको छ’, बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षण नारायण डाँगीले भने, ‘घाइतेको उपचार शिक्षण अस्पताल कोहलपुरमा भैरहेको छ ।’
जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीले आफु घटनास्थलमै रहेको जानकारी दिंदै घाइतेको उद्दारको कार्य भएको बताए ।