प्रधानमन्त्री रोजगार भ्रष्टाचार प्रकरण : सचिव माथि कारवाहीको तयारी

बाँके नरैनापुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा लाभग्राहीबाट अवैध रुपमा रकम असूल गरेको तथ्य बाहिर आएपछि कारवाही अघि बढेको छ ।

कार्यक्रम अन्तर्गत नरैनापुर गाउँपालिका वडा नं.६ का वडा सचिव जीवन लाल यादवले बढि हाजिरी बनाएर लाभग्राहीको खातामा आएको रकम अनियमित तरीकाले असूल गरेको बारे गाउँपालिकाले आन्तरिक जाँच अघि बढाएको थियो ।

सो क्रममा वडा नं.६ का सचिव जीवनलाल यादवलाई गाउँपालिकामा हाजिर हुने गरि तानिएको छ । जाँच र कारवाही प्रक्रिया जारी रहेकोले सोही क्रममा सचिव यादवलाई गाउँपालिकामा हाजिर गर्ने गरि तानिएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए ।

कार्यक्रममा अनियमितता भएको खुलेपछि गाउँपालिकाले रोजगार शाखालाई पत्राचार गरि कार्यक्रम बारे सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको थियो । लाभग्राहीलाई प्रतिदिन निर्धारित रकम ५७७ रुपैया भुक्तानी दिनु पर्नेमा ६ नं.वडामा काम गरेका श्रमिकलाई प्रतिदिन ५ सयका दरले भुक्तानी गरिएको थियो ।

४५ दिन, ५५ दिन, ६३ दिन काम गरेका थुप्रै ब्यक्तिबाट १०० दिनको उपस्थिति गराएर उनीहरुको खातामा पुगेको रकमनै सचिव यादवले फिर्ता लिएको लाभग्राहीले खुलासा गरेपछि सो सम्बन्धमा गाउँपालिकाले आन्तरिक जाँच शुरु गरेको थियो ।
लाभग्राहीबाट अवैध रुपमा रकम असूली भएको तथ्य बाहिर आएपछि रोजगार शाखाले नरैनापुरको ६ वटै वडालाई पत्राचार गरि सो विषयमा भएको क्रियाकलाप बारे तत्काल लिखित जानकारी गराउन भनेको हो ।

नरैनापुर गाउँपालिका वडा नं.६ भित्र १७ श्रमिकले प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गरेका छन् । उनीहरुले २०७९ मंसिर २१ गते देखि चैत्र २१ गते सम्म काम गरेका हुन् । काम नगरेका दिनको पनि उपस्थिति बनाएर वडा नं.६ कार्यालयले रकम पचाएको पाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया