नेपालकै महंगो लागतमध्ये पर्ने लक्जरी मल्टिप्लेक्स सिनेमा हल ‘सिने रोयल’ निर्माण अन्तिममा पुगेको छ ।
नेपालगन्जमा पश्चिम नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित मल्टिप्लेक्स सिनेमा हल ‘सिने रोयल’ यसैसातादेखि सञ्चालनमा आउने गरि निर्माण असन्तममा पुगेको हो ।
तीन वटा स्क्रिनसहितको मल्टिप्लेक्स सिने रोयलले पश्चिम नेपालमात्रै नभएर उत्तर भारतका सिनेप्रेमीहरुका लागि एउटै भवनमा तीन वटा अलग टेष्टका दर्शकलाई मनोरञ्जन दिने जनाएको छ ।
सिने रोयलका सञ्चालक डा. राहुल थापाका अनुसार, सिनेमा क्षेत्रमा अत्याधुनिक प्रविधि र सुविधालाई एकै ठाउँ ल्याउन २५ करोडबढी लगानी गरिएको छ । लक्जरी सिटसहितका २ सय ५० जना क्षमताका दुई हल र अपाङ्तामैत्री पूर्वाधारसहितको १ सय ५० सिट क्षमताको अर्काे हल एउटै भवनमा निर्माण गरिएको छ ।
‘सम्भवतः साउनको अन्तिम साता विहीवार हल सञ्चालनमा ल्याइनेछ,’ सञ्चालक डा. थापाले कोभिडका कारण निर्माण ढिलाई भएपनि योजनामा कुनै सम्झौता नगरिएको स्पष्ट पार्दै दैनिक नेपालगन्जसँग भने, ‘निर्माणका काम लगभग सकिएको छ ।’ उनले हलसँगै क्याफ्टेरिया बनिरहेको जानकारी दिंदै विभिन्न सपिङ आउटलेट तथा डिपार्टमेन्टल स्टोर सञ्चालनसम्मका योजना बनाएको बताए ।
‘अब नेपालगन्जमा पनि नेपाली चलचित्रको व्यापार करोड क्लबमा जानेछ,’ सिनेरोयलबारे समाचार लेख्दै चलचित्र पत्रकार रामचन्द्र पौडेलले भनेका छन्, ‘७५ देखि ८० लाखको हाराहारीमा ब्यापार हुने नेपालगन्जमा नयाँ हलको आगमनसंगै चलचित्रको व्यापार पनि बढ्ने छ ।’
‘अब करोडौंको सिनेमा ब्यापारको समाचार लेख्न हामी पनि तयार हुँदैछौं,’ पत्रकार पौडेलले उत्साहित हुँदै दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्जका लागि यो निकै खुशीको कुरा हो, यसले हाम्रो बजार चलायमान गराउँछ ।’