क्याम्पस संचालनका लागि सुझाव संकलन गर्दै अभियन्ता
बाँके नरैनापुर गाउँपालिकामा संचालनको तयारीमा रहेको सन्तानेश्वर बहुमुखी क्याम्पस संचालक टोलीले बुधवार नेपालगन्जमा उच्चस्तरीय सुझाव संकलन गरेको छ । क्याम्पस स्थापना र संचालनमा चुनौती विषयक अन्तक्र्रिया आयोजना गरेर विशेषज्ञहरुको राय संकलन गरिएको क्यापम्पस संचालक समितिका संयोजक सोहन लाल यादवले बताए ।
बाँके क्षेत्र नं.१ का संघीय सांसद सुर्य ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले नरैनापुर अब कुनैपनि हालतमा पिछडिएको क्षेत्र हो भन्ने ट्याग हटाउनु पर्ने अवस्था आएको बताए ।
‘म ब्यक्तिगत र चौतर्फी रुपमा पार्टीको स्तरबाट समेत हुन सक्ने सहयोगका लागि एक कदम पनि पछि हट्ने छैन’, खजुराका निवर्तमान पालिका अध्यक्ष कक्षपतिले भने, ‘नरैनापुर शिक्षामा अघि बढेको हेर्ने रहर तत्काल पूरा हुनु पर्छ ।’
खजुरा क्यान्सर अस्पताल संचालनको अवस्थालाई सम्झिँदै अस्पतालका संस्थापक अध्यक्ष कक्षपतिले भने, ‘यदि मनबाट केहि गर्ने इच्छा छ भने त्यो पूरा गर्न समय लाग्दैन ।’
क्याम्पस संचालनका लागि आवश्यक सहयोग चौतर्फी रुपमा हुनेपर्ने धारणा राखेकी धम्बोझी माविकी पूर्व प्रधानाध्यापक किरण आचार्यले कार्यक्रममा भनिन्, ‘एउटा राम्रो सोंचका साथ अघि बढ्नु पर्छ हरेक सम्भावनामा सफलता अवश्य मिल्छ ।’ ‘परम्परागत शिक्षा भन्दा पनि प्राविधिक धार अहिलेको आवश्यक्ता हो,’ शिक्षाविद् आचार्यले भनिन, ‘क्याम्पसका लागि चाहिले आवश्यक शिक्षक पनि प्रतिबद्ध हुनु पर्छ ।’
नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले क्याम्पसका लागि आवश्यता अनुसार गाउँपालिकाले सहयोग गर्दै आएको र भविष्यमा गर्ने प्रतिबद्धता दोहोर्याए । आर्थिक हिसाबले गाउँपालिका जटिल अवस्थामा रहेको जानकारी दिँदै खरालले भने, उच्च शिक्षाका लागि नरैनापुरमा क्याम्पस नभइ नहुने स्थिति उत्पन्न भएकोले गाउँपालिकाको स्तलबाट सहयोग गर्न आफु प्रतिबद्ध रहेको बताए ।
नरैनापुरले चाहेको र विकास गर्न अघि बढेको विषयमा म हरेक पल साथमा छु र रहन्छु, कार्यक्रमका प्रमुख अतिथि, प्रतिनिधि सभा सदस्य सुर्य ढकालले भने, ‘क्याम्पस स्थापना र संचालन युवाहरुको एउटा जिद हो म आफैपनि त्यसका लागि प्रयासरत रहेको छु ।’
‘नरैनापुरमा शिक्षाका लागि बाहिर जानु पर्ने बाध्यता अब हटाउने अघि बढिसक्यो यो रोकिने कुरो नै होइन’, सांसद ढकालले भने, ‘हामी क्याम्पसका लागि चाहिने बजेट देखि लिएर अनुमति सम्मका विषयमा काम गरिरहेका छांै ।’
क्याम्पस संचालक समितिले आयोजना गरेको कार्यक्रममा नेकपा एमाले नेता निरक गुरुंग, बागेश्वरी क्याम्पस कोहलपुर प्रमुख दान बहादुर हमाल, सिद्धार्थ बैंक म्यानेजर मनोज तिवारी, समाजसेवी मिन बहादुर मल्ल, जीआर भुषाल, गुफरान अहमद शाह, नरैनापुर जिन्सी शाखा प्रमुख भरत महतो, अधिवक्ता राम कुमार दीक्षित, मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगन्जका भगत बहादुर नेपाली सहभागी थिए । कार्यक्रममा नरैनापुर वडा नं.४ का अध्यक्ष मनोज कुमार शर्मा, २ का वडा अध्यक्ष मसूद अहमद शाहलगायतको पनि सहभागितो थियो ।