ऐतिहासिक मर्जरमा कृषि सहकारी


बाँकेका आठ वटा सहकारी एकीकरण भएका छन् । संस्थालाई बलियो र सेवा प्रभावकारी बनाउने उद्देश्यले औपचारिक कार्यक्रम बीच बाँकेका विभिन्न स्थानीय तहमा रहेका आठवटा साना किसान कृषि सहकारी संस्थाहरू एकीकरण भएका हुन् । समान उद्देश्यले काम गर्ने सहकारी एकीकरण हुँदा त्यसले आन्तरिक व्यवस्थापन खर्च कम हुने, सदस्यहरूले लाभ र सेवा बढी पाउने सम्बद्ध बताउँछन् ।

सोमबार साना किसान कृषि सहकारी संस्था लि. राप्तीसोनारी, सिर्जनशिल साना किसान कृषि सहकारी संस्था लि. बैजनाथ, महिला साना किसान कृषि सहकारी संस्था लि. बैजनाथ, सुर्यलक्ष्मी साना किसान कृषि सहकारी संस्था लि. राप्तीसोनारी, सौगात साना किसान कृषि सहकारी संस्था लि. राप्तीसोनारी, नवज्योती साना किसान कृषि सहकारी संस्था लि. खजुरा, हातेमालो साना किसान कृषि सहकारी संस्था लि. खजुरा, आपसी मेलमिलाप साना किसान कृषि सहकारी संस्था लि. जानकी एकीकरण भएका हुन् । एकीकरण भएर बनेको सहकारीको नाम अस्टम साना किसान कृषि सहकारी संस्था राखिएको छ ।

‘सहकारीको केन्द्रीय महासंघले आगामी १० बर्षमा सहकारी एकीकरण गरेर १० हजारमा झार्ने लक्ष्य लिएको छ’, जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले भने, ‘बाँकेका आठ सहकारी एकीकरण हुँदा त्यसले एउटा सकारात्मक सन्देश दिएको छ ।’ उनले धेरै सहकारी हुनुभन्दा समान प्रकृतिका सहकारी एकीकरणले सेवामा सरलीकरण हुने, सहकारीको पूँजी वृद्धि हुँदा ऋण लगानी बढ्ने, शेयर सदस्यले लाभांस बढी पाउने बताए । ‘एकीकरणले कार्यालयको व्यवस्थापन खर्च समेत घट्छ’, उनले भने ।

पछिल्ला बर्ष ठूला बैंकहरू समेत धमाधम मर्ज भैरहेका छन् भने बैंकिङ्ग सेवा गाउँगाउँसम्म पुगेको छ । ‘सहकारी सेवाको भावनाले चल्ने संस्था हो, त्यसैले एकीकरणका लागि सञ्चालकमा त्यागको भावना हुनुपर्छ’, अध्यक्ष सुवेदीले भने ।
पछिल्ला समय बचत तथा ऋण सहकारी सञ्चालक धमाधम सम्पर्क विहीन हुँदै गएका छन् । आर्थिक संकटमा रहेका व्यवसायीले साँवा किस्ता तिर्न नसकेपछि त्यसको असर सहकारीको बचत फिर्तामा पर्दा पनि कतिपय सहकारीले समस्यामा परेको बताइन्छ । कतिपय सहकारीहरूले सहकारीको सिद्धान्त विपरित मनोमानी ऋण लगानी तथा भौतिक पूर्वाधार तर्फ खर्च गर्दा पनि समस्या भैरहेको बताइन्छ ।

जिल्लामा पछिल्लो समय केही सहकारीले बचत संकलन छाडिसकेको छ भने केही बन्द गरेर सम्पर्क विहीन छन् त केहीले ऋण लगानी उठाउँदै बिस्तारै बचत फिर्ता गरिरहेका छन् । सहकारीमा देखिएको समस्याले लामो समय लगाएर आर्जन गरेको विश्वास गुम्दै गएको छ । मानिसहरूले दैनिक बचत समेत गर्न डराएको र छाडेको बचतकर्ता बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया