आज: विश्व उपभोक्ता अधिकार दिवस
देवीलाल चौलागाईं
“स्वच्छ उर्जा मार्फत उपभोक्ता सशक्तीकरण” भन्ने नाराका साथ आज नेपाल सहित विश्वभर उपभोक्ता अधिकार दिवस मनाईंदै छ l १५ मार्च १९६५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको उपभोक्ता हित सँग सम्बन्धित सुरक्षा, सुचना, छनौट र सुनुवाईलाई उपभोक्ताका अधिकारका रुपमा घोषणा गरिएको सम्झनामा विश्वभर मार्च १५ मा यो दिवस मनाउन थालिएको हो l
को उपभोक्ता हो, को होइन भन्ने विषयमा बहसको जरुरी छैन l यो संसारमा रहेका हरेक मानिस उपभोक्ता हो l अझ भन्ने हो भने मानिस मात्र होइन हरेक प्राणि पनि उपभोक्ता हो र वनस्पति समेत उपभोक्ता हो l हरेक जीवन एउटा उपभोक्ता हो l हरेक जीवनले जीवत रहनको लागि कुनै न कुनै वस्तु वा सेवाको उपभोग गर्नैपर्ने हुन्छ l तर यति हुँदाहुँदै पनि उपभोक्ता अधिकार र हकहितको विषय ओझेलमा परेको छ l उपभोक्ता अधिकार र हकहितको बारेमा त्यत्ति साह्रो बहस र छलफल भएको सुनिंदैन l हामि कत्तिलाई त उपभोक्ता अधिकार र कानुनका बारेमा जानकारी पनि छैन l
जानकारी मात्र होइन उपभोक्ता अधिकार र हकहितको विषयमा जुनरुपमा छलफल र बहस हुनुपर्थ्यो त्यस रुपमा समेत छलफल, बहस र चर्चा हुन सकिरहेको छैन l आम नागरिकको दैनिक जनजीवन संग जोडिएको र प्रत्यक्ष प्रभाव पार्ने यस विषयमा पर्याप्त छलफल, बहस र चर्चा, परिचर्चा हुन जरुरी छ l एउटा उपभोक्ता सचेत हुन् सकेन भने उसले गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्न सक्छ भन्ने कुरा सुनिश्चित हुन सक्दैन l
नेपालको संविधान – २०७२ ले नै उपभोक्ता अधिकारको विषयमा महत्वपूर्ण व्यवस्था गरेको छ l उपभोक्ताको हकलाइ संविधानको मौलिक हक अन्तरगत संविधानको धारा ४४ (१) मा राखिएको छ र “प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ” भन्ने उल्लेख गरिएको छ , भने धारा ४४ (२) मा “गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ” भनेर क्षतिपूर्तिको अधिकार समेत सुनिश्चित गरिएको छ ।
त्यसैगरी राज्यका नीतिहरु अन्तर्गत संविधानको धारा ५१ (घ) (७) मा “कालोबजारी, एकाधिकार, कृत्रिम अभाव सिर्जना गर्ने र प्रतिस्पर्धा नियन्त्रणजस्ता कार्यको अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने” भनिएको छ । संविधानको मौलिक अन्तर्गत धारा ३६ मा खाद्य सम्बन्धि हकको व्यवस्था गरिएको छ l जसमा “प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुने, प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हकका साथै प्रत्येक नागरिकलाई खाद्य सम्प्रभुताको हक हुनेछ” भनिएको छ l
यसरी देशको मूल कानुन संविधानमा नै उपभोक्ताको हक, हित र अधिकारको विषयमा स्पष्ट रुपमा महत्वपूर्ण व्यवस्थाहरु गरिएको छ l उपभोक्ताको अधिकारको विषय संविधानमा मात्र होइन त्यसको व्यावहारिक कार्यान्वयनका लागि सरकारले पुरानो उपभोक्ता संरक्षण ऐन २०५४ खारेज गरी नयाँ “उपभोक्ता संरक्षण ऐन २०७५” जारी गरी कार्यान्वयनमा ल्याइएको छ l “गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण तथा सम्वर्द्वन गर्न, उपभोक्तालाई प्राप्त हकको प्रचलनका लागि न्यायिक उपचार प्रदान गर्न र उपभोक्तालाई हुन सक्ने हानि, नोक्सानी बापत क्षतिपूर्ति उपलब्ध गराउन” भनेर २०७५ असोज २ गते प्रमाणीकरण गरिएको “उपभोक्ता संरक्षण ऐन – २०७५” को प्रस्तावनामै उल्लेख गरिएको छ l
यसमा उपभोक्ताको हक, हित, अधिकार र कानुनि उपचार लगायतका विषयमा वृस्तृत रुपमा व्यवस्था गरिएको छ l “उपभोक्ता संरक्षण ऐन – २०७५” मा उपभोक्ताको अधिकार अन्तर्गत प्रत्येक उपभोक्तालाई “वस्तु वा सेवामा सहज पहुँचको अधिकार, स्वच्छ प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय वस्तु वा सेवाको छनौट गर्न पाउने अधिकार, वस्तु वा सेवाको मूल्य, परिमाण, शुद्धता, गुणस्तर आदि बारे सूचित हुने अधिकार, दुई वा दुईभन्दा बढी पदार्थको समिश्रणबाट बनेको वा उत्पादित वस्तुमा रहेका त्यस्ता पदार्थको मात्रा, तत्व वा प्रतिशतको सम्बन्धमा उत्पादक, पैठारीकर्ता वा बिक्रेताबाट जानकारी पाउने अधिकार, मानव जीउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानि पुर्याउने वस्तु तथा सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार, अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप विरुद्ध उचित कानूनी कारबाही गराउन पाउने अधिकार, वस्तु वा सेवाको प्रयोगबाट भएको हानि, नोक्सानी विरुद्ध क्षतिपूर्ति पाउने अधिकार, उपभोक्ताको हक, हितको संरक्षणका सम्बन्धमा अधिकारप्राप्त अधिकारी वा निकायबाट उपचार पाउने वा सुनुवाई हुने अधिकार र उपभोक्ता शिक्षा पाउने अधिकारको व्यवस्था गरिएको छ ।
यस ऐनमा उपभोक्तालाइ क्षतिपूर्तिको व्यवस्था पनि गरिएको छ l कुनै वस्तु वा सेवा बिक्री वितरण वा प्रदान गरेको कारणबाट कुनै उपभोक्ता घाइते भएमा उपचार खर्च, उपचार अवधिभर पारिवारिक स्थिति अनुसार दैनिक गुजाराका लागि आवश्यक पर्ने अन्तरिम राहत रकम र क्षतिपूर्तिको निमित्त परेको उजुरी उपर छानबिन गर्दा उपभोक्तालाई हानि, नोक्सानी पुग्न गएको ठहर भएमा त्यस्तो हानि नोक्सानीको आधारमा सम्बन्धित उत्पादक, पैठारीकर्ता, सञ्चयकर्ता, ढुवानीकर्ता, वितरक वा बिक्रेताबाट क्षतिपूर्ति बापतको रकम उपभोक्ता वा निजको मृत्यु भइसकेको भए कानून बमोजिमको हकवालाले पाउने व्यवस्था गरिएको छ ।
त्यसरी उपभोक्ताले क्षतिपूर्ति पाउने रकम निर्धारण गर्दा पीडित व्यक्तिलाई पर्न गएको शारीरिक वा मानसिक कष्ट वा पीडा र त्यसको गम्भीरता, उपचार हुनसक्ने किसिमको क्षति भएकोमा उपचार गराउन लाग्ने अनुमानित खर्च, शारीरिक वा मानसिक क्षतिको कारण पीडित व्यक्तिको आय आर्जन गर्ने क्षमतामा हुन गएको ह्रास, उपचार हुन नसक्ने किसिमको शारीरिक वा मानसिक क्षति पुगेकोमा पीडित व्यक्तिको उमेर र निजको पारिवारिक दायित्व, पिडितको मृत्यु भएकोमा निजको आम्दानीमा आश्रित निजको परिवारका सदस्यको सङ्ख्या र निजहरूको जीविकोपार्जनको निमित्त आवश्यक पर्ने न्यूनतम खर्च, पीडित व्यक्तिले दाबी गरेका कुरामध्ये उचित र उपयुक्त देखिएका अन्य कुरा र उत्पादकर्ता, पैठारीकर्ता, सञ्चयकर्ता, बिक्रेता एवं सेवा प्रदायकको आर्थिक तथा व्यवसायको स्थिति समेतलाइ ध्यान दिनु पर्ने भनिएको छ l
यस ऐनमा उपभोक्ताको हक, हित र अधिकारका साथै उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, बिक्रेता एवं सेवा प्रदायकको दायित्व एवं शर्त समेत तोकिएको छ l उत्पादकले वस्तु वा सेवा उत्पादन गर्दा “प्रचलित कानून बमोजिम पूरा गर्नु पर्ने दायित्वको अतिरिक्त गुणस्तरीय वस्तु वा सेवा उत्पादन गर्ने, वस्तुको लेबल निर्धारण गर्ने, त्रुटिपूर्ण उत्पादन नगर्ने, आफूले उत्पादन गरेको वस्तु त्रुटिपूर्ण उत्पादन भई त्यस्तो वस्तु बजारमा रहेको कुरा जानकारीमा आएमा त्यस्तो वस्तु सङ्कलन गरी नष्ट गर्ने, वस्तु वा सेवाको उत्पादनका कारण उपभोक्तालाई कुनै किसिमको क्षति भएमा सोको मनासिब क्षतिपूर्ति दिने, वस्तु वा सेवाको गलत वा भ्रामक विज्ञापन वा प्रचार प्रसार नगर्ने र दुई वा दुईभन्दा बढी पदार्थको समिश्रणबाट बनेको वा उत्पादित वस्तुमा रहेका त्यस्ता पदार्थको मात्रा, तत्व वा प्रतिशतको उपभोक्तालाई जानकारी दिनु पर्ने” लगायतका शर्तहरु पुरा गर्नु पर्ने उल्लेख गरिएको छ l
उल्लेखित शर्तहरु पूरा नगरेको वा कुनै वस्तुको उत्पादन, निर्माण, प्रशोधन, डिजाइन, सूत्र, तयारी, पैठारी, प्याकिङ्ग, लेबलिङ्गको क्रममा भएको कुनै त्रुटि, कमि कमजोरी (डिफेक्ट) को कारण त्यस्तो वस्तु वा सेवा उपभोग गर्दा कसैको जिउ, ज्यान, सम्पत्तिमा हानि नोक्सानी भएमा त्यस्तो हानि, नोक्सानी बापत त्यस्तो वस्तु वा सेवाको उत्पादक जिम्मेवार हुनेछ र त्यस बापत क्षतिपूर्ति दिने दायित्व पनि निजकै हुने व्यवस्था गरिएको छ l
त्यसैगरी पैठारीकर्ताको दायित्वमा “पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानून बमोजिम पूरा गर्नु पर्ने दायित्वको अतिरिक्त परल मूल्यभन्दा बढी वा फरक नपर्ने गरी पैठारी गर्नु पर्ने, सम्बन्धित निकाय वा अधिकारीले माग गरेको बखत पैठारी गरिएको वस्तु सम्बन्धी वस्तुको विवरण उपलब्ध गराउने, प्रचलित कानून बमोजिम पैठारी गर्न नपाइने वस्तु पैठारी नगर्ने, कुनै वस्तुको गुणस्तर वा प्रकृति बमोजिम अन्यथा व्यवस्था भएकोमा बाहेक पैठारी भएको मितिबाट छ महिनापछि उपभोग गर्न नहुने वा नसकिने वा त्यस्तो अवधि समाप्त भएपछि उपभोग गर्न नमिल्ने वस्तु पैठारी नगर्ने र कसैले लेबलमा उल्लेख गर्नुपर्ने कुरा उल्लेख नगरी वस्तु पैठारी गरेकोमा त्यस्तो वस्तुको प्रयोगबाट कसैलाई हानि, नोक्सानी हुन गएमा त्यस्तो हानि, नोक्सानी बापत पैठारीकर्ता जिम्मेवार हुने र त्यस बापत क्षतिपूर्ति दिने दायित्व पनि उसैको हुने व्यवस्था गरिएको छ l
ढुवानीकर्ताको दायित्व समेत तोकिएको यस ऐनमा “प्रचलित कानून बमोजिम पूरा गर्नुपर्ने अन्य दायित्वको अतिरिक्त ढुवानिकर्ताले ढुवानी गरिने वस्तुको प्रकृति अनुसार निर्धारित अवधिभित्र नै ढुवानी गर्नु पर्ने, ढुवानी गर्दा वस्तुको गुणस्तरमा ह्रास आउन नदिने, ढुवानी गर्दा तोकिए बमोजिम सुरक्षात्मक व्यवस्था तथा पालना गर्नु पर्ने शर्तहरू पूर्ण रूपमा पालन गर्ने एवं सम्बन्धित निकाय वा अधिकारीले माग गरेको बखत वस्तुको विवरण उपलब्ध गराउनु पर्ने” भनिएको छ l
त्यसैगरी वस्तुको सञ्चय गर्ने सञ्चयकर्ताले “प्रचलित कानून बमोजिम पूरा गर्नु पर्ने दायित्वको अतिरिक्त वस्तु सञ्चय गर्दा त्यस्ता वस्तुको प्रकृति अनुसार सतर्कता अपनाउने, वस्तुको किसिम वा प्रकृति अनुसार गुणस्तरमा ह्रास नआउने गरी तोकिए बमोजिम सुरक्षात्मक उपाय अपनाई सञ्चय गर्ने र वस्तुको गुणस्तरमा ह्रास आउने खालको कुनै काम नगर्ने, उत्पादकले उल्लेख गरेका वस्तुको लेबल वा विवरण फेरबदल नगर्ने,सम्बन्धित निकाय वा अधिकारीले माग गरेको बखत वस्तुको सञ्चयसँग सम्बन्धित वस्तुको विवरण उपलब्ध गराउने र तोकिएको सुरक्षात्मक उपाय अपनाउने” शर्तहरु पुरा गर्नुपर्ने छ l
माथि उल्लेख गरिएका उत्पादक, पैठारीकर्ता, संचयकर्ता र ढुवानिकर्ताहरु संग उपभोक्ताको प्रत्यक्ष सम्पर्क र सम्बन्ध नभएपनि कुनैपनि वस्तु उपभोक्ताको हात सम्म आइपुग्न यो शृंखला भने पुरा भएकै हुन्छ l उत्पादक, पैठारीकर्ता, संचयकर्ता र ढुवानिकर्ता सबैले आ-आफ्नो जिम्मेवारी राम्रोसंग निर्वाह गरेको खण्डमा मात्र कुनैपनि वस्तु उपभोक्ताको हातमा सहि रुपमा पर्न सक्छ l चार फेरो लाउँदा पनि उपभोक्ताको हातमा सोझै कुनै पनि वस्तु आइपुग्दैन l बिक्रेता मार्फत मात्र कुनैपनि वस्तु उपभोक्ताको हातमा आइपुग्छ l अब चर्चा गरौँ बिक्रेताले पुरा गर्नुपर्ने दायित्व र शर्तका बारेमा l
वस्तुको बिक्री गर्ने बिक्रेताले “प्रचलित कानून बमोजिम पूरा गर्नु पर्ने अन्य दायित्वको अतिरिक्त विना भेदभाव उपभोक्तालाई वस्तुको बिक्री गर्ने, वस्तुको किसिम वा प्रकृति अनुसार गुणस्तरमा ह्रास नआउने गरी सुरक्षित रूपमा राख्ने र सुरक्षित रूपमा बिक्री गर्ने, सर्वसाधारणले स्पष्ट रूपमा देख्ने बुझ्ने गरी वस्तुको मूल्य सूची राख्ने, सम्बन्धित निकाय वा पदाधिकारीले माग गरेका बखत आफूसँग रहेको वस्तुको मौज्दात वा विवरण उपलब्ध गराउने, वस्तुमा कुनै किसिमको ग्यारेन्टी वा वारेन्टीको व्यवस्था भएमा त्यस्तो व्यवस्थाको पालना गर्ने, पहिले आउने उपभोक्तालाई पहिले वस्तु बिक्री गर्ने र उपभोग्य वस्तु बिक्री गरेपछि त्यसको बिल वा रसीद दिने लगायतको दायित्व बिक्रेताले पुरा गर्नुपर्ने हुन्छ l
कानुनी रुपमा सबै व्यवस्था गरिएको भएपनि व्यावहारिक रुपमा सबै ठीकठाक हुन सकिरहेको छैन l यसो हुनुमा उत्पादक देखि बिक्रेता सम्म र नियामक निकाय देखि नागरिक सम्म सबैको धेरथोर दोष र कमजोरी देखिन्छ l उपभोक्ताको रुपमा हामी नागरिक पनि सचेत र जिम्मेवार हुन जरुरि छ l कम्तिमा मालसामान किन्दा उक्त वस्तुको लेबल हर्ने, जसबाट सो वस्तु म्याद नाघेको हो वा होइन सजिलै थाहा पाउन सकिन्छ l त्यसैगरी वस्तुको मुल्य हेर्ने जसबाट मुल्यमा ठगिनबाट जोगिन सकिन्छ l मिश्रण गरिएको मात्रा के कति छ र आफ्नो लागि सो वस्तु कत्तिको उपयोगी या हानिकारक हुनसक्छ भन्ने छनौट गर्न सजिलो हुनसक्छ l त्यसैगरी पसलमा टाँसीएको मुल्य सुची हेर्ने, बिल वा रसिद लिने जस्ता कामहरु मात्र गर्न सकियो भने पनि ठगिन वा झुक्किनबाट बच्न सकिन्छ l विश्व उपभोक्ता अधिकार दिवसको सबैमा हार्दिक शुभकामना l