प्रजातान्त्रिकले सार्वजनिक गर्यो प्रतिबद्धता

आगामी भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन केन्द्रीत साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले मंगलवार आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको छ ।


नेपालगन्जका पत्रकारहरुबीच साझा प्रजातान्त्रिक समूहले विभिन्न १८ बूँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।


नेपाल–भारत सिमा नाकाको समस्या देखि जडिबुटि निर्यातका विषयसम्मको उठान गरिएको प्रतिबद्धतामा कृषिका विषयमा पनि चासो राखिएको छ । सुख्खा बन्दरगाह शीघ्र संचालनमा ल्याउनका लागि दवाव दिइने, बन्द रहेका उद्योगहरुको पुनःसंचालन पहल, महिला उद्यमीलाई आवश्यकतामा आधारित तालिम, पूर्व अध्यक्षहरुको सम्मान लगायतका विषयलाई प्रतिबद्धतामा समेटिएको छ ।


कार्यक्रमको अध्यक्षता गरिरहेका प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँके अध्यक्ष संजय थापाले प्रतिवद्धता पत्रलाई अठोट पत्रका रुपमा लिनु पर्ने बताए । अध्यक्ष थापाले नेपालगन्ज शहरले आर्थिक परिर्वतनको आशा गरिरहेको बताए । ‘हामीले हाम्रो नेतृत्व हुनासाथ परिवर्तन गरेर देखाउँछौ, दवाव सृजना गर्छौ, बजार क्षेत्रका लागि गर्नु पर्ने परिवर्तनका लागी गर्नु पर्ने काम गरेर देखाउँछौ,’ थापाले भने ।


नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुनिल शर्माले उद्योग वाणिज्य संघमा बेथिति मौलाउँदै गएको भन्दै त्यसलाई रोक्नु पर्ने बताए । उनले सदस्यता वृद्धि निर्वाचन केन्द्रितमात्रै भएको भन्दै त्यसले बेथिति निम्त्याउने बताए ।


अध्यक्ष पदका प्रत्यासी ललित कुमार रौनियारले आफुहरुको उम्मेदवारी नेपालगन्ज उद्योग वाणिज्य संघलाई शुद्ध व्यवसायीहरुको साझा संस्था बनाउने रहेको बताए । आफ्नो प्रतिवद्धता पत्रका बारेमा बताउँदै अध्यक्ष पदका उम्मेदवार रौनियारले भने, ‘जिल्ला भरका उद्यमी व्यवसायीहरुका विवरण अद्यावधिक गरी सबै प्रकारका सदस्यहरुको समस्या पहिचान गर्दै हल खोज्नेछौं ।’ उनले बैंक व्याजदरको बृद्धि , ऋण प्रवाहमा भएको समस्या समाधानका लागि आफुहरुले पहल लिने बताए ।


कार्यक्रममा वाणिज्य तर्फका उपाध्यक्ष पदका उम्मेदवार विष्णु प्रसाद श्रेष्ठ, महिला उपाध्यक्ष करिश्मा योगी लगायतले नेपालगन्ज उद्योग वाणिज्य संघलाई सबैको साझा व्यवसायिक हितको थलो बनाउन चाहेको बताए ।


साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका सम्बद्ध वस्तुगत तर्फ सदस्य पदका उम्मेदवार हिमनाथ पौडेलले सहजीकरण गरेको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय सदस्य अभय कुमार बस्नेत, नेकपा समाजवादीका केन्द्रिय सदस्य अब्दुल हुसेन खाँ, राप्रपा नेपालका जिल्ला अध्यक्ष दीपेन्द्र बहादुर सिंह, नेपाली कांग्रेसका उपसभापति गोपाल प्रसाद अधिकारी, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया