अभियन्ता, लेखक डा.जीवन क्षेत्रीको कृति ‘नुन–तेलः विगततिर पदयात्रा’ को चर्चामा शनिवार विकास मोडेलबारे बहस गरिएको छ ।
लेखक डा. क्षेत्रीसँग नेपालगन्जमा साक्षात्कारको चाँजो मिलाएको मलमपट्टी मर्निङ वाक ग्रुपले चिया चुस्कीसँगै नुन–तेलका गफ नाम दिएर कार्यक्रमको आयोजना गरेको हो । जहाँ नितान्त साहित्यिक भन्दा जीवन–जगत, विगत र आगतका खुलेर कुरा गरिए ।
पुस्तकभन्दा संसारका बढी कुरा गरेका डा. जीवनसँग पर्यावरणका भयानक जोखिम र आगामी पुस्ताका लागि हामीले छाड्ने धर्तीबारे संवाद भइरहँदा चुरे बेच्ने सरकारको योजनादेखि प्लाष्टिक प्रतिबन्ध गर्न नसक्दा ब्यहोर्नुपरेको दीर्घकालीन क्षतिसम्मका अन्तक्र्रिया गरिए ।
‘युरोप, बेलायत र अमेरिकाले दशकौं अघि गरेका गल्तीलाई हामी विकासका नाममा दोहोर्याउनेकी त्यसबारे सिकेर उनीहरुले अहिले गरिरहेको अभ्यासमा पनि ध्यान दिने ?’ विकासका पछिल्ला बहसमा लेखक डा.क्षेत्रीले भने, ‘अहिले विकास भनिरहँदा भोलिको पुस्तालाई विकार दिने कुरामा सचेत हुनैपर्छ ।’
सामान्यतया लेखकसँग गरिने कृतिका साक्षात्कार भन्दा फरक र परिणाममुखी शनिवारको ‘नुन–तेल’ का लेखक क्षेत्रीसँग ‘चिया गफ’ मा विकासका सरकारी मोडेलमा प्रहार गरिएका थिए ।
हामी सबैको साझा भविष्य पृथ्वीमाथिको चासो र चिन्ताको सेरोफेरोमा लेखिएको पुस्तक नुन–तेलमा लेखक क्षेत्रीले आफ्नो चार पुस्ताको कथा नुन–तेलका लागि हिडेका परम्परागत पदमार्गको यात्रालाई पुस्ताकार दिएको उल्लेख गरे ।
‘पृथ्वीमा अर्बौं वर्षदेखि जीवन सम्भव बनाएका पर्यातन्त्रहरू धराशायी बन्दै छन्,’ डा. क्षेत्रीले भने–‘हाम्रो आफ्नै भविष्य चरम अन्यौलको घेराभित्र छ । तर पनि यस विषयमा संवाद गर्न हामीसित साझा भाषा छैन ।’ पुस्तकमा उत्तर भन्दा पनि प्रश्नहरु सिर्जना गरिएका उनको तर्क छ ।
सृजित यी प्रश्नहरुले नीति निर्माण तहमा बस्नेहरुलाई उधिन्नु पर्छ भन्ने मान्यता राख्ने बताएका लेखक क्षेत्रीले नुन–तेल पुस्तक अध्ययनपछि प्रश्न गर्नेहरुलाई पनि दवाव दिने बताए ।
त्यसो भनिरहँदा छेउमै रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जिज्ञासा राख्ने ‘मूढ’ बनाए । प्रजिअ आचार्य आफैपनि वातावरण विद् भएकाले होला निकै रुचिपूर्वक बहसमा सहभागी भए ।
पुस्तकमाथि औपचारिक टिप्पणी गर्दै वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले ‘नुन–तेलः विगततिर पदयात्रा’ पुस्तक आन्दोलनको प्ररेक बन्न सक्ने औल्याए । ‘यो पुस्तक पढ्दै जाँदा मनलाई जबर्जस्त आन्दोलित बनाउँछ,’ पिटरले भने–‘विगतको स्मरण र भविष्यको साेंच निर्माणका लागि सबैलाई उधिन्ने प्रेरक पुस्तकका रुपमा नुन–तेल छ ।’ पुस्तकको लेखनशैली नयाँ र तथ्यमा आधारित रहेको उल्लेख गर्दै उनले योभित्र विज्ञापन, पर्यावरण, सामाजिक इतिहास प्रतिबिम्बित भएको बताए ।
मलमपट्टी मर्निङ वाक ग्रुपका सदस्यहरु डा.बद्री चापागाईंले वातावरणको चिन्ता गरेर विकासलाई छाड्न सकिन्नकी भन्ने तर्क राख्दा, लेखक क्षेत्रीले विकासका तमाम विश्वव्यापी अभ्यासबारे धारणा राख्दै पर्यावरणमैत्री मोडेलमा सरकारको ध्यानाकर्षण गराए ।
डा. चापागाईंसहित साक्षात्कारमा सहभागीहरुले जलवायु परिवर्तनको असर, त्यसले पार्ने प्रभाव र जोखिम न्यूनीकरणका सवालमा चासो र चिन्ता व्यक्त गरे । त्यसैगरी उनीहरुले पुस्तकले आफूलाई पनि आफ्नो जीवनको विगतलाई हेर्न झकझक्याएको पनि बताए । पुस्तकमा उल्लेखित केही प्रश्नहरु उद्धृत गर्दै सहभागीहरुले ‘नुन–तेल’ ले पाठकलाई प्रश्न सोध्न प्रेरित गर्ने बताए ।
उनीहरुले भने, ‘हामीले हामीभन्दा पिँधमा रहेका विशेषतः जलवायु परिवर्तन, बसाइँसराइँ, अल्पसंख्यक समुदायलाई कसरी हेर्ने भन्ने दृष्टिकोण पुस्तकमा छ । ’ ‘नुन–तेल विगततिर पदयात्रा’ले यात्रा थुप्रैका लागि आफ्नो पारिवारिक संस्मरण गर्न प्रेरक हुनेछ’ सहभागीहरुको भनाइ थियो ।
साक्षात्कारमा अधिकारकर्मी भोला महत, डा.देवराज भारती, नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ, पत्रकार कृष्ण अधिकारी, विद्यार्थी नेता तुलसीमणि केसी लगायतले विचार र टिप्पणी राखेका थिए । लेखक–पाठकसँगको पुल बनेर पत्रकार प्रियास्मृति ढकालले कार्यक्रमको सहजीकरण गरेका थिए ।
पेशाले चिकित्सक क्षेत्रीको यो पहिलो पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो । लेखक डा. क्षेत्री, प्रकाशक सांग्रिलाका प्रमुख मणि शर्मासहितको टोली पाठक अन्तक्र्रियाका लागि निस्किएको हो । आइतवार सुर्खेतका पाठकसँग भलाकुसारी गरिने शर्माले बताए ।