भारतस्थित सहारा बैंकमा पैसा जम्मा गर्नेहरुका लागि खुशीको खबर प्राप्त भएको छ । जहाँ नेपालगन्जलगायत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले पनि दशौंलाख रुपिया निक्षेप गरेर वर्षाैंदेखि फिर्ता पाएका छैनन् ।
भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले मंगलबार ‘सहारा रिफन्ड पोर्टल’को सुरुवात गर्दै पहिलो चरणमा १० हजार भारतीय रुपिया फिर्ता माग्न भनेका छन् ।
‘बचतकर्ता तपाईले यस पोर्टलमा फारम भरेर आफ्नो पासबुक अपलोड गरेपछि सहारा बैंकमा जम्मा गरेको पैसा फिर्ता पाउन सक्नुहुन्छ’, मंगलवार गरिएको घोषणामा भनिएको छ, ‘४५ दिनमा तपाईंको बैंक खातामा पैसा ट्रान्सफर हुनेछ ।’
नेपाली नागरिकको हकमा के हुने भन्ने प्रष्ट नभनिएपनि सबैको रकम फिर्ता गर्ने अभियान थालिएको गृहमन्त्रीको अभिव्यक्तिबाट प्रष्ट हुने रुपैडिहास्थित भारतीय पत्रकार सन्तोष शुक्लले दैनिक नेपालगन्जलाई जानकारी दिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार, गृहमन्त्री शाहले पहिलो चरणमा १ करोडभन्दा बढी लगानी रहेको र करिब १० हजार रुपैयाँ लगानी गर्नेले पूरा रकम पाउने बताए । बाँकी लगानीकर्तालाई दोस्रो चरणमा १० हजारभन्दा बढी रकम फिर्ता दिइनेछ । तर, पहिलो चरणमा बढी निक्षेप राख्नेले पनि १० हजार रुपैयाँ पाउनेछन् ।
बाँकी रकम दोस्रो चरणको लागि पर्खनुपर्नेछ । गृहमन्त्रीले एकपटक मात्रै फारम भर्नुपर्ने र पूरा जानकारी दिनुपर्ने बताउँदै बारम्बार फारम भर्ने सुविधा पोर्टलमा उपलब्ध नहुने बताए ।