बाणिज्य बैंकलाई हुलाक बैंकको कारोबार

जिल्ला हुलाक कार्यालय बाँकेमा रहेको हुलाक बचत बैंकका खाता राष्ट्रिय वाणिज्य वैंक त्रिभुवन चोक शाखामा हस्तान्तरण गरिएको छ ।


जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोबिन्द प्रसाद पाण्डेका अनुसार, वाणिज्य बैंकका फोकल पर्सन रवि अर्याललाई हुलाक बचत बैंक बाँकेमा रहेका २११४ बचत कर्ताको ११ करोड ५८ लाख ३० हजार बचत रकम सहितको विरणको प्रमाणित प्रति र सफ्ट कपी हस्तान्तरण गरेका हुन् ।


यस अघि हुलाक बचत बैंकबाट हुँदै गरेको कारोवार चालु आर्थिक वर्ष ०८०/०८१ को साउनबाट राष्ट्रिय वाणिज्य वैंक त्रिभुवन चोकबाट संचालन गरिने पाण्डेले बताए । ‘२ करोड नाफा पनि सरकारको खातामा गएको छ,’ हुलाक बैंकका प्रमुखसमेत रहेका पाण्डेले दैनिक नेपालगन्जसँग भने ।


नेपाल सरकारले बजेट बक्तव्यको बुँदा नं ३७४ मार्फत नेपाल भरी रहेका हुलाक बचत बैंकहरुलाई क श्रेणीको वाणिज्य बैंकमा हस्तान्तरण गर्ने घोषणा भएको थियो । नेपाल सरकार मन्त्री परिषदको यही असार १२ गतेको निर्णय तथा हुलाक सेवा विभाग र राष्ट्रिय वाणिज्य वैंक केन्द्रीय कार्यालय बीच असार २४ गते भएको सम्झौता अनुसार बाँकेको कारोबार त्रिभुवन चोक शाखालाई हस्तान्तरण गरिएको हो ।


वाणिज्य वैंकका व्यवस्थापक कृष्ण धितालले सेवाग्राहीले आफ्नो खाता क्रियासिल गराई तत्काल रकम निकाल्न सक्ने बताए । जिल्ला हुलाक कार्यालय बाँके र राष्ट्रिय वाणिज्य वैंक त्रिभुवन चोक शाखाको संयूक्त आयोजनामा सेवाग्राहीका बचत खाता कृयासिल सहजिकरण सप्ताह कार्यक्रम गरिने पाण्डेको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया