के गर्दैछन् बैंक ? सामाजिक उत्तरदायित्वमा प्रश्न

सामाजिक रुपमा स्थानीयप्रति अनुदार बैंकहरुको सामाजिक उत्तरदायित्वमा प्रश्न उठाइएको छ । कानुनी व्यवस्थालेनै उत्तरदायित्वको व्यवस्था गरेपनि स्थानीयप्रति अनुदार बैंक तथा वित्तीय संस्थाप्रति प्रश्न उठाइएको हो ।


त्यसका लागि बाँके जिल्लामा कार्यरत ३७ वटा बित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वका क्षेत्रमा गरेका काममा जानकारीको खोजी गर्दै नेपालगन्जका सामाजिक क्षेत्रमा क्रियाशील युवाहरुले सूचना माग गरेका छन् । मुनाफाको कम्तिमा वार्षिक १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्वन्धित कार्यमा खर्च गर्नु पर्ने कानुनी व्यवस्था पालना भएनभएको खोजीका लागि सूचना माग गरिएको हो ।


नेपालगन्जका– १२ निवासी नमस्कार शाह, मन भण्डारी, नेपालगन्ज– १० निवासी हेमराज भट्ट, रबिन्द्र बोहरा र शुद्ध चौधरीले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम संयुक्त रुपमा विभिन्न बैंक तथा वित्तीय संस्थासंग सूचना माग गर्दै २२ वटा सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित बैंक, ९ वटा बिकास बैंक र ६ वटा फाइनान्समा निवेदन दर्ता गरेका हुन् ।


‘प्राप्त सूचनाका आधारमा उनीहरुलाई सामाजिक उत्तरदायित्वमा जिम्मेवार बनाउने पहल गर्न खोजिएको हो,’ सामाजिक क्षेत्रमा क्रियाशील युवा अभियन्ता नमस्कार शाहले दैनिक नेपालगन्जसँग भने, ‘निकै कमजोर अवस्था छ, यसलाई नजरअन्दाज गर्न सकिन्न ।’


बाँके स्थित शाखाबाट गत आर्थिक बर्ष २०७८/२०७९ मा संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्वन्धित खर्च माग माग गरेका उनीहरुले चालु आ.ब. २०७९/२०८० को श्रावण देखि हालसम्म संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै गरिएको खर्च बिबरण माग गरेको बताएका छन् । त्यसक्रममा उनीहरुले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्वन्धित आगामी योजना समेत माग गरेको शाहले बताए ।


सूचना मागकर्ताहरु बास नेपालका अभियन्ता हुन् । बासका सुचना अधिकारी हेमराज भट्टले दिएको जानकारी अनुसार, नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक, कृषि बिकास बैंक जस्ता सरकारी स्वामित्वका बैंकसँग सूचना माग गरिएको छ ।


स्टाण्डर्ट चार्टड बैंक, एआईबिएल बैंक, हिमालय बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, सिटिजन बैंक, प्राइम कमर्सियल बैंक, सनराइज बैंक, मेगा इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, माछापुछ्रे बैंक, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, प्रभु बैंकसहितका वाणिज्य बैंकको सामाजिक उत्तरदायित्वका काम सूचना माग गरिएको छ ।


त्यस्तै, कर्णाली बिकास बैंक, मुक्तिनाथ बिकास बैंक, सांग्रिला बिकास बैंक, सिने रेसुंगा बिकास बैंक, ज्योती बिकास बैंक, गरिमा बिकास बैंक, लुम्विनी बिकास बैंक, कामना सेवा बिकास बैंक, महालक्ष्मी बिकास बैंक जस्ता विकास बैंक तथा पोखरा फाइनान्स, गुराँस फाइनान्स, बेस्ट फाइनान्स, गुडविल फाइनान्स, रिलाइन्स फाइनान्स र मञ्जुश्री फाइनान्ससँग सूचना माग गरिएको बासले दिएको जानकारीमा उल्लेख छ ।

‘कतिपयले रक्तदान गरेर जिम्मेवारी निर्वाह गरेको प्रतिवेदन पेश गरेको पाइन्छ,’ सूचना मागकर्ता शाहले भने, ‘कति खर्च हुन्छ होला रक्तदान आयोजना गर्दा ? केवल झारा टार्ने काम भइरहेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया