यस्तो छ, लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम

पर्यटनको लागि प्रसिद्ध शक्तिपीठ, नेपालगन्जस्थित बागेश्वरी मन्दिर, बर्दियाको ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिर लगायतमा पर्यटन केन्द्रित कार्यक्रम । साँस्कृतिक क्षेत्र घोषणा गरि धार्मिक पर्यटन प्रवद्र्धन गरिने योजना ।


लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको छ ।


प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रममा अधिकांश यसअघिका कार्यक्रमलाई निरन्तरता दिइएको छ । जसमा बाँके र बर्दियाका लागि समेत विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएका छन् ।


खाद्य तथा पोषण सुनिश्चित गर्न तथा कृषि उपजको आयात प्रतिस्थापन गर्न कृषिको आधुनिकीकरण र व्यवसायिकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्ने प्रदेश सरकारको नीति अन्तर्गत प्रदेशमा बाली/बस्तु विशेष सघन व्यवसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम गरिने भएको छ । जसमा बाँकेमा आँप र मसुरो खेतीलाई प्रवद्र्धन गरिने प्रदेश सरकारको नीतिमा उल्लेख ।


प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा सिचाई आयोजना मार्फत ३ सय हेक्टर सिञ्चित क्षेत्र बिस्तार र सम्पन्न भएका ठूला सिंचाई आयोजना सिक्टा सिचाई लगायतको प्रभाव क्षेत्रमा उपयुक्त बाली चक्र मार्फत २ हजार हेक्टर क्षेत्रफलमा बाली सघनता वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।


कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई सरकारले प्राथमिकतामा राखेको छ । रोजगारी सिर्जना गर्ने नवीनतम उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ । प्रदेश सरकारले बाँकेमा भैसी र माछापालन, बर्दियामा भैसी र बंगुर पालन व्यवसाय प्रवद्र्धन गर्ने नीति लिएको छ ।


कृषिको प्रवद्र्धधनका लागि सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम संचालन गर्ने नीति लिएको सरकारले त्यसका लागि विभिन्न जिल्लालाई जिल्लागत खेती प्रवद्र्धधन गर्ने उल्लेख गरेको छ । विभिन्न जिल्लामा सफल देखिएका उत्पादन र बजार प्रणाली पहिचान गरी कृषकबाट कृषकसम्म प्रविधि तथा कार्यक्रम विस्तार गर्ने सरकारको लक्ष्य छ ।


घरदैलोमा प्राविधिक सेवाः उत्पादनमा टेवा भन्ने नारासहित कृषि प्रचार सेवाको पहुँच गाउँसम्म पुर्याउने पनि सरकारको लक्ष्य छ । तीनै तहको समन्वयमा खाद्य सुरक्षाको जोखिममा रहेका घरपरिवारको पहिचान गरी जोखिम व्यवस्थापन सञ्चालन गर्ने नीति पनि सरकारले अघि सारेको छ ।


प्रदेश सरकारले प्रदेश गौरवको आयोजना पाल्पाको रामपुरदेखि रोल्पाको जिनाबाङ्ग लगायत २० वटा अन्य प्रदेशस्तरका राजमार्ग निर्माण एवं स्तरोन्नति कार्यलाई पनि प्राथमिकतामा राखेको छ । सरकारले उज्यालो प्रदेशः लुम्बिनी प्रदेश अवधारणा अनुसार विद्युत् नपुगेका स्थानमा बैकल्पिक उर्जाको प्रयोग, लघु तथा साना जलविद्युत् हरित उर्जा, वायु उर्जालाई प्रवर्द्धन गर्ने नीति सरकारले लिएको छ ।


विद्युतीय सवारी साधानको प्रयोग र चार्जिङ स्टेशन १२ वटै जिल्ला सदरमुकाम, राजमार्ग र व्यापारिक केन्द्रमै निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति पनि सरकारको छ । पहाडी जिल्लाको बढ्दो बसाईसराई रोक्न ‘एक जिल्लाः एक नमूना बस्ती’ नारा पनि सरकारले अघि सारेको छ ।


त्यस्तै, सरकारले स्थायी राजधानी निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । प्रदेशसभाबाट राजधानी तोकिएसँगै आधुनिक शहरसहितको प्रदेश राजधानीलाई व्यवस्थित गर्न गुरुयोजना निर्माण भएर जग्गा व्यवस्थापन, ल्यान्डपुलिङ र भौतिक पूर्वाधार निर्माणका कार्य शीघ्ररुपमा अघि बढाइने कार्यक्रममा समेटिएको छ ।


‘राजधानीमा आधुनिक सहर संरचना विकासका लागि स्रोत व्यवस्थापन गर्न संघ र स्थानीय तहसँग निरन्तर समन्वय तथा लगानी आर्कषण गर्न विकास साझेदारको सहभागिता जुटाउने प्रयास भइरहेको छ र त्यसले प्रदेशको समग्र विकास र नयाँ शहर स्थापनामा सहयोग पुग्ने जनाइएको छ ।


सरकारले प्रदेशबासीको आवश्यकता बमोजिम सीप तथा क्षमता विकास, रोजगारी सिर्जना, आयआर्जनमा वृद्धि गर्दै जिवनस्तरमा दिगो सुधार एवं उत्पादन र उत्पादकत्व वृद्धिको माध्यमबाट आत्मनिर्भर, समृद्ध र समुन्नत प्रदेश बनाउन रणनीतिक प्राथमिकता केन्द्रित हुने गरी कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रम बनाएको छ ।


सरकारले रोजगारी प्रवर्धनका लागिग ‘श्रमको सम्मान र लुम्बिनी प्रदेशको अभियान’ नारा अघि सार्दै प्रदेशलाई श्रममैत्री बनाउन श्रम तथा रोजगार रणनीतिक योजना तर्जुमा गर्ने सरकारको लक्ष्य छ । सरकारले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम पनि अघि सारेको छ । यसअघिको सरकारले मुख्यमन्त्री शैक्षिक विकास कार्यक्रम सञ्चालन गरिरहेको थियो ।


मुख्यमन्त्री आर्थिक विकास कार्यक्रममार्फत बेरोजगार युवाशक्तिलाई बजार माग र स्वरुचि अनुरुपको सिपमूलक तालिम प्रदान गर्दै उद्यमशिलताको विकास मार्फत रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ ।


संघ, स्थानीय तह, निजी क्षेत्र, सहकारी र विकास साझेदारसँगको साझेदारीमा आगामी २ वर्षमा २ लाख उत्पादनशील रोजगारीका अवसर सिर्जना हुने गरी प्रदेशका ९ सय ८३ वटै वडामा सामाजिक परिचालन गर्ने नीति कार्यक्रम सरकारले सार्वजनिक गरेको छ ।


औद्योगिक विकासका लागि बाँकेको नौवस्तासहित औद्योगिक क्षेत्रको विकासमा प्राथमिकतामा राख्ने जनाइएको नीति तथा कार्यक्रममा बुटवललाई आर्थिक हव बनाउने नारा समेटिएको छ ।


त्यसैगरी विद्युतीय गाडी संचालनका लागि सबै जिल्ला सदरमुकाम र राजमार्गमा चार्जिङ स्टेशन बनाउन पहल गर्ने, प्रदेशका सबै नागरिकलाई पुग्नेगरी एक घर एक धारालाई कार्यान्वयनमा लैजान पहल गरिने कार्यक्रम विशेष प्राथमिकतामा रहेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख शेरचनले बताए ।


पर्यटनको क्षेत्रमा लुम्बिनीलाई केन्द्र बनाएर अन्य क्षेत्रलाई जोड्ने गरी योजना बनाउने, घरेलु रक्सीदेखि हस्तकलाका सामग्रीको ब्राण्डिङ गर्ने र त्यसबाट नागरिकको जीवनस्तर बढाउने उद्देश्य पनि राखिएको छ ।

यस्तै रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । ठूला र धेरै बजेट खर्च हुने आयोजनालाई यसपालि अघि नसार्ने तर प्रत्यक्ष लाभप्राप्त हुने योजनालाई अघि सारिएको छ ।


पर्यटनको लागि प्रसिद्ध शक्तिपीठ, नेपालगन्जस्थित वागेश्वरी मन्दिर, बर्दियाको ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिर, ग्रेटर लुम्बिनी, स्वर्गद्वारी, रुरुधाम र दाङको रतनमार्ग आदि स्थानमा पर्यटन केन्द्रित कार्यक्रम बनाइने उल्लेख छ । यी सबैलाई साँस्कृतिक क्षेत्र घोषणा गरि धार्मिक पर्यटन प्रवद्र्धन गरिने योजना सरकारले बनाएको छ ।


‘समृद्ध लुम्बिनीः आत्म निर्भर प्रदेश’ नारासहित नीति तथा कार्यक्रम पस्तुत गरेको प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नाराहरु समेटिएको छ । ‘कृषकबाट कृषकसम्म’ प्रविधि तथा कार्यक्रम बिस्तार गरिने नीति तथा कार्यक्रममा समेटिएको हो ।


घरदैलोमा प्राविधिक सेवाःउत्पादनमा टेवा, श्रमको सम्मानः लुम्बिनी प्रदेशको अभियान, पढ्दै कमाउदै, कमाउदै पढ्दै, सीप सिकौ दक्ष बनांै, उद्योग दर्तामा प्रविधिः लुम्बिनी प्रदेशको उन्नति, मानव विकासको आधारःलुम्बिनीका स्तरिय र सुरक्षित पूर्वाधार,कृषिको आधारःसिंचाइमा सुधार, उज्यालो प्रदेशःलुम्बिनी प्रदेश, एक घर एक धारा, वन जन्य उद्यमको विकासःबेरोजगारी समस्याको निकास, पीडितसँग प्रदेश सरकार, सिकाउने, टिकाउने र श्रमबजारमा बिकाउने, लुम्बिनीका खेलाडीःसधैं अगाडि, मेरो स्वास्थ्य मेरो जीवन, लोरेट एण्ड लिडर कार्यक्रमको रुपमा समेटिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया