मुलुकको राजनीतिमा हावी सत्ता गठबन्धनको राजनीतिले नेपालगन्ज उद्योग वाणिज्य संघलाई छोएन । नेतृत्वमा नेपाली काँग्रेस र माओवादीको दावीले नेपालगन्जमा सत्ता विपरितको गठबन्धन बनेको हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि गरिने निर्वाचन साउन २० गतेका लागि निश्चित भएपछि टिम बनाउन कसरतले तिब्रता पाएको छ ।
सबैभन्दा पहिले संघको नेतृत्व दावी गर्दै उम्मेदवारी घोषणा गरेको नेकपा एमालेले मैदान छाडेपछि काँग्रेस–माओवादी आमने सामने आएका छन् । काँग्रेसबाट ललित रौनियारले र माओवादीबाट टंकबहादुर धामीले उम्मेदवारी घोषणा गरेका हुन् ।
एमालेले अघि सारेका उद्योगपति सन्जयकुमार अग्रवाललाई हठात् नेतृत्वको दावेदारीबाट पछाडी सारिएको छ । अग्रवाललाई उद्योगतर्फको उपाध्यक्षका रुपमा नेतृत्व गराएर एमालेले रौनियारलाई समर्थन गरेर जाने सहमति जुटेको सम्बद्ध स्रोतले जनाएको छ । त्यसो गरिंदा वाणिज्यतर्फ हरिलाल न्यौपाने र महिलातर्फ राप्रपाका उम्मेदवारलाई उपाध्यक्ष दिन सकिने सम्बद्धको भनाइ छ ।
पहिलो पटक प्रत्यक्ष निर्वाचन हुने महासचिवमा एमालेले भिम रानाभाटलाई अघि सारेको छ । त्यसो गरिंदा काँग्रेसबाट महासचिव दावी गर्दै आएका शिव दाहाललाई कहाँ ‘म्यानेज गर्ने’ भन्ने टुंगो नलागेकोले काँग्रेस–एमाले गठबन्धनको निर्णय बाहिर ल्याइएको छैन । उनलाई उप–महासचिवमा उम्म्ेदवार बनाउनेकी जसपालाई मनाउने भन्ने कुरामा छलफल भइरहेको बताइन्छ । कोषाध्यक्षमा मख्खनसिंह धामी दावेदार छन् ।
समावेशी समूहको नेतृत्व धामीले गरेपछि उद्योगतर्फको उपाध्यक्षमा चिरन्जीवी ओलीलाई निश्चित गरिएको छ । यसअघि अध्यक्षमा दावेदारी गर्दै आएका ओली उपाध्यक्ष उम्मेदवार हुने भएका हुन् । महिला उपाध्यक्ष तर्फपनि माओवादीकी मन्दिरा पाण्डेलाई दिइनेभएपछि वाणिज्यमा राप्रपा वा जसपालाई मनाउन खोजिएको छ ।
सम्बद्ध स्रोतका अनुसार, समावेशीले महासचिवमा विजय भण्डारी (बासु) लाई अघि सार्ने भएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध छन् । ‘बासु समावेशी टिमको पुरानै नेता भएकाले एमालेलाई चिरा पार्न भिमलाल कंडेललाई महासचिव बनाउने खेलमा ब्याक पनि हुन सक्छन्,’ सम्बद्ध स्रोतले भन्यो ।’ उप–महासचिव र कोषाध्यक्ष पद पनि समावेशीले टुंगो लगाएको छैन ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीका अनुसार, बुधवार बसेको संघको बैठकले साउन २० गते निर्वाचन मिति तय गर्दै कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता टिकाजंग सिंहलाई तोक्ने निर्णय गरिएको छ ।
संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गर्दै कार्यसमितिलाई विदाई पनि गरेको छ ।
राजनीतिक रुपमा विभाजित प्यानलका लागि बलियो बन्न संघको सदस्य वृद्धिको होडबाजी देखिएको छ । ‘यसले निर्वाचन महंगो हुँदै गएको’ भन्दै चिन्ता गरिएको छ ।