कुमाललाई ‘सनत रेग्मी अमृत महोत्सव दीर्घ साधना सम्मान पदक’
अवधीभाषी अग्रज श्रष्टा विष्णु लाल कुमालले आफनो ७६ औं वर्ष प्रवेशका दिन शनिवार रचनासंग्रह ‘७५ घमन्जा’ लोकार्पण गरेका छन् ।

मधेस आन्दोलनका अगुवाका रुपमा सक्रिय उनलाई मधेसीका ‘लाल’ भन्दा फरक पर्दैन, त्यसका तमाम आधार भेटिन्छन्, यो उपमा दिन । लेखक विष्णु लाल कुमाल (प्रजापति) शनिवार आफ्नो उमेरको ७५ वर्ष पार गरेर ७६ औं वर्ष प्रवेश गरे ।
वितेका ७५ वर्षका सिर्जनालाई उनले ‘घमन्जा’का रुपमा संग्रहित गरेका छन् ।
हिन्दी, अवधी र नेपाली भाषामा कलम चलाउँदै आएका अग्रज साहित्यकार कुमालको पछिल्लो कृति तीनवटै भाषामा रहेका रचनाको संग्रहका रुपमा ‘घमन्जा’ जन्मोत्सव पारेर सार्वजनिक गरिएकोे हो ।
कविता, गीत, गजल, कहानी, लेख, कथा आदि संग्रहित घमन्जालाई विष्णु लाल कुमालले सम्पादन र अतिथि सम्पादकका रुपमा शाहिदा शाह ‘वाहिदी’ले कृतिको रुप दिएका हुन् ।
वरिष्ठ उर्दु सायर अब्दुल लतीफ ’शौक’को अध्यक्षता शनिवार अवधी साँस्कृतिक प्रतिष्ठानले कुमालको जन्मोत्सव मनाउँदै पुस्तक विमोचनसँगै बहुभाषिक कवि गोष्ठी आयोजना गरेको हो ।
आयोजित कार्यक्रममा प्रमुख अतिथि पशुपति दयाल मिश्रा, विशिष्ट अतिथि सनत कुमार रेग्मी, नरेन्द्र जंग पीटर, यू.पी. भारत बहराइच जिल्ला रुपैडिहाका चेयरमैन डा. उमाशंकर वैश्य, पनेपा प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य महानन्द ढकाललगायतले कृति लोकार्पण गरेका हुन् ।
कार्यक्रममा वरिष्ठ साहित्यकार नयनराज पाण्डेय, प्राज्ञसभा सदस्य शशीराम कार्की, कवि सुमित्रा न्यौपाने, पुष्पमणि प्रधान, शुक्रऋषि चौलागांई, महेंद्र पुस्तकालयका अध्यक्ष बलराम यादव, पत्रकार विजय बर्मा लगायतका व्यक्तित्वहरु सहभागी थिए ।
कार्यक्रममा स्वागत मन्तव्य जैनुल हकले गरेका थिए भने कार्यक्रमको उद्देश्य माथि अतिथि सम्पादक शाहिदा शाहले प्रकाश पारेकी थिइन् ।

कार्यक्रममै साहित्यकार विष्णुलाल कुमाललाई विद्याकुटीर फाउण्डेशनका संरक्षक सनत रेग्मीले ‘सनत रेग्मी अमृत महोत्सव दीर्घ साधना सम्मान पदक’ सहित दोसल्ला ओढाई रुद्राक्षको माला लगाएर सम्मान गरिएको थियो ।
ई.स. १९४८ जून ३ (वि.स. २००५ जेष्ठ २० गते) कुम्हारनटोल , नेपालगन्ज–३ (बाँके)मास्वः फुलकोरा देवी एंव स्वः रायस्वरुप कुमालका सन्तानको रुपमा जन्मिएका उनले एम.ए. (हिन्दी) , साहित्य रत्न (अर्थशास्त्र) सम्म शिक्षा हासिल गरे ।
शिक्षाका साथसाथै उनको रुची सामाजिक कार्यमा पनि रहेकोले उनी विभिन्न संघ संस्थामा आबद्ध भइ कार्य गरेका छन् । विभिन्न खाले प्रशिक्षण लिए जस्तैः स्काउटर प्रशिक्षण, बैंकर्स प्रशिक्षण, एम्नेस्टी इन्टरनेशनल, नेपाल जेसिस तथा अन्य संघ संस्थाहरुबाट विभिन्न विधामा प्रशिक्षण प्राप्त गरे ।
उनी संचार क्षेत्रमा पनि लामो समय सम्म योगदान पुर्याएका छन् । रेडियो भेरी एफ. एममा अवधी भाषाको समाचार बाचन, अन्तर्वार्ता तथा कार्यक्रम प्रस्तोता हुन् । अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय अध्यक्ष कुमाल नेपाल ललित कला संस्था नेपालगन्जका पनि अध्यक्ष हुन् ।
कुमाललाई साहित्य क्षेत्रसंग पनि उत्तिकै लगाव रहेकोले उनले कविता, गीत, लेख,व्यंग, कहानी, गजल, कथा, संस्करण, स्तम्भ लेखे । जसमध्ये उनका केही प्रकाशित कृतिहरुमा यादों के आशेष (हिन्दी), अशान्ति केर अगिया (अवधी), तुलसी जयन्ती (नेपाली) तथा ७५ घमन्जा (हिन्दी, अवधी र नेपाली गरी तीन मिश्रित भाषामा) रहेका छन् ।
अवधी सन्देश भाग १, भाग २ र भाग ३ सम्पादन गरिसकेका कुमालले नेत्र ज्योति स्मारिका सम्पादन गरे जुन फत्तेबाल आँखा अस्पताल नेपालगन्जले प्रकाशित गरेको थियो ।
नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी कुमालले राष्ट्र बैंकको प्रथम स्मारिका अंकमा २०३८, सुर्खेत सुमन २०५३, किरण साप्ताहिकदेखि स्थानीय, राष्ट्रिय दैनिक पत्रपत्रिकामा विभिन्न समसामयिक लेख रचना प्रकाशित गर्र्दै आएका छन् ।
प्रकाशोन्मुखमा यात्रा संस्मरणबारे चर्चा गर्दै कुमालले ‘तत्कालीन डोटीको यात्रा’ पुस्तकका रुपमा प्रकाशनका लागि तयार अवस्थामा रहेको बताए । उनको ‘भयंकर भूल’ नाटक कृति पनि प्रकाशनयोग्य छ । २०२६ सालमा दैलेखमा विश्व स्वास्थ्य दिवसमा अभिनीत लेखन एंव निर्देशन हो भयंकर भूल । तर, प्रकाशित गर्न भने अनुकुलता मिलेन अझै ।
कुमालको योगदानको मुल्यांकन गरी देश विदेशमा उनलाई विभिन्न कदरपत्र/सम्मानहरु दिइएका छन् । ‘साहित्यिक संस्थाहरुबाट लगभग ७० भन्दा बढी कदरपत्र, प्रमाणपत्र प्राप्त भएका छन्,’ कुमाल भन्छन्, ‘अन्तर्राष्ट्रिय सम्मानपत्रमा भारतको विभिन्न शैक्षिक क्षेत्र, साहित्यिक संस्थाहरुबाट ५० भन्दा बढी सम्मानपत्र, प्रतीक चिन्ह प्रदान गरिएका छन् ।’
नेपालगन्ज उद्योग व्यापार संघबाट प्रादेशिक मेलामा सम्मानित भएका कुमालले मधेश रत्न सम्मान, मानव अधिकार शान्ति समाजबाट रु. २० हजार नगद सहित सम्मान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानबाट कदर सहित प्रमाणपत्र प्राप्त गरेको बताए ।