राजतन्त्रको वकालतमा नेपालगन्जलाई मुकाम बनाउँदै पूर्वराजा

राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएकाहरूको पृष्ठपोषण गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज आउने भएका छन् ।


बैशाखको दोस्रो साता नेपालगन्ज आइपुग्ने निश्चित भएका पूर्व राजाको भ्रमण व्यवस्थापनका लागि उनको निजी सचिवालय यतिबेला पूर्व तयारीमा सक्रिय भएको हो ।


निजी सचिव सागर तिमिल्सिनाको नेतृत्वमा तत्कालीन राज दरबारका कर्मचारीहरूको टोलीले पूर्व राजाको नेपालगन्ज बसाईलाई आवश्यक सम्पूर्ण तयारी गरेपछि भ्रमणको निश्चित गरिएको हो ।


सम्बद्ध स्रोतका अनुसार, त्यसका लागि तिमिल्सिना धनगढी हुँदै नेपालगन्ज आइपुगेका छन् । नेपालगन्जमा सोमबार राजतन्त्र समर्थकहरूका विभिन्न समूहसँग छुटाछुट्टै र समूहगत भेटघाट गरेका तिमिल्सिनाले बैशाख १६ गतेदेखि झण्डै एक महिनाका लागि होटल सोल्टीमा पूर्व राजाको टोली बस्ने व्यवस्था मिलाएका छन् ।


‘यहीबाट मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका शक्तिपिठ भ्रमण, नागरिक अभिनन्दनको ग्रहण र भेटघाटको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ’, स्रोतले दैनिक नेपालगन्जसँग भन्यो, ‘औपचारिक तालिका पत्रकार सम्मेलन गरी तत्तत् सम्बद्धहरूले सार्वजनिक गर्ने भएकाले यसबारे दरबार बोल्दैन ।’


केही समयअघि पूर्वाञ्चलको भ्रमणमा रहेका पूर्व राजा झापा पुगेर ‘टुर मुकाम’ बनाएका थिए । दमकमै पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री डा. धवल समशेर राणा लगायतले पूर्व राजासँग भेटघाट, छलफल गरेपछि नेपालगन्ज टुर मुकाम बनाएर मध्य र सुदूरपश्चिमको बनाइएको थियो ।


संसदले नै हिन्दु राष्ट्र पुनस्र्थापन गर्नुपर्ने कुरालाई औपचारिक वकालत गर्दै आएका प्रतिनिधि सभा सदस्य डा. राणाकै नेतृत्वमा आगामी बैशाख २० गते बुधबार पूर्व राजा ज्ञानेन्द्रलाई नेपालगन्जमा अभिनन्दन तय गरिएको छ ।

त्यसका लागि सोमबार निजी सचिव तिमिल्सिनाकै प्रमुख आतिथ्यतामा भेला आयोजना गरेका राजतन्त्र पक्षधरहरूले डा. राणाको संयोजकत्वमा ‘नागरिक अभिनन्दन मूल समारोह’ घोषणा गरे ।


‘कम्तीमा १ लाख नागरिकले राजालाई नेपालगन्जमा अभिनन्दन गर्ने गरी तयारी अगाडि बढाइएको छ’, डा. राणाले दैनिक नेपालगन्जसँग भने, ‘यो नितान्त राजनीतिक दल वा विचार भन्दा माथि उठेर नागरिक स्तरमा जनताले गर्ने अभिनन्दन हो ।’ त्यसबीच पूर्व राजा ज्ञानेन्द्र १७ गते जुम्ला जाँदैछन् । जहाँ मन्दिर दर्शनदेखि ‘नागरिक अभिनन्दन’ सम्मका कार्यक्रम गरिनेछ ।


त्यसपछि सुर्खेत र दाङ्ग पुग्ने पूर्व ज्ञानेन्द्रको कार्यतालिकामा धनगढी लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका मन्दिर दर्शन र ‘नागरिक परामर्श तथा अभिनन्दन’ सम्मका कार्यक्रम तय गरिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया