भ्रष्टाचार बिरुद्ध खबरदारी सभा

नेपालगन्जमा आइतवार साँझ ‘भ्रष्टाचार बिरुद्ध खबरदारी सभा’ आयोजना गरिएको छ ।


भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजनामा नेपालगन्जको बिपि चोकमा उक्त खबरदारी सभा गरिएको हो ।


‘भ्रष्टाचार बिरुद्ध जागौं अभियान’ अन्तरगत जिल्ला स्थित विभिन्न निकाय तथा संघसंस्थाहरुका प्रतिनिधि, युवा, बिद्यार्थीहरुको सहभागितामा गरिएको खबरदारी सभामा सहभागीले नेपालमा फष्टाइरहेको भ्रष्टाचार र त्यसले देशलाई पारेको असरका बिषयमा धारणा राखे ।


देशमा राजनितिक नेतृत्व भ्रष्टाचारमा लिप्त हुनु र सरकारले भ्रष्टाचारीलाई कारवाही गर्न नसक्नुको परिणाम यस्तो समस्या सिर्जना भएको सहभागीहरुको भनाइ थियो ।


त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक रुद्र प्रसाद तिमिल्सिनाले भ्रष्टहरुको कुनै पनि जात नहुने र भ्रष्टाचार रोग भएकाले रोगलाई जति पाल्यो उती त्यसले गलाउदै लैजाने बताए ।


बासका संस्थापक सल्लाहकारसमेत रहेका तिमिल्सिनाले सरकारले भ्रष्टाचारीलाई कुनै पनि हालतमा संरक्षण गर्न नहुने धारणा राखे ।


गैसस महासंघका केन्द्रीय सदस्य तथा बासका कार्यकारी निर्देशक नमस्कार शाहले भ्रष्टाचारीहरुका कारण विश्वमान चित्रमा मुलुक बदनाम भएको भन्दै चिन्ता गरे । उनले राजनीतिक नेतृत्व र सरकारको उदासिनताका कारण आम नागरिक भ्रष्टाचार बिरुद्ध सडकमा उत्रिनु परेको जनाए ।


कार्यक्रममा हरित अभियन्त हेमन्तराज काफ्लेले देश चलाउछु भन्दै सदनमा जानेहरुको कालो कर्तुत नेपाली जनताले थाहा पाइसकेको भन्दै भ्रष्टाचारीलाई सामाजिक रुपमा बहिष्कार गर्न आव्हान गरे ।
उद्यमी दिला शाहले देशलाई लुटेर ब्यक्तिगत लाभ हासिल गर्ने बिरुद्ध सबै लाग्नुपर्ने बताइन् ।


बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको खवरदारी सभामा अधिकारकर्मी आलम खानले पनि आफ्ना धारणा राखेका थिए ।


बासले देशका ७७ वटै जिल्ला शाखामार्फत भ्रष्टाचार बिरुद्ध खवरदारी सभा आयोजना गर्न लागिरहेको केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया