नेपालगन्जमा विपद प्रतिकार्य ‘टास्कफोर्स’

चारसय जनशक्ति तयार गर्दै नेपालगन्ज उपमहानगर


सम्भावित विपद् प्रतिकार्यका लागि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले ‘टास्कफोर्स’ तयार गर्दैछ । नेपालगन्जभित्र हुनसक्ने सम्भावित विपद् प्रतिकार्यका लागि चारसयको संख्यामा जनशक्ति तयार गर्न लागिएको हो ।


‘दुई सय जनशक्ति तयार गरिसकिएको छ,’ उपमहानगरपालिका–३ र ७ बाट १८ देखि ५० वर्षसम्मका उमेर समूहको यो संख्याका जनशक्ति तयार गरिएको जानकारी दिंदै सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी योजनाका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले भने, ‘हामीले चार सय जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएका छाँै ।’


यो जनशक्तिले विपद्का बेला खोज तथा उद्धारलगायत काम गर्न सक्नेगरि आवश्यक तालिम, सचेतना गरिने जानकारी दिंदै सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले भने, ‘उनीहरुका लागि आवश्यक सबै प्रकारका तालिम प्रदान गरिएको छ ।’


उक्त दुई वडा भूकम्पको उच्च जोखिममा रहनाका साथै आगलागी वा अन्य विपद्का घटना हुँदा आवतजावत गर्न कठिनाइ हुने क्षेत्रका रुपमा लिइएको छ । ती वडामा भूकम्प तथा आगलागीका घटनामा समुदायमा चेतना जगाउने काम र भूकम्प सम्बन्धी कृत्रिम घटना अभ्यासलगायत कार्यक्रम सञ्चालन हुँदै आएको छ ।


सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी योजनाका परामर्शदाता डा. सुजन मल्लले विपदमा प्रतिकार्य क्षमता बढाउन नसेकेको बताए । विपद्का लागि बेग्लै चार तहको संयन्त्र आवश्यक परेको र यसका लागि स्थानीय सरकार सबैभन्दा बढी जिम्मेवार हुनुपर्नेमा डा.मल्लको जोड छ । ‘राज्यको जलवायु परिवर्तनमा बजेट छ तर विपदमा बजेट कम छ’ डा. मल्लले भने ।


बुधवार नेपालगन्जमा आयोजना गरिएको एउटा कार्यक्रममा विपदबाट हुने क्षति न्यूनीकरण गर्न विपद पूर्व तयारी योजना कार्यान्वयनमा जोड दिइयो । ’विपद पूर्व तयारी योजना कार्यान्वयन कार्यशाला’ मा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा जोड दिइएको हो ।


कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद्लाई उपमहानगरका तर्फबाट उच्च प्राथमिकता दिइएको जानकारी दिँदै यसमा नागरिकको पनि दायित्व रहेको उल्लेख गरे ।


सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी योजनाका अधिकृत शिव सुवेदीले बीमामार्फत पनि भूकम्पीय जोखिम कम गराउन सकिने चर्चा गर्दै सबै सरोकार भएका समुदाय विपदमा चनाखो हुन आवश्यक रहेको बताए । विपद्का लागि उपमहानगरपालिकाले विपद् राहत कोषमा रु ८० लाख बजेट विनियोजन गरेको छ ।


युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) अन्तर्गत कार्यशाला गरिएको हो । कार्यशालामा नेपालगन्ज उपमहानगरपालिकाको विपद जोखिमको अवस्थाबारे चर्चा गरिएको थियो । कार्यशालामा पूर्व प्रमुख सेनानीसमेत रहेका डा. मल्लले विपद, विपद पूर्व तयारी, पूर्व तयारी योजना कार्यान्वयन र प्रतिकार्य सम्बन्धमा प्रस्तुतिकरण गरे ।


नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको कार्यशालामा उपप्रमुख कमरुद्दिन राई, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोबर्द्धनसिंह सम्झना, नेपालगन्जका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखा प्रमुख लगायतको उपस्थिति थियो ।


कार्यशालामा स्वागत मन्तव्य वातावरण तथा विपद शाखा प्रमुख प्रकाश डिसीले गरेका थिए । सुपर प्रोजेक्ट नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ३ र ७ मा सञ्चालित छ ।

प्रतिक्रिया

प्रतिक्रिया