अभद्र व्यवहारको मुद्दा प्रहरीले सम्बन्धित नभएकै मुद्दामा चलाउने गरेको पाइन्छ । प्रहरीले अन्य मुद्दामा अनुसन्धान गर्नुपर्ने व्यक्तिलाई पनि अभद्र व्यवहारका मुद्दा चलाउने गरेको पाइएको हो । अनुसन्धानका लागि प्रहरीले त्यसो गर्ने गरेको प्रहरी स्रोत बताउँछन् । ‘कानुनको दुरूपयोग भैरहेको छ’, कानुन व्यवसायी भन्छन्, ‘प्रहरीले थुनामा राख्नकै लागि अभद्र व्यवहारको मुद्दा चलाउने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट सबैभन्दा बढी चालु आ.व.मा अभद्र व्यवहारका मुद्दा दायर भएको छ । चालु आ.व. २०७९÷०८० को चैत्रसम्म बाँके प्रहरीले २ सय ३१ वटा अभद्र व्यवहारका मुद्दा चलाएको छ ।
मुलुकी अपराध संहिताको दफा ११८ (१) मा भनिएको छ, ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन ।’ त्यसो गरेको प्रमाणित भएमा एक बर्ष कैद वा १० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ । तर, प्रहरीले जस्तो सुकै मुद्दामा पनि अभद्र व्यवहारको मुद्दा चलाउने गरेको पाइन्छ । प्रहरीले प्रमाण नजुटेका मुद्दामा अनुसन्धानका लागि अभद्र व्यवहार मुद्दा चलाउने, कुनै घटनामा पक्राउ परेका व्यक्तिलाई सोही मुद्दामा कसुर प्रमाणित हुने नदेखेपछि अभद्र व्यवहार मुद्दा चलाउँदै आएको छ ।