नेपालगन्ज उद्योग वाणिज्य संघमा धर्ना बस्दै नवनिर्वाचित

नेपालगन्ज उद्योग वाणिज्य संघको विवादित बनेको महासचिव पदको मतगणनाका विषयलाई लिएर नवनिर्वाचित कोषाध्यक्ष मख्खन धामीसहितको टोली धर्नामा बसेको छ ।


शनिबार नेपालगन्जमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले पत्रकार सम्मेलन गरेर पुनः मतगणनाको माग सुनुवाई नगरेसम्म आन्दोलन गर्ने घोषणा गरिएपछि शुरु भएको धर्नामा नवनिर्वाचितहरुनै बसेका हुन् ।


साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका संयोजक संजय थापाले महासचिव पदको पुनः मतगणना नभए चरणबद्धरुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा मतगणनाको क्रममा केही मतहरु मतपेटिकामा रहेकै अवस्थामा विजयी घोषणा गरिंदा समस्या आएको अध्यक्ष थापाको भनाइ छ ।


भदौं २ गते नेपालगन्ज उद्योग वाणिज्य संघको भएको निर्वाचनको मतगणना भदौ ३ गते भएको थियो । बढी मत पाएर निर्वाचन भएका सबै पदाधिकारीको नाम सार्वजनिक हुँदै गर्दा महासचिव पदको मत परिणाममा भने विवाद उत्पन्न भएको हो ।


आइतवार बिहानैदेखि नेपालगन्ज उद्योग वाणिज्य संघको मुलगेटमा कालो ब्यानर टाँगेर साझा प्रजातान्त्रिक उद्योगी, व्यवसायी समूहका नेताहरु धर्नामा बसेका छन् ।


यसअघिनै शुक्रबार साँझ संघको कार्यालयमा धामीकै अगुवाईमा अनिश्चितकालिन तालाबन्दी गरिएको थियो ।
महासचिव पदको पुनः मतगणना नहुँदासम्म साझा प्रजातान्त्रिकबाट विजेता बनेका पदाधिकारी र सदस्यहरुले सपथ नलिने समेत साझा प्रजातान्त्रिक समूहका संयोजक थापाले बताएका छन् ।


महासचिव पदको मतगणनामा विवाद आएपछि प्रमुख निर्वाचन आयुक्त सिंहले मंगलबार बिहान ८ बजेदेखि पुनः मतगणना गर्ने भनेर विज्ञप्ति जारी गरेका थिए । तर मंगलबार बिहानै उनी अस्पताल भर्ना भएपछि पुनः मतगणना सुरु हुन सकेन । अस्वस्थ अवस्थामै अस्पतालबाट सिंहले अर्को विज्ञप्ति जारी गर्दै तिन दिनसम्मको पुनः मतगणना कार्य स्थगित भएको जानकारी गराए । त्यसपछिपनि सिंहले शुरुकै घोषणालाई सदर गर्दै महासचिवमा भीम बहादुर रानाभाटलाई विजयी भएको घोषणा गर्ने पुरानै निर्णयलाई निरन्तरता दिएका छन् ।


सोमबार १ हजार ९ सय २६ मत प्राप्त गरेका समावेशी प्यानलका उम्मेदवार रानाभाटलाई निर्वाचन आयुक्तले विजेता घोषणा गरेका थिए । साझा प्रजातान्त्रिकका टंक प्रसाद शर्माले १ हजार ९ सय २० मत पाएका थिए । ६ मत अन्तरले रानाभाटलाई विजेता घोषणा गरिएको थियो ।

रानाभाटलाई विजयी घोषणा गरेपछि मतगणना पूरा नहुँदै घोषणा गरिएको भन्दै टंकप्रसाद शर्मा पक्षधर साझा प्रजातान्त्रिक समूहले आयुक्तसहित निर्वाचन समितिका ४ जनालाई बन्धक बनाउँदै तालाबन्दी गरेपछि पुनः मतगणना गर्ने सहमति गरेर ताला खोलिएको थियो । पुनःगणनाको निर्णयलाई समावेशी समूहले भने अस्वीकार गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया