प्रधानमन्त्री दाहाल नेपालगन्जमा, कालो झण्डा देखाउने फन्दामा

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध कालो झण्डा देखाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर चौराहमा कालो झण्डा देखाउने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ती कार्यकर्तालाई पक्राउ गरेको हो ।

कर्णाली प्रदेश स्थापना दिवस विशेष कार्यक्रमलाई सम्बोधन गरेर कोहलपुर हुँदै नेपालगन्ज आउँदै गरेका प्रधानमन्त्री दाहाल विरुद्ध उक्त पार्टीका कार्यकर्ताहरूले कालो झण्डा प्रदर्शन गरेका हुन् ।

नेपालगन्जमा अगुवा कार्यकर्तासँग छलफल गरेका एकीकृत माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल सोमवार साँझनै काठमाडौं फर्किएका छन् ।


‘एमसीसीको विरोधमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने हाम्रो शान्तिपूर्ण कार्यक्रम विरुद्ध चरम प्रहरी दमन भएको छ’, उक्त पार्टीका बाँके जिल्ला इन्चार्ज दिपक शाहीले दैनिक नेपालगन्ज सँग भने, ‘उनीहरूलाई तत्काल रिहा नगरिए थप आन्दोलन गर्न बाध्य हुनेछौं ।’ पक्राउ परेका उक्त पार्टीका जिल्ला सहसंयोजक तपेन्द्र न्यौपाने सहित चार जना इलाका प्रहरी कार्यालयमा राखिएका छन् ।

जिल्ला सुरक्षा समितिले उनीहरुबारे आवश्यक निर्णय लिइने प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया