पानी पर्योकी सास्ती

नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रास्थित निमार्णाधिन कच्ची सडकका कारण पानी पर्नासाथ स्थानीयलाई सास्ती हुने गरेको छ । सडकलाई समयमा नबनाउदा स्थानीयलाई सास्ती भएको गुनासो गरिएको हो ।

वडा कार्यालयदेखि राजभवन पछाडी करिब आठ सय मिटर कच्ची सडकमा माटो पटान गरेको एक महिनाभन्दा बढी भइसक्दा पनि ग्राभेल गरिएको छैन । यसले वर्षाको समयमा पानी परेर स्थानीयलाई आवतजावतमा निकै समस्या भएको स्थानीयको गुनासो छ ।

‘आज विहानैदेखि भएको वर्षाले कच्ची माटो गलेर सडक हिलाम्य भएपछि पैदल, मोटरसाइकल तथा अन्य सवारी साधनलाई आवतजावतमा समस्या भएको छ,’ स्थानीयवासी पत्रकार राकेशकुमार मिश्रले भने ।

वर्षाको समयमा सडक निमार्ण नभएपछि विशेष गरि विद्यालय जाने बालबालिका र पैदलयात्रीलाई निकै सास्ती भएको स्थानीय युवा देवनन्द यादव बताउँछन् । “वर्षाले सडक हिलाम्य छ, बालबालिकाले विद्यालय जान पाएका छैनन, बच्चाहरुको जुत्ता नै हिलो र पानीमा भिज्ने गरेको अवस्था छ,” उनको गुनासो छ ।

स्थानीयका अनुसार, वर्षामा पानी र हिलोको समस्या र पानी नपर्दाको अवस्थामा धुलोको समस्याले महिनौदेखि स्थानीयले हैरानी व्यहोरेका छन । संघिय शहरी विकास तथा भवन निमार्ण कार्यालय नेपालगन्जको सहकार्यमा भट्टराई निमार्ण कन्स्ट्रक्सनले निमार्णको ठेक्का लिएको छ । ठेक्का लिएको लामो समय भइसक्दा पनि समयमा निमार्ण नगरेपछि स्थानीयलाई समस्या भएको हो ।

सडक निमार्ण गर्दा शुरुमा नाला निमार्ण नगरि सिधै माटो पटान गरेपछि सडकखण्डमा पर्ने अधिकाँस घरबाट निस्कने पानी थुनिएको छ । विना नालाको सडक बनाउदा पानी बगाउने समस्या भएको स्थानीय रामसमुझ शाहुको भनाइ छ ।
सडक निमार्ण ढिलाईबारे संघीय शहरी विकास कार्यालयका प्रमुख विजय खनाल र निमार्ण कम्पनीका प्रमुखलाई सोध्दा निमार्णमा ढिलाई भएको स्वीकार गरेका छन् ।

‘ठेकेदार र संघिय शहरी विकास कार्यालयको चरम लापरवाहीका कारण सडक निमार्णमा ढिलाई भएकाले सरोकारवाला निकायको ध्यान केन्द्रति हुन आवश्यक देखिन्छ,’ पत्रकार मिश्रले भने ।

प्रतिक्रिया

प्रतिक्रिया