मुख्यमन्त्री चौधरीलाई विश्वासको मत

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत पाएका हुन् ।


प्रदेश सभाको पहिलो अधिवेशनको दशौँ बैठकमा मुख्यमन्त्री चौधरीले ५३ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा २९ मतमात्रै परेका छ । नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेश सभामा विश्वासको मत मागेका हुन् ।


त्यसअघि विश्वासको मत माग्दै सम्बोधनका क्रममा मुख्यमन्त्री चौधरीले प्रदेशका नागरिकको जीवनस्तर सुधार गर्न आर्थिक समृद्धिको लागि प्रतिपक्षसँग पनि सहकार्य गरिने बताए ।’

यहीँ संसदबाट आशा र विश्वास दिलाउनेगरी काम गर्नुपर्ने छ, केन्द्र सरकार संघ अधिकार प्राप्तिको लागि हामी सबैसँगै हिँड्नुपर्ने छ । सँगै हिँड्ने वातावरण निर्माण गर्छुँ’ उनले भने ।


नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।


मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संविधानमा उल्लेख छ । मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेपछि सरकारलाई पूर्णता दिने बताउँदै आएका छन् ।


अहिलेको मन्त्रीपरिषदमा सहभागी मन्त्रीले जिम्मेवारी पाएका छैनन् । विश्वासको मत पाएकाले अब मन्त्रीहरूको जिम्मेवारी समेत तोकिने छ । नेकपा माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, नागरिक उन्मुक्ती पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन् ।

मंगलबार विश्वासको मतको विपक्षमा रहने एमालेका २९ सांसद मात्रै रहेका छन् । नयाँ गठबन्धनमा नरहेको राप्रपाका ४ सांसद रहेपनि उनीहरुले कतै मत दिएनन् ।

मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणासँगै सभामुख घर्तीले प्रदेश सभाको दशौं बैठक सकिएको र ११ औं बैठक सूचनामार्फत जानकारी गराउने जनाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया