आर्थिक क्षेत्र समस्यामा रहेको भन्दै पछिल्लो समय बैंकको ब्याजदर, घरभाडा घटाइनु पर्ने माग उद्योगी, व्यवसायीबाट हुँदै आएको छ । व्यवसाय नचल्दा घरभाडा तिर्ने, बैंकको साँवा किस्ता तिर्न नसक्ने अवस्था रहेको भन्दै पटकपटक व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । घरभाडा घटाउन ध्यानाकर्षण गराएका व्यवसायीहरूले व्यवसायीहरू पलायन भैरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपालगन्जमै मुख्य व्यवसायिक क्षेत्रमा सटरहरू खाली भएको देख्न सकिन्छ । पछिल्लो समय ठूला र मध्य मात्रै नभई स्वरोजगार तथा श्रमिकमा पनि त्यसको प्रभाव परेको छ । समस्यामा रहेका सहकारीले स–सानो बचत समेत फिर्ता गर्न नसक्दा उनीहरूको समस्या झनै थपेको छ ।
‘कोरोनाका बेला र त्यसपछि चलिरहेको व्यवसाय अहिले एक्कासी घटेपछि भाडा तिर्न नै समस्या हुने देखियो’, फुल्टेक्रामा किराना व्यवसाय सञ्चालन गर्ने रमेश चौधरीले भने, ‘त्यसपछि सस्तो सटर भाडामा लिएर पसल सारे ।’ उनले पसलमा बिक्री निकै घटेको बताए । ‘पहिले जस्तो व्यापार नभएपछि पहिले जसरी भाडा तिर्न सक्ने अवस्था भएन, पसल सारे’, चौधरी भन्छन् ।
चौधरी मात्रै होइन सागर थापा पनि सोही प्रकृतिको गुनासो सुनाउँछन् । उनी मालिक र श्रमिक आफु नै भएको बताउँदै व्यवसाय पहिले जस्तो नरहेको बताउँछन् । ‘व्यवसाय निकै घटेको छ अहिले’, होटल व्यवसायी उनी भन्छन्, ‘त्यसैले थप लगानी गर्ने, कर्मचारी राख्ने सोंचबाट अहिले पछि हटेको छु ।’
ठूला तथा मध्यम उद्योगी व्यवसायी समस्यामा परेपछि कर्मचारी कटौती गरेको, कर्मचारीलाई तलब दिन नसकी सम्पर्कमै नआउने गरेको गुनासो समेत विगतमा आयो । ‘कोरोनाकाल पछि काम गरेको तलब बाँकी छ, व्यवसाय बन्द गरेका मालिक जे गर दिन्न भन्छन्, घर कसरी चलाउने’, एक निजी प्रतिष्ठानमा काम गर्ने कर्मचारीले भने, ‘अब तलबका लागि श्रम कार्यालयमा उजुरी दिने तयारीमा छु ।’
ठेलामा फलफुल बिक्री गर्ने रमजान सिद्दिकी पनि व्यवसाय घटेकोमा चिन्तित छन् । उनी भन्छन्, ‘फलफुल हो दुई दिन नबिने सड्छ, बिक्री निकै घटेको छ ।’ डोरी काटेर बिक्री गर्दै आएका जेके सिद्दिकीले पनि पहिले जस्तो व्यवसाय नरहेको बताउँछन् ।
पछिल्लो समय कार किनेर भाडामा सञ्चालन गर्ने हुन् वा नास्ता पसल सञ्चालन गर्ने अथवा इरिक्सा चलाउने, मजदुरी गर्ने सबैले अवस्था पहिले जस्तो नरहेको बताउँछन् । सबैको ग्ुनासो यही रहन्छन्, ‘ग्राहक, सेवाग्राही नै आउँदैनन् ।’ निर्माण व्यवसायीलाई घर बनाउन प्रयोग हुने मालसामानको भाडामा आपूर्ति गर्दै आएका एक व्यवसायीले आफ्नो पसलमा थन्किएको मालसामान देखाउँदै मालसामान भाडामा जान छाडेको सुनाए ।
भाडाको इरिक्सा चलाउने रमेश गुप्ता दैनिक ५÷६ सय भाडा तिर्नुपर्ने उल्लेख गर्दै कुनै दिन भाडा तिर्ने अवस्था नरहने बताए । ‘बजारमा इरिक्सा थुप्रिएका छन्, एउटा सवारी इरिक्सामा बसेको छ भने अर्को बस्दिदैन, एउटा सवारी लिएर हिडिरहने हो भने ब्याष्ट्रिले थेग्दैन’, गुप्ताले भने ।
अर्को तर्फ काम नै नपाउने र पाए ज्याला पनि घटेको गुनासो छ । रामलीला मैदानमा हरेक विहान कामका लागि भेला हुने मजदुरहरूले कामका लागि मजदुर लिन आउनेहरूको संख्या कम हुँदा मागे अनुसारको ज्यान पाउन छाडेको बताउँछन् । ‘खान समेत लिएर एकाविहानै गयो, काम नपाउने स्थितिमा बार्गेनिङ्ग गरेर थोरैमा पनि काम गर्नुपर्ने अवस्था छ’, गंगाराम कुर्मीले भने, ‘पहिले जस्तो काम पाइन छाडेको छ ।’ उनले हाल निर्माणको काम बढी हु्ने समयमा समेत काम पाउन समस्या हुने स्थिति रहेको बताए । ‘मजदुरी नै कम हुन थालेपछि कतिपय त रामलीला मैदान आउन नै छाड्नु भएको छ, कोही अझै पनि त्रिभुवन चोक पुगेर केही बेर काम पाइन्छ कि भनेर कुर्ने गर्नुहुन्छ’, उनले भने ।
खेतमा स–सानो परिणाममा तरकारी उत्पादन गरी बेच्ने किसान पछि आफ्ना उत्पादन बिक्री नभएको चिन्तित छन् । खासगरी पछिल्लो समय नेपाली बजार भारतीय टमाटर ओगटेपछि यहाँका किसानको टमाटर बिक्री नहुने गरेको किसानहरूले गुनासो गर्दै आएका छन् ।