राप्ती सोनारीमा विकास निर्माणका करोडौंको काम: राजश्व संकलन खोइ ?

हेमन्त चौधरी


प्राकृतिक स्रोतका लागि निकै समृद्ध मानिएको बाँकेको राप्ती सोनारी गाउँपालिकामा राजश्व संकलनमा निकै समस्या देखिएको छ । राप्ती सोनारीको विभिन्न स्थानमा विकास निर्माणका काम धमाधम भइरहेपनि त्यसको अनुपातमा राजस्व रकम असुली नभएको हो ।


पालिकाका अनुसार, राप्ती सोनारी वडा न. ३ मा मात्रै झण्डै साढे ६ करोड बढिको तटबन्धको काम भइरहेको छ । यहि असारसम्म काम सक्ने भनिए पनि त्यसको राजश्व संकलन भने निकै न्यून छ । सरोकार वाला निकायलाई यो बिषयमा प्रश्न गर्दा एक अर्कालाई दोषारोपण गर्ने काम गर्ने गरेका छन् ।


राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले राजश्व नतिर्ने ठेकेदार र सरोकारवाला सबैको काम रोक्ने चेतावनी दिएका छन् । विकास निर्माण हुने राम्रो कुरा भएको बताउँदै अध्यक्ष पौडेलले राज्यलाई आउनु पर्ने राजश्व पनि समयमा आउनु पर्ने प्रतिक्रिया दिए ।

‘पालिकाबाटै यहाँ सञ्चालन भइरहेका योजनाका ठेकेदारले ढुंगा गिट्टी बालुवाको राजश्व नतिरे भुक्तानी रोक्दैछौं,’ पौडेलले दैनिक नेपालगन्जसँग भने, ‘संघ र प्रदेशको लगानीमा भएको योजनामा राजश्व दिनका लागी सम्वन्धित कार्यालयमा पत्राचार गरेको छौं आशा छ, राजश्व उठ्छ ।’


वडा न. ३ को गलावाजमा झण्डै ४ करोडको बजेटमा वली विल्र्डसले तटबन्धको काम गरिरहेको छ । सिनावाज गाउँमा भाग्य लक्ष्मीजेभीले ३ करोड १५ लाखमा तटबन्धको काम गरिरहेको छ । राज्यको नियम अनुसार, राजश्व प्रति घनफिट बराबर ८ रुपैयाँ भ्याट छुट्टै गरेर ट्याक्टरको प्रति ट्रली १ हजार ९५ रुपैयाँ राजश्व पर्न जान्छ ।


अहिले सम्म वली विल्र्डसले १ लाख रकम मात्रै वडा कार्यालयमा वुझाएको वडा न. ३ को वडा अध्यक्ष मिन कुमार चौधरीले जानकारी दिए । उनका अनुसार, भाग्य लक्ष्मीले राजश्व रकम दिएको छैन । राप्ती सोनारीमा यी दुई योजनाको ढुंगाको मात्रै झण्डै १७ लाख माथीको राजश्व उठ्छ ।


त्यसबारे वली विल्र्डस्का संचालक भुपाल वलीले क्रमश राजश्व तिरिरहेको दावी गरे । यता भाग्य लक्ष्मी जेभीका साईड हेर्ने प्रतिनिधि राम बहादुर चौधरीले यस क्षेत्रको बस्ती जोगाउन छोटो समयमा काम सक्काउने दावा गर्दै राजश्व तिर्ने काम आफुहरुको नरहेको जनाए ।


राजस्व तथा अनुगमन समिति संयोजक तथा राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिसा सिंह थारुले नियमीत अनुगमन गरिरहेको बताउँदै राजश्व वुझाउनका लागी बारम्बार ताकेता गरिरहेको बताएकी छन् ।

प्रतिक्रिया

प्रतिक्रिया