चैत्र तेस्रो साता फोटोग्राफी समिट, सँगसँगै फेस्टिवल

नेपाल फोटोग्राफी समिट आगामी चैत्र २२ र २३ गते नेपालगन्जमा आयोजना गरिने तय भएको छ । त्यससँगसँगै तेस्रो नेपालगन्ज फोटो फेस्टिवल पनि घोषणा गरिएको छ ।


अन्तरालको आयोजना र व्यवस्थापनमा पहिलो पटक गर्न लागिएको समिटमा र नेपालगन्ज फोटो फेस्टिवलको तेस्रो संस्करणले चैत्रको तेस्रो साता नेपालगन्ज ‘तस्विर उत्सवमय’ बन्ने भएको छ ।


देशभरबाट १ सय ११ फोटो पत्रकारहरु र फोटोग्राफीमा स्वतन्त्र ढंगले सक्रियहरु सहभागी हुने समिट ‘फोटोग्राफीमा संलग्न अघिल्लो पुस्ता र नयाँ पुस्तालाई जोड्ने सेतु बन्ने’ अपेक्षा नेपालगन्ज फोटोग्राफी समिट आयोजक संस्था अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहको छ । उनले मंगलवार पत्रकारहरुसँगको छलफलमा आयोजनाको मिति घोषणा गर्दै भने, ‘रिलवाला क्यामेरा चलाएको पुस्तादेखि अहिलेको डिजिटल प्रविधि, गोप्रो हुँदैं ड्रोन चलाइरहेका पुस्ता एकै थलोमा भेला गर्दैछौं ।’


चैत २१ र २२ गते नेपालगन्ज फोटो फेस्टिवल तथा २२ र २३ गते समिट गरिंदैछ । फेस्टिवल अन्तर्गतको फोटो प्रतिस्पर्धामा देशभरबाट फोटो आव्हान गरिएको छ ।


सोमबार राती १२ बजे सम्म ९ वटा विधामा फोटोहरु सहभागिताका लागि आएको आयोजकले जनाएको छ । फोटोहरु छनोट गर्न वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा ३ सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ । सदस्यहरुमा फोटो पत्रकार क्लब क्लब(पिजे क्लब) का अध्यक्ष श्रुति श्रेष्ठ र वरिष्ठ फोटोग्राफर रमेश मल्ल रहेका छन् । मण्डलले छनोट कार्य मंगलवार देखि नै शुरु गरेको छ ।


‘हरेक विधाका उत्कृष्टलाई पुरस्कृत गरिनेछ भने सर्वोत्कृष्ट फोटोलाई वर्ष फोटो उपाधि सहित पुरस्कृत गरिनेछ,’ आयोजक अन्तरालले भनेको छ ।


अन्तरालका अनुसार, समाचार, दैनिक जीवन, पर्यटन, वाइल्डलाइफ, कृषि, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, नेपाल स्माइल गरी ९ विधा रहेका छन् । यी सबैं विधाबाट छानिएका १ सय ५१ फोटो प्रदर्शनीमा राखिनेछ ।


फोटो फेस्टिवलका दौरान बाँके जिल्लाको विशेष फोटो प्रदर्शनी हुने आयोजकले जनाएको छ । बाँकेको नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, ६ वटा गाउँपालिका(राप्तीसोनारी, नरैनापुर, डुडुवा, बैजनाथ, खजुरा, जानकी) का पर्यटकीय स्थल, कला संस्कृति, स्थानीय मौलिक परिकार, भेषभुषा र जीवनशैली झल्कने फोटोहरु उक्त प्रदर्शनीमा राखिनेछ ।


बाँके जिल्लाको विशेष फोटो प्रदर्शनीका लागि नेपालगन्ज फोटो फेस्टिवलले नेपालगन्ज ग्यालरीसँग सहकार्य गरेको परिकल्पनाकार शाहको भनाइ छ । ‘ग्यालरीले फोटो आव्हान गर्नेछ, ‘ग्यालरीका संस्थापक समिरमान श्रेष्ठले पत्रकारहरुसँग भने,‘यस प्रदर्शनीले बाँके जिल्लाको सबै क्षेत्रको व्यापक प्रवद्र्धन गर्नेछ ।’


आयोजनाबारे मंगलवार भएको छलफलका सहभागीहरुले नेपालगन्ज फोटो फेस्टिवलले यस क्षेत्रको समग्र विकासमा महत्वपुर्ण योगदान पु¥याउने विचार व्यक्त गरे ।


नेपालगन्ज क्षेत्रमा रहेर फोटो पत्रकारिता र फोटोग्राफीमा सक्रिय भएर काम गरिरहेका उनीहरुले नेपालमै पहिलो पटक गर्न लागिएको नेपाल फोटोग्राफी समिट नेपालगन्जमा हुने कुरा यस क्षेत्रकै लागि गौरवको विषय भएको धारणा राखे ।
नेपालगन्ज उप–महानगरपालिकाकी निर्वतमान उपमेयर उमा थापा मगरले देशभरबाट फोटो पत्रकार नेपालगन्ज आउँदा यस क्षेत्रको पर्यटन तथा समग्र विकासमा सकारात्मक प्रभाव पार्ने बताइन् ।


नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईले नेपाल फोटोग्राफी समिट र नेपालगन्ज फोटो फेस्टिवलले नेपाली फोटो पत्रकारिता क्षेत्रको विकासमा योगदान दिने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया