नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि टंक बहादुर धामीको नेतृत्वमा मैदानमा उत्रिएको समावेशी प्यानलले सचिवालय सञ्चालनमा ल्याएको छ ।
शुक्रबार समावेशी समूहका संरक्षक पार्वता आचार्य, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, निवर्तमान अध्यक्ष नन्दलाल वैश्य लगायतले समावेशी प्यानलको सचिवालय उद्घाटन गरेका हुन् ।
संयोजक इश्वर पोखरेलले समावेशी समूहले निर्माण गर्ने प्यानलमा सबै वर्ग, विचार, समूहलाई स्थान दिंदै नेतृत्व निर्माण गरिंदै आएको दाबी गर्दै भने, ‘यो एउटा यस्तो प्लेट फर्म हो जहाँ कुनै दल वा विचार विशेषका लागि मात्र होइन सबै व्यवसायी निर्धक्कसँग बस्न सक्छन् ।’ निवर्तमान अध्यक्ष वैश्यले नेतृत्व विकासका लागि समावेशी समूह सफल सिद्ध भैसकेको तर्क गरे ।
‘म मधेसी, अहिलेका अध्यक्ष मुस्लिम र अबका उम्मेदवार पहाडी समुदायको अघि सार्नुलाई समावेशीको साँच्चिकै समावेशी चरित्र बुझ्न सकिन्छ’, समावेशी प्यानलबाटै उम्मेदवार भई अध्यक्ष सम्हालिसकेका वैश्यले भने । उनले राप्रपा सम्बद्ध व्यापारीहरूलाई सोही प्यानलबाट निर्वाचनमा उम्मेदवार बनाउँदै छन् । जसपा समेतलाई समेटेर प्यानल निर्माण गरिरहेको समावेशीका संयोजक इश्वर पोखरेलले ‘अझै केही साथीहरूलाई समेट्न बाँकी रहेकाले टिम घोषणा नगरेको’ बताए ।
‘हामी निर्वाचनका बेला मात्रै होइन, व्यवसायिक हकहितमा सधै क्रियाशिल छौं’, समूहका नेता बसन्त लामिछानेले भने ।
यसअघि ललित रौनियारको नेतृत्वमा मैदानमा उत्रिएको प्रजातान्त्रिक प्यानलले पनि प्रचार कार्यालय सञ्चालनमा ल्याएको छ । संघको निर्वाचन आगामी भाद्र २ गते निर्वाचन गरिंदैछ ।