ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय, नेपालगन्जले अन्तर्राष्ट्रिय नर्सिंग दिवसको उत्सवमय कार्यक्रम आयोजना गरेको छ ।
नर्सिङ क्षेत्रका प्रतिनिधिमूलक सहभागितामा ब्रह्माकुमारीज, नेपालगन्जमा ‘सकारात्मक परिवर्तनद्वारा खुशीयाली जीवन’ विषयक स्नेह मिलन एवं अभिप्रेरणा कार्यक्रम गरि उत्सवमय नर्सिङ दिवस मनाइएको हो ।
संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा शुक्रवार भएको कार्यक्रममा प्रदेश सांसद कृष्ण के. सी. (नमुना), भेरी अस्पताल, नेपालगन्जका प्रमुख नर्सिंग प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ, नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल, नेपालगन्जका मेट्रोन ममता शर्मा, नेपालगन्ज नर्सिंग क्याम्पसका प्रमुख तुलसा सुनारले विषयगत धारणा राखेका थिए ।
त्यस्तै, मानव संसाधन विकास केन्द्र, सुर्खेतका वरिष्ठ नर्सिंग अधिकृत पदमा देवकोटा, नर्सिंग संघ बाँकेका कार्यवाहक अध्यक्ष तारा आचार्य, वेस्टर्न अस्पतालका नर्सिंग प्रमुख पार्वती शर्माले पनि प्रतिनिधित्व गरेको कार्यक्रममा ‘सकारात्मक परिवर्तनद्वारा खुशीयाली जीवन’बारे प्रस्तुतिकरण गरिएको थियो ।
कार्यक्रममा संस्थाका क्षेत्रीय कार्यालय नेपालगन्जका क्षेत्रीय उपप्रमुख मोटिवेशनल एण्ड राजयोग प्रशिक्षिका ब्रह्माकुमारी मुनाले ‘सकारात्मक परिवर्तनद्वारा खुशीयाली जीवन’ विषय अन्तर्गत सहजकर्ताको भूमिका निर्वाह गरिन् । संस्थाका छिन्चु, सुर्खेत उपसेवाकेन्द्रका प्रमुख राजयोग प्रशिक्षिका ब्र.कु.आरतीले नर्सिंग बीईंग फर.सेल्फ बारे उत्साहवर्धक प्रस्तुति दिइन् ।
राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीले जीवनमा ठूलो सम्पत्ति भनेको खुशी नै भएकाले हरेक परिस्थितिलाई सकारात्मक सोंच्दै ओठमा मुस्कान ल्याउन सुझाव दिइन् ।
ब्र.कु.कृष्ण ब.रानाभाटद्वारा स्वागत सहित कविता वाचन, कुमारी नयनाले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् । अन्तर्राष्ट्रिय नर्सिंग दिवसको उपलक्ष्यमा संस्थाले सुर्खेत र कोहलपुरमा पनि नर्सिंग स्वास्थ्यकर्मीहरुहरुका लागि अभिप्रेरणा गरिएको संस्थाका क्षेत्री सचिव रानाभाटले जानकारी दिए ।