पत्रकार बर्मालाई ‘ पन्नालाल गुप्त राष्ट्रिय पत्रकारिता पुरस्कार’

नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रका प्रमुख, वरिष्ठ पत्रकार विजय बर्मालाई यस वर्षको ‘प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।


शनिवार प्रेस युनियन बाँकेले आफ्नो वार्षिक साधारणसभामा रु.२१ हजार राशी सहितको उक्त पुरस्कार बर्मालाई प्रदान गरेको हो । प्रेस युनियन बाँकेले आफ्ना संस्थापक स्व. पन्नालाल गुप्तको सम्मानमा स्थापना गरेको पुरस्कार तत्कालिन अध्यक्ष जयनारायण शाहले आफ्नो पद बहालीसँगै घोषणा गरेका थिए ।


प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्तलाई नागरिक अभिनन्दन गरेसँगै उक्त पुरस्कार स्थापना गरेका शाह नेतृत्वको तत्कालिन कार्यसमितिको कार्यकालमा यसअघि वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिएको थियो । गुप्त परिवारले पुरस्कार स्थापनाका लागि सहकार्यपनि गरेको छ । पुरस्कार हस्तान्तरणमा प्रमुख अतिथि, प्रतिनिधि सभा सदस्य किशोरसिंह राठौर, युनियन अध्यक्ष शिव लम्साल र नेपालगन्जका पूर्व नगर प्रमुख विजय कुमार गुप्त सहभागी थिए ।


नेपालगन्जका बारेमा बढी चासो राखेर अनुसन्धानमुलक आलेख लेख्न रुचाउने वरिष्ठ पत्रकार बर्मा २०४६ पछि अहिलेसम्मका सबै आन्दोलनको रिपोर्टिङमा सक्रिय रहे । संसदीय र कानुनी मामिलाका समेत रिपोर्टिङमा दख्खल राख्ने बर्मा टेलिभिजन पत्रकारितामै सक्रिय छन् ।

पत्रकार बर्माले पन्नालाल गुप्तकै सम्पादनमा प्रकाशित हुने किरण साप्ताहिकबाट २०५२ देखि पत्रकारिता शुरु गरेका थिए । ‘यो सम्मानले मलाई अझ बढि समाज, समुदाय र राष्ट्रको विकास र प्रगतिकालागि केही गर्नुछ भन्ने हौसला प्रदान गरेको छ,’ पत्रकार बर्माले पुरस्कार ग्रहणपछि भनेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया