छैठौँ विश्व संस्कृत दिवस मनाइँदै

संस्कृतका क्षेत्रमा विशेष सम्मान र शोधवृत्ति प्रदान गरिने

आगामी विहीवार छैठौँ विश्व संस्कृत दिवस मनाइने भएको छ । प्रत्येक वर्ष तिथिअनुसार श्रावण शुक्ल पूर्णिमा अर्थात् ऋषितर्पणीका दिनमा विश्व संस्कृत दिवसको प्रारम्भ जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा वि.सं. २०७५ सालदेखि भएको हो ।


विश्व संस्कृत दिवस कार्यपरिषद्का संयोजक प्रा. डा. माधवप्रसाद पाण्डेयका अनुसार, छैठौँ विश्व संस्कृत दिवसको अवसरमा आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेललाई विशेष सम्मान गरिने भएको छ ।


शुक्रवार बसेको छैठौँ विश्व संस्कृत दिवस कार्यपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । व्याकरण, न्याय, वेदान्त, साहित्य, ज्योतिष, पुराणेतिहास सहित ७ विषयमा आचार्य गरेका आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेलले वि. स. २०५७ देखि २०६१ सम्म महेन्द्र संस्कृत विश्वविद्यालयमा उपकुलपतिको भूमिका निर्वाह गरिसकेका छन् ।


नेपाल र भारतमा गरी १०० भन्दा बढी शोधार्थीको अनुसन्धानमा शोधनिर्देशकको भूमिकामा रहेर विद्यासाधनामा विशिष्ट योगदान गरेका आचार्य ढुङ्गेलको योगदानको उच्च मूल्यांकन गरी उक्त सम्मान गर्न लागिएको विश्व संस्कृत दिवसका संकल्पकर्ता डा. निर्मलमणि अधिकारीले बताए ।


त्यस्तै, छैठौँ विश्व संस्कृत दिवसको अवसरमा रू. १ लाख राशिको आरुणि संस्कृत शोधवृत्ति (रिसर्च फेलोशिप) उप–प्रा. गोविन्द घिमिरे (आकाश नीलम) लाई प्रदान गर्ने निर्णय विश्व संस्कृत दिवस कार्यपरिषद्ले गरेको छ ।


जरो किलो महाअभियानले संस्कृत माध्यमबाट प्राचीन वा आधुनिक विषयवस्तु बारे अनुसन्धानका लागि युवा पुस्ताका संस्कृतज्ञलाई शोधवृत्ति (रिसर्च फेलोशिप) प्रदान गर्दै आएको छ । गतवर्ष विशेष सम्मान प्रा.डा. दीर्घराज घिमिरेलाई र आरुणि संस्कृत शोधवृत्ति उप–प्रा. रोहिणीराज तिमिल्सिनालाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया