आश्रम सञ्चालन गर्न मुठ्ठीदान अभियान

मानवसेवा आश्रम नेपालगन्ज शाखामा आश्रित बेसहाराको सहाराका लागि मुठ्ठीदान अभियान थालिएको छ ।

आश्रमले स्थापनाको समयदेख नै दातृ निकायहरुको सर्त सहितको सहयोग स्वीकार नगर्ने आदर्शलाई आत्मसाथ गर्दै मुख्य स्रोतका रुपमा मुठ्ठीदान अभियान थालिएको हो ।


नेपालगन्जमामात्रै ५० बढी बेसहारा आश्रित रहेको जानकारी दिंदै मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) ले सहयोगको अपेक्षा गरिएको जनाएको छ ।


आश्रमका अनुसार, नेपालगन्जमा ५ जना महिला, ३ जना बालबालिका र ४५ जना पुरुष आश्रित छन् । जसमा १ वर्ष कि बालिका देखि ८० वर्ष भन्दा माथि उमेरका छन् । ति मध्ये ४० जना मनोसामाजिक समस्या बाट ग्रसित छन् भने उनीहरुले नियमित औषधि सेवन पनि गर्दै आइरहेका छन् ।


मुठ्ठीदान संकलन गर्ने क्रममा सेवा संचालनको लागि नगद रु. ११ हजार ४१५ साथै चामल,बिस्कुट, केहि थान महिलाहरुले लगाउने कपडा र चप्पल लगायतका सामग्रीहरु स्वतस्फूर्त आश्रमले प्राप्त गरेको जनाएको छ ।


मुठ्ठीदान संकलन गर्नको लागि मानवसेवा आश्रमका युवा स्वयंसेवीहरु चिरन्जीवी बुढा, दिपिका देवकोटा, सुवास सिजापति, प्रकृति थापा, अस्मिता देउवा, साहिं खान र छत्र सुनारको टोलीले सघाएको थियो ।


आश्रमको सेवामा रहने अभियन्ता, साधकसाधिका भने स्वयंसेकको रुपमा २४ घण्टा नै समर्पित छन् ।केही प्राविधिक कर्मचारीहरु, स्वास्थ्यकर्मी, सुरक्षा गार्डहरु भने आवश्यकताको आधारमा केही पारिश्रमिक लिएर २४ घण्टा नै आश्रमको सेवामा छन् ।


सहयोगी दाताहरुले जन्मदिन, विवाह बर्षगाँठ, संस्थाको बार्षिकोत्सव, ब्रतबन्ध, छोराछोरीको न्वारन, पास्नी, विभिन्न चाडपर्वहरुमा खुसीयाली मनाउन साथै पितृहरुको सम्झना भोजन गराउन र स्वेच्छिक सहयोग गर्न आउने गरेको आश्रमले जनाएको छ ।


‘देशको आर्थिक अवस्था वा जनमानसलाई नेपालगन्ज शाखाको सेवाको बारेमा जानकारी कम भएकाले होला सहयोगी दाताहरु आश्रममा आउने क्रम घट्दो छ,’ आश्रमले जारी सन्देशमा भनेको छ । ‘जसको सिधा असर आश्रितहरुमा नपरोस भनेर नेपालगन्जका घर घर पसल पसलमा मुठ्ठीदान संकलन गर्न सुरु गरेका हौं,’ मानवसेवा आश्रम नेपालगन्ज बाँके शाखाका संयोजक उर्विन सापकोटाले भनेका छन् ।


सडकपेटी र सार्वजनिक स्थलहरुमा अत्यन्तै कष्टपुर्ण, दयनीय एवं पीडादायी जीवनयापन गर्न विवश सहयोगापेक्षी (बेवारिसे, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर) सडकआश्रित मानवहरुको वि.स २०६९ साल भाद्र १३ गतेदेखि उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन र पुनर्मिलन हुन नसकेकाहरुको लौरी स्वरुपको सहारा बनेर लालनपालन, औषधोपचार र संरक्षण गर्दै आइरहेको विशुद्ध परोपकारी सामाजिक संस्था हो । अहिले संस्थाको १९ जिल्लामा २३ शाखा केन्द्र भएर मानविय सेवालाई अगाडी बढाई रहेको छ ।


सिंगो नेपाल राष्टलाई नै सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने अभिष्ट राखी मानवसेवा आश्रमले सडकमानवहरुको मानवोचित व्यवस्थापनका निम्ति २०७९ बैशाख १ गतेबाट आदर्शनगर, सुर्खेत रोड नेपालगन्ज उप–महानगरपालिकाको वडा नं १० मा घर भाँडामा लिई सेवा सञ्चालन गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया