सुन तस्करी प्रकरण : एक चिनियाँ नागरिक पक्राउ

झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीसँगै अहिलेसम्म सुन तस्करी प्रकरणमा सात जना पक्राउ परिसकेका छन् ।

आज पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार तिब्बतीयन एयरलाइन्सबाट चीन जान लागेका बेला उनलाई पक्राउ गरी राजस्व अनुसन्धान विभागमा पठाइएको छ ।

विभागले हिजो (बुधबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट झन्डै एक क्विन्टल सुन बरामद गरेको थियो । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले ट्याक्सीसहित दुई जनालाई पक्राउ गरेको थियो ।

उनीहरूसँगको अनुसन्धानपछि राति नै विभागले थप चार जनालाई पक्राउ गरेको थियो । उक्त सुन हङ्कङबाट रेडी ट्रेड प्रालिको नाममा आएको खुलेको छ । त्यसका सञ्चालक पनि पक्राउ परेका छन् । स्कुटरको ‘ब्रेक शु’को नाममा लुकाएर यसरी सुन बरामद भएको हो ।

अहिले टक्सार विभागमार्फत सुनको परिमाण निकाल्ने काम जारी रहेको छ । यसअघि पक्राउ परेकाहरू उक्त सुन तस्करी प्रकरणमा यसअघि पक्राउ परेकाहरूमा टयक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।

उनीहरुलाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको छ ।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहित ६ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको उच्च अदालत पाटनकी उपरजिस्ट्रार तथा प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

मोटरसाइकलको ब्रेक सूभित्र राखेर सुन तस्करीमा संलग्न भएको आरोपमा पाँच नेपाली र एक चिनियाँसहित ६ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया