किन पुरिएन खाल्टा ? तत्काल पुर्न मेयरले दिए निर्देशन

नेपालगन्ज उपमहानगरपालिकाले सडक बत्ती र ट्राफिक लाइट जडानका क्रममा खनिएका खाल्टा यथाशिघ्र पुरेर सडक सहज बनाउन निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरू बीचको बैठक डाकेका नगर प्रमुख प्रशान्त विष्टले खाल्टा जथाभावी छाडिदा आएको गुनासो बढ्दै गएको भन्दै तत्काल व्यवस्थित गर्न निर्देशन दिएका हुन् ।


प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सडक, नापी, विद्युत लगायतका कार्यालय प्रमुख समेतको उपस्थितिमा लथालिङ निर्माणको अवस्थालाई तत्काल व्यवस्थित गर्न निर्देशन दिएका नगर प्रमुख विष्टले दैनिक नेपालगन्जसँग भने, ‘सम्बन्धित निर्माण कम्पनीका प्रमुखलाई समेत आवश्यक निर्देशन दिइएको छ ।’


बैठकमा रत्न राजमार्ग अन्तर्गतको नेपालगन्ज उपमहानगरपालिका खण्डमा सडक क्षेत्रफल खाली गर्ने विषयमा पनि छलफल गरिएको जानकारी दिंदै नगर प्रमुख विष्टले आएका गुनासाहरूलाई सम्बोधन गर्दै जाने व्यवस्था मिलाइएको बताए ।


‘कतिपयले सडक क्षेत्रफलको नापलाई लिएर पनि प्रश्न उठाउनु भएको छ’, नापीको आधिकारिक नक्साका आधारमा त्यसको समाधान गर्ने निर्णय गरिएको जानकारी दिंदै नगर प्रमुख विष्टले भने, ‘मलाई लाग्छ, नगरको मुहार फेर्न गरिएका प्रयासमा सम्पूर्ण नगरबासी र घरधनीहरूले हाम्रो अभियानमा साथ दिनुहुनेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया