बाँकेमा ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी’, किन प्रशासन पुगे नेता ?

क्रान्तिकारीले भनेको छ, ‘राष्ट्रिय महत्वको कपास उद्योग नयाँ प्रविधिसहित कपास उत्पादन र विना शर्त उद्योग सञ्चालनको व्यवस्था मिलाइयोस् ।’

बाँकेमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आफ्नो सांगठनिक गतिविधि शुरु गरेको छ ।


नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच एकता भएर अस्तित्वमा आएको क्रान्तिकारीले बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई आफ्ना राजनीतिक कार्यक्रमबारे ध्यानाकर्षण गराएको छ ।


विहीवार पार्टीका जिल्ला इन्चार्ज दीपक शाहीसहित मुख्य नेता, सचिवालय सदस्य तथा जबज प्रमुखहरुको टोलीले प्रमुख जिल्ला अधिकारी विपीन आचार्यलाई १२ बूँदे ज्ञापनपत्रमार्फत आफ्ना प्राथमिकता र राजनीतिक कार्यक्रमबारे ध्यानाकर्षण गराएको हो ।


पार्टीका जिल्ला इन्चार्ज शाहीका अनुसार, क्रान्तिकारीले आउदो २०८३ साल भित्र कर्णाली प्रदेशलाई शिक्षा र स्वास्थ्यमा निजिकरण मुक्त प्रदेश घोषणा गर्ने प्रदेश सरकारसँग माग गरेको छ । ‘त्यस अन्तर्गत रहेर २०८० साल भित्रै राज्यद्वारा जेष्ठ नागरीकहरुको सम्पूर्ण उपचार निःशुल्क घोषणा गर्न तथा मुटु रोग, मृगौला र क्यान्सर पीडितहरुको सम्पूर्ण उपचार राज्यद्वारा निःशुल्क उपचार गर्ने व्यवस्था गरियोस्’ ज्ञापन पत्रमा भनिएको छ ।


सरकारी कर्मचारी, जनप्रतिनिधि र राजनीतिकर्मीहरुको लगानी भएका निजी विद्यालयहरु बन्द गर्न दबाब दिएको क्रान्तिकारीले त्यसविरुद्ध अभियाननै चलाउने जिल्ला इन्चार्ज शाहीले बताए ।


त्यस्तै, कृषिजन्य उत्पादनको राज्यद्वारा खरिद गर्ने नीति लागु गर्न भनेको क्रान्तिकारीले प्रत्येक वडामा एउटा कृषि उपज संकलन तथा विक्रि केन्द्र स्थापना गर्न माग गर्दै कृषिजन्य उत्पादनको आयातमा रोक लगाउन भनेको छ ।


‘भन्सारमा कृषिजन्य वस्तुको क्वारेन्टाइन गरी मिलोमतोमा अखाद्य वस्तुल्याई जनताको स्वास्थ्यमा खेलबाड गर्ने कार्य तत्काल बन्द गरियोस्,’ क्रान्तिकारीले आफ्नो उद्योग नीतिबारे भनेको छ, ‘सबै श्रमिक मालिक’को नीति अन्तर्गत राष्ट्रिय औद्योगिक अभियान सञ्चालन गर्ने ।’


‘आउँदो ०८१ साल भित्र प्रत्येक पालिकामा एउटा पूर्ण सरकारी र एउटा ४९ प्रतिशत जनताको स्वामित्व भएको उद्योग स्थापना गरियोस्,’ सरकारसँग क्रान्तिकारीले भनेको छ, ‘बाँके जिल्लामा रहेको राष्ट्रिय महत्वको कपास उद्योग नयाँ प्रविधिसहित कपास उत्पादन र विना शर्त उद्योग सञ्चालनको व्यवस्था मिलाइयोस् ।’

भारतबाट श्रम गरी राष्ट्र बैंकले बन्द नगरेका भारतीय नोट नेपालमा चलन चल्तीमा रहँदापनि बिचौलिया तथा माफियाहरुले भ्रम सिर्जना गरी जनतालाई १०० रुपैयाको भारतीय नोट नेपाली १५० मा साट्ने गरिएको भन्दै क्रान्तिकारीले त्यसलाई रोक्न स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।

‘यस्तो धन्दा गर्ने कालो बजारी तस्करी गर्नेहरुप्रति तत्काल कारबाही गरियोस्,’ क्रान्तिकारीले भनेको छ, ‘यदि भारतीय नोट निरुत्साहित गर्ने नीति सरकारले लिएको भए तत्काल सूचना जारी गरी जनतालाई सचेत गर्न पहल गरियोस् ।’

त्यसअघि नेपालगन्जमौ पत्रकार सम्मेलन गरि पार्टीका सार्वजनिक महत्वका निर्णयहरु जानकारी गराएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले असार २३ गते आफ्नो बाँके जिल्लाको एकता अधिवेशन गरेको जनाएको छ ।


अधिवेशनले विशाललाई संयोजक चयन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच एकता भएर गत बैशाख १८ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको घोषणा भएको जानकारी दिंदै पत्रकार सम्मेलनमा नेता शाहीले एकता प्रक्रियालाई पार्टीका तल्ला निकायहरुसम्म पुरा गर्न देशव्यापी कार्यक्रम चलिरहेको बताए ।


त्यसक्रममा ६ नं. प्रदेश संगठन समितिको एकता अधिवेशन तथा वैठक आषाढ १२ र १३ गते सुर्खेतमा सकेपछि असार २३ गते बाँकेको एकता अधिवेशन गरिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया