नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनः बढ्यो तनाव

नेपालगन्ज उद्योग वाणिज्य संघको अन्तिम निर्वाचन परिणाम घोषणा पूर्व महासचिवको पुनः मतगणना नहुने भएको छ ।

शुक्रबार दिनभर भएको छलफल पछि संघका कानुनी सल्लाहकार समेत रहेका वरिष्ठ अधिवक्ता टिकाजंग सिंहले महासचिव लगायत अहिलेसम्म घोषणा भएका सबै पदको परिणामलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।


‘निर्वाचन आयुक्तको निर्णय आएको छ’, संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले दैनिक नेपालगन्जले भने, ‘उहाँले घोषणा गरेका पदहरु नै विजयी कायम गरिएको छ ।’ सिंहले महासचिव पदमा भीम रानाभाटलाई विजयी घोषणा गरेका थिए ।

त्यसविरुद्ध अर्का उम्मेदवार टंक प्रसाद शर्माले पुनः मत गणनाको निर्णय दिएपछि आयुक्तले त्यसका पक्षमा निर्णय गरेपनि तीन दिनपछि आफ्नो घोषणा नै अन्तिम भएको निर्णय सुनाएका हुन् ।


‘यो राम्रो भएन’, बैठकमा सहभागी संघका पूर्व अध्यक्ष सुनिल कुमार शर्माले भने, ‘प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, एसपी सन्तोष सिंह राठौंर सहित निर्वाचन समिति महासचिवका उम्मेदवार, अध्यक्ष, पूर्व अध्यक्ष सहितको बैठकमा छरिएका मत पुनः गणना हुने आश्वासन पाएका थियौं ।’

सहमति भन्दा विपरित निर्णय आएपछि तनाव बढेको पूर्व अध्यक्ष शर्माको भनाइ छ । उनले आफ्नो समूहले सम्पूर्ण मत पुनः गणनाको माग गरेपनि निर्वाचन आयुक्तले छरिएका (खामबन्द) मत मात्रै गणना गर्ने आश्वासन दिंदा सहमत भएको दाबी गर्दै भने, ‘सहमति भन्दा बाहिर गएर गरिएको निर्णयलाई हामीले स्वीकार्न सक्दैनौं ।’

नेपालगन्ज उद्योग वाणिज्य संघमा तालाबन्दी


‘सुनियोजित ढंगले महासचिव पदमा विजयी घोषणा गरिएको’ भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघमा केहीबेर अगाडि तालाबन्दी गरिएको छ ।


निर्वाचित कोषाध्यक्ष मख्खन धामीको नेतृत्वमा संघ पुगेका युवाहरुको एउटा समूहले संघको मुल गेटमा तालाबन्दी गर्दै आफ्ना मागको सुनुवाई नभएसम्म ताला नखोलिने चेतावनी दिएको हो । ‘तबसम्म हामी निर्वाचित कुनै पनि साझा प्रजातान्त्रिक समूहका उम्मेदवारहरु पदभार तथा सपथ ग्रहणमा सहभागी हुने छैनन्’, उनले तालाबन्दी गर्दै भने ।


महासचिव पदमा भीम बहादुर रानाभाटलाई विजयी घोषणा गरिएपछि असन्तुष्ट पक्षले टंक प्रसाद शर्माको निवेदन बमोजिम पुनः मतगणनाको माग गर्दै आएको थियो । जसलाई तीन दिनपछि निर्वाचन आयुक्त टिकाजंग सिंहले अस्वीकार गरिदिएपछि प्रतिक्रिया स्वरुप संघमा तालाबन्दी निर्वाचन समितिका पदभार तथा सपथ ग्रहण बहिष्कारसम्मका घोषणा गरिएका हुन् ।

संघमा तालाबन्दी गरेर असन्तुष्ट पक्ष मतपत्र रहेको नेपालगन्ज रंगशालामा नाराबाजी गर्न पुगेको छ । प्रहरीको टोलीले तीन दिनदेखि मतपत्र कुरिरहेको रंगशालामा यो समाचार तयार पारिरहँदा युवाहरुले नाराबाजी गर्दै पुनः गणनाको माग गरिरहेका छन् । (हेर्नुस् तस्विर तल)

महासचिवमा रानाभाटको टुंगो


नेपालगन्ज उद्योग संघको महासचिवमा पदमा भीम बहादुर रानाभाट कायम भएका छन् । ६ मतले विजयी घोषणा गरिएका रानाभाट नै कायम हुने निर्वाचन आयुक्तको कार्यालयले निर्णय लिएको हो ।


पुनः मतगणना हुने भनिएपनि निर्वाचन आयुक्त टिकाजंग सिंह पूर्व घोषणालाई निरन्तरता दिने र पुनः मतगणना नगर्ने निर्णय सुनाएपछि महासचिवमा रानाभाट नै कायम भएका हुन् ।

न्यायिक उपचार तयारीमा शर्मा


नेपालगन्ज उद्योग वाणिज्य संघको महासचिव पदमा पुनः मतगणना नगर्ने निर्वाचन आयुक्तको निर्णय विरुद्ध टंक प्रसाद शर्मा कानुनी उपचारमा जाने भएका छन् ।


पुनः मतगणना गर्न आफुले दिएको निवेदन उपर ‘गैर जिम्मेवार रवैया’ अपनाइएको भन्दै त्यसविरुद्ध कानुनी उपचारमा जाने निर्णय आफुले गरेको महासचिव पदका उम्मेदवार शर्माको भनाइ छ ।


‘मान्छे जो जितोस् ठूलो मुद्दा होइन’, जित हारमा भन्दा विधिमा जोड दिएको दाबी गर्दै शर्माले दैनिक नेपालगन्जसँग भने, ‘मान्छेले हारेपनि विधिले जित्नुपर्छ, त्यसैले म कानुनी उपचारमा जानै पर्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया