विद्यार्थीलाई प्रयोगात्मक शिक्षा आवश्यक

धेरैजसो विद्यार्थी मेहनत गर्न खोज्दैनन् । सबै विद्यार्थी जेहेन्दार हुन सक्दैनन् । यस्ता विद्यार्थीलाई सीप सिकाउनु पर्दछ । जुन विद्यार्थीले मेहनत गरेको छ, काम गरेको छ, शिक्षामा लगानी गरेको छ, त्यो सफल हुन्छ ।

भनिन्छ शिक्षा राम्रो भयो भने देशको आधार बलियो हुन्छ । बालबालिकाको सर्वाङ्गिण हितका लागि शिक्षा नै उनीहरुको आधारभूत शक्ति हो । गोल्डेन एबिसी एकेडेमीले स्थापनाको १४औं बार्षिकोत्सव मनाइँदा विद्यालयका संस्थापक प्रबन्ध निर्देशक विकास बहादुर सिंह र प्रिन्सिपल मनमति खत्री सिंह यसैको सेरोफेरोमा संवाद गर्दै थिए ।

दैनिक नेपालगन्जले गोल्डेन एबिसीको १४ बर्षे यात्राबारे संवाद गर्यो । शिक्षापद्धतिमै सुधारको आवश्यकता देखेका सिंहले विद्यालयले गरेका नमूना काम बारे बताए । ३० बर्षको शैक्षिक अनुभवलाई गोल्डेन एबिसीमा परावर्तन गरिरहेका सिंहले राज्यले गर्नुपर्ने काम गरेपनि धारणा राखेका सिंहसँग विद्यालयसँग जोडेर गरिएको संवाद ।

गोल्डेन एबीसीको आवश्यकताबोध किन भयो ? यहिँबाटै कुरा शुरु गरौं न !
शिक्षा सँग प्रेम गर्ने व्यक्ति हो म । गोल्डेन एबीसी स्थापना गरेर सबैलाई समान ढंगले गुणस्तरीय शिक्षा दिऔं भन्ने उद्देश्यले गोल्डेन एबीसी स्थापना गरिएको हो । यो स्कुलमा अहिले १ हजार ७ सय बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । विद्यार्थीको सम्पूर्ण जिम्मेवारी लिएर भविष्य बनाउनका लागि लागेको छु ।


शिक्षा क्षेत्रमा लागेको ३० बर्ष भयो । त्यसैले हजुरहरु ढुक्क हुनुस्, तपाईको विद्यार्थी एउटा बलियो काँधमा छ । तपाईं शिक्षाविद्को विद्यालयमा हुनुहुन्छ । हामी सत्रै विद्यार्थीको भविष्य उज्वल बनाउने प्रयासमा छौं । यही कुरा अभिभावकमा सञ्चार गर्न सफल भएका छौं, जुन कुराको आवश्यकताबोध गरेर गोल्डेन एबीसी स्थापना गरिएको थियो ।

विद्यार्थीका लागि किन गोल्डेन एबीसी नै ?
कुनै पनि ठाउँमा आबद्ध व्यक्ति कति अनुभवी छ, कस्तो त्यहाँ कर्मचारी राखेको छ, कस्तो शिक्षा दिन्छ भन्ने कुराले अर्थ राख्दछ । मलाई अनुभव छ, शिक्षामा, म राष्ट्रिय शिक्षा दिवस पदकबाट पनि सम्मानित भएको हुनाले, तीन पटक प्याब्सनको अध्यक्ष भैसकेको छु, एकपटक मुख्य सल्लाहकार भएर काम गरेको छु, स्पोर्टस्मा पनि मेडल जितेको, धेरै क्षेत्रमा आबद्ध भैसकेको हुनाले मैले गरेको म्यानेजमेन्ट पक्कै पनि राम्रो हुन्छ भन्नेमा म आफैमा विश्वास भएको हुुनाले गोल्डेन एबीसीको नाम मैलेनै राखेको हुँ । त्यसैले पनि विद्यार्थीको रोजाइको स्कूल बनिरहेको छ ।

अहिले विद्यालयको अवस्था के हो ?
विद्यालयको वर्तमान अवस्था भनेको १ हजार ७ सय बढी विद्यार्थी छन् । एक सय बढी शिक्षक कर्मचारी छन् । गोल्डेन एबीसीले शिक्षा दिनेमात्रै नभई बेरोजगारीको समस्या पनि समाधानमा पनि योगदान गरिरहेको छ । सबै कर्मचारीले मेहनत गरेर काम गरिरहेको हुनाले नै गोल्डेन एबीसीले दिनप्रतिदिन गुणात्मक शिक्षामा बढोत्तरी गरिरहेको छ । गुणात्मक शिक्षाका कारणले प्रत्येक बर्ष विद्यार्थी थपिंदै जानु भएको छ । सबै अभिभावकहरु, विद्यार्थीहरु, शिक्षकहरुका कारण विद्यालयको अवस्था अहिले बलियो छ ।


संस्थागत र सामुदायिक विद्यालय बीच शिक्षाको गुणस्तरमा दुरी बढ्दै गएको छ । तपाईं शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेको व्यक्ति भएकाले पनि यतिकुरा भनिदिनुस्, संस्थागत के कारणले राम्रो हुँदै गयो र सामुदायिक विद्यालय किन अद्योगति तिर गैरहेको छ ?
जे कुरा पनि व्यवस्थापनमा भर पर्छ । सामुदायिक विद्यालय र संस्थागत विद्यालय भन्ने बित्तिकै यो राम्रो र यो नराम्रो भन्नेमा म कहिल्यै पनि रहेन । म जहिले पनि व्यवस्थापनमा गएँ । व्यवस्थापन राम्रो भएका केही औंलामा गन्न सकिने सामुदायिक विद्यालयको अवस्था राम्रो छन् नि । किनभने त्यहाँको व्यवस्थापन पक्ष पक्कै पनि राम्रो होला ।


संस्थागत विद्यालय निजी लगानीमा सञ्चालन हुने हुँदा प्रत्येक व्यक्तिले आफ्नो लगानी नडुबोस् भन्ने उद्देश्यले पनि ८ घण्टा काम गर्ने ठाउँमा १२ घण्टा काम गरिरहेका हुन्छन् । मेहनत गरेर खटेर, जिम्मेवारीपूर्वक काम गर्छन् । जहाँ खटेर, मेहनत गरेर काम गरिएको हुन्छ त्यो संस्था राम्रो हुँदै जान्छ । संस्थागत विद्यालय राम्रो हुनुको कारण पनि त्यही हो, उनीहरु महेनत गरेर, खटेर काम गरेका हुन्छन् । त्यसैले संस्थागत र सामुदायिक विद्यालयमा अन्तर देखिएको हो ।
मेरो जोड के हो भने संस्थागत विद्यालय होस् वा सामुदायिक विद्यालय, जुन विद्यालयको व्यवस्थापन राम्रो छ, त्यो विद्यालय राम्रो हुन्छ ।

राम्रो भन्नाले विद्यार्थी पास हुने, सुकिला देखिने मात्रैलाई हेरिन्छ । उत्पादनशीलता, रोजगारीसँग जोडिने कुरा, शिक्षा लिएकै कारण भविष्य राम्रो हुने कुरा पनि होलान् । तपाईको धारणा के हो ?
सुकिला भन्नुभयो । त्यो जीवनको एउटा पाटो हो । मान्छे सफा, सुग्घर हुनु राम्रो हो । सुकिला कपडा लगाउने, राम्रो देखिने वित्तिकै विद्यार्थी राम्रो होला म भन्दिन । जुन विद्यार्थीले मेहनत गरेको छ, काम गरेको छ, शिक्षामा लगानी गरेको छ, त्यो विद्यार्थी सफल हुन्छ । अहिलेसम्म हाम्रो विद्यालयमा अध्ययन गरेका अनगिन्त विद्यार्थीहरु डाक्टर, इन्जिनियर, पाइलट, समाजसेवी बनेका छन् । म आफैले त्यसको अनुभव गरेको छु । हाम्रो स्कूलको प्रोडक्सन निकै राम्रो छ ।

समग्रमा कुरा गर्दाै शिक्षा पद्धति सन्तोषजनक छ ?
शिक्षा पद्धतिबाट खासै म सन्तुष्ट छैन । खासगरी मेरो विगत ३० बर्षको अनुभवमा हेर्ने हो भने परम्परागत शिक्षा प्रणाली लागु भएको छ । परम्परागत हिडाई भयो । हिजो पनि शिक्षा पद्धति त्यहीँ थियो, आज पनि त्यहीँ छ । समय अनुसार प्राक्टिकल पनि बनाउनु पर्ने हो । धेरैजसो विद्यार्थी मेहनत गर्न खोज्दैनन् या कक्षा १० मा गएर ड्रप आउट हुन्छ । सबै विद्यार्थी जेहेन्दार हुन सक्दैनन् । यस्ता विद्यार्थीहरुलाई पनि सीप सिकाउनु पर्दछ ।


हामीले देशका लागि दक्ष जनशक्ति तयार गर्नुपर्ने हो । चाहे त्यो इन्जिनियर, डाक्टर हुन् चाहे त्यो इलेक्ट्रिसियन र प्लम्बर हुुन् । शिक्षा भनेको प्रयोगात्मक पनि हुनुपर्ने हो । जो विद्यार्थीले कोर्ष राम्रोसँग कम्प्लिट गर्न सक्दैन अथवा प्रसेन्टेज ल्याउन सक्दैन, डिभिजन गरेर प्रयोगात्मक शिक्षाको व्यवस्था गर्नुपर्ने हो । जुन दक्ष जनशक्ति देशका लागि काम गर्ने हो ।
सबै किसिमको जनशक्ति हामीलाई चाहिन्छ । सबै व्यक्ति डाक्टर, इन्जिनियर मात्रै भए भने अन्य प्लम्बर, इलेक्ट्रिसियन जस्ता जनशक्ति आयात गर्नुपर्ने अवस्था आउँछ । विद्यार्थीको क्षमता अनुसार सबै तहका विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिन आवश्यक छ । जसको ब्रेन लेभल राम्रो छ, उनीहरु डाक्टर इन्जिनियर अन्य अलि कम क्षमता भएका विद्यार्थीले अन्य प्रयोगात्मक शिक्षा दिन आवश्यक छ ।

गोल्डेन एबीसी त्यसरी जान सक्दैन ?
त्यसको लागि सरकारमै पुग्नुपर्ने हुन्छ । शिक्षा पद्धति चेञ्ज गर्नुपर्ने हुन्छ । कि त मलाई अधिकार दिनुपर्यो । गोल्डेन एबिसीलाई त्यसरी शिक्षा दिन अधिकार दिइयो भने दक्षतापूर्वक दिन सक्छु, नदिन सक्ने होइन । कुनै पनि संस्था सञ्चालन गर्दा देशको नियमकानुन पालना गरेर नै सञ्चालन गर्नुपर्ने हुँदा ट्रयाकबाट हट्दा गाह्रो छ । तर, जुन दिन सरकारले मलाई जिम्मेवारी दिन्छ म वेष्ट नै गरेर देखाउँछु ।
त्यसका लागि करिकुलम सुधारका लागि सरकारलाई मेरो सुझाव छ ।

अभिभावकको भूमिका कस्तो हुनुपर्छ ?
अभिभावकहरु पनि फरकफरक प्रकारका हुनुहुन्छ । सपोर्ट नगर्ने होइन, सपोर्ट नगरेको भए त यत्रो गोल्डेन एबिसी कसरी चल्थ्यो र ? हामी के भन्छौ भने अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिका, कर्मचारी व्यवस्थापन भनेको एउटा परिवार हो । एउटा परिवारमा एउटा पनि चेन टुट्यो भने त्यो विद्यालय राम्रो सँग चल्न सक्दैन । उहाँहरु जन्मदिने आमाबुबा हो भने हामी कर्म दिने आमाबुबा आफुलाई ठानेका हुन्छौं । सबै एउटै रथको पाङ्ग्रा बनेर हिड्यो भने अवश्य एउटा गन्तव्यमा पुग्छ । कुनै ठाउँमा अभिभावकले बुझ्नु भएन भने त्यसलाई हामी बुझाउने प्रयास गर्छौ । शतप्रतिशत सन्तुष्टि नै त हाम्रो देशमा हुँदेन ।

१४ औं वार्षिकोत्सवसम्म आइपुग्दाको अवसर पारेर समग्रमा यहाँले गर्ने अपील के हो ?
सरकारले शिक्षा विद्हरु सँग बसेर नीति बनाउनु पर्छ । अहिले विद्यार्थीहरुलाई किताब र कापीको लोड बढी छ । त्यसलाई घटाएर प्राक्टिकल एजुकेशन कसरी हुन्छ बढाउनु पर्छ । कस्तो किसिमको शिक्षा दिने भन्ने नीति तर्जुमा गर्न म सरकारलाई अनुरोध गर्छु ।


अभिभावकहरुले पनि आफ्नो जिम्मेवारी बुझेर विद्यालयलाई सहयोग गर्यो भने मात्रै विद्यालय अगाडि बढ्छ भन्ने बुझेर सहयोग गर्नुपर्यो ।


विद्यालय व्यवस्थापन र कर्मचारीहरुले पनि हाम्रो विद्यालय हो, हाम्रो बाबुनानी हुन् भन्ने सोचेर शिक्षा दिनुपर्छ, गाइड गर्नुपर्छ । यसमा सुधार आवश्यक छ । जुन ठाउँमा सुधार आवश्यक छ, त्यहाँ सुधार गरिनुपर्छ चाहे त्यो अभिभावकको पक्ष होस्, शिक्षक, कर्मचारी, व्यवस्थापनको पक्ष होस् ।

प्रतिक्रिया

प्रतिक्रिया