चेसमा फड्को मार्दै नेपालगन्ज

राष्ट्रव्यापी रेटिङ चेस प्रतियोगितामा नेपालगन्जका आयुषले जिते स्वर्णपदक

हेटौडामा भएको मेयर कप राष्ट्रव्यापी रेटिङ चेस प्रतियोगितामा १४ वर्ष मूनिका खेलाडी तर्फ नेपालगन्ज मोडेल एकेडेमी, बाँकेका आयुष डेमरौरा प्रथम भएका छन् । यसैसाता भएको प्रतियोगितामा खुल्ला तर्फ वर्तमान नेपाल च्याम्पियन रुपेश जयसवाल प्रथम हुन सफल भए ।


श्रीलंकाको डब्ल्युआइएम, वर्तमान नेपाल च्याम्पियन रुपेश जयसवाल, ६ जना पूर्व नेपाल च्याम्पियन गरि ७ जना राष्ट्रिय खेलाडी, प्रदेश च्याम्पियनहरु सहित देश भरीबाट ८६ जना खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगितामा नेपालगन्जबाट ८ जना विद्यार्थीले सहभागिता जनाएका हुन् । प्रथम हुने जयसवालले ट्रफि, मेडलसहित नगद रु. एक लाख रुपिया पनि प्राप्त गरे ।


विभिन्न नौ राउण्डमा भएको राष्ट्रव्यापी प्रतियोगितामा ५.५ अंकका साथ आयुष डेमनरौरा १४ वर्षमूनिका उमेर समूहमा प्रथम भएका हुन् । प्रतियोगिताका आर्विटर एनए पशुपति नाथ योगीका अनुसार, आयुषले गोल्ड मेडलसहित दश हजार नगद पुरस्कार हात पार्न सफल भए ।

‘सोही प्रतियोगिता मार्फत उनले एफआइडीइ रेटिङ १६१५ पनि प्राप्त गर्ने भएका छन्,’ योगीले दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्जबाट सहभागी अन्य विद्यार्थीहरुले पनि कम्तिमा २.५ अंक प्राप्त गरेका छन् ।’


दशौं राष्ट्रिय खेलकुदका लागि तयारी स्वरुप अध्ययन, अनुभव प्राप्त गर्न सहभागी विद्यार्थीहरु सफल भएको प्रतिक्रिया दिंदै आर्विटर योगीले भने, ‘अबका दिनमा अब्बल चेस खेलाडीका रुपमा बाँकेका खेलाडीका लागि मार्ग तयार भएको छ ।’


प्रतियोगितामा नेपालगन्ज स्थित सगरमाथा, जय वागेश्वरी, ब्राइटल्याड र नेपालगन्ज मोडेल एकेडेमी गरि ४ विद्यालयका ८ जना विद्यार्थी सहभागी भएका थिए ।

‘उनीहरुलाई बाँके जिल्ला बुद्धिचाल संघले प्रोत्साहन स्वरुप ड्रेस प्रदान गरेको थियो,’ योगीले संघका अध्यक्ष अभिराज क्षेत्रीलाई उदधृत गर्दै भने, ‘अबका दिनमा विद्यालय स्तरीय प्रतियोगितालाई बढाउँदै लैजानुपर्छ ।’

योगीका अनुसार, स्थानीयस्तरमा मोडेल एकेडेमी, जय वागेश्वरी लगायतका विद्यालयले पाठ्यक्रममै बुद्धिचाल ( चेस ) लाई समावेश गरिसकेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया