आज दोस्रो वार्षिकोत्सव मनाउँदै टकसार
बाँकेमा व्यवस्थित जग्गा तथा आवासका लागि स्थापना गरिएको टकसार रियल स्टेट प्रालिले आफ्नो दोस्रो वार्षिकोत्सव आज बुधवार भव्य कार्यक्रम गरि मनाउने भएको छ ।
घरजग्गा व्यवसायीहरुलाई संगठित गरि व्यवस्थित र मर्यादित व्यवसायका लागि टकसारले नेतृत्व लिएकाले पनि वार्षिकोत्सवलाई सन्देशपूर्ण मनाउन लागिएको टकसारका अध्यक्ष ईश्वर प्रसाद पोखरेलले जानकारी दिए ।
दर्ता नगरी व्यक्तिगत व्यवसाय सञ्चालन गर्ने व्यक्तिलाई राज्यले नियमन र नियन्त्रण नगरिदिंदा बाँकेमा घरजग्गाको कारोबार अपेक्षित संस्थागत हुन नसकेको धारणा व्यक्त गर्दै बाँके जग्गा तथा आवास विकास संघका जिल्ला अध्यक्षसमेत रहेका पोखरेलले दैनिक नेपालगन्जसँगको संवादमा (हेर्नुस् संवाद, समाचारको अन्तमा) भने, ‘पश्चिम नेपालमा टकसारले व्यवस्थित घरजग्गाको कारोबारमा एउटा रोलमोडेलको काम गर्दैछ ।’
छोटो समयमा आर्जन गरेका विश्वास, सर्वप्रीय बनेको ब्राण्ड र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै जोडिनु भएका ९७ जना शेयरधनीको सामुहिकतामा मेगा प्रोजेक्ट अगाडी बढाउने उर्जा जुटेको छ । त्यसैले पब्लिक लिमिटेडमा जाने तयारीलाई तिब्रता दिइएको छ ।
महेश्वर जोशी
सदस्य सचिव, टकसार रियल स्टेट प्रा.लि.
व्यक्तिगत व्यवसाय गर्नेले नीति, नियम र मापदण्ड विपरित पैसा कमाउने धन्धाका रुपमामात्रै जग्गाको कारोबार गरिदिंदा व्यवसाय जोखिममा परेको गुनासो आइरहँदा टकसारले भने पब्लिक लिमिटेडमा जाने तयारीलाई तिब्रता दिएको छ ।
‘त्यसका लागि केही प्राविधिक तयारीले ढिला भएको हो, बाँकी काम करिब पुरा भइसकेको छ,’ टकसार रियल स्टेट प्रा.लि.का सदस्य सचिव महेश्वर जोशीले दैनिक नेपालगन्जसँग भने, ‘स्थापनाको पहिलो वर्षनै हामी १५ करोड शेयर पूँजी संकलन गरेर ठुला परियोजना ह्याण्डल गर्न सफल भएका छौं ।’
टकसारले पेशाकर्मी त्यसमा पनि शिक्षकहरुलाई लक्षित गर्दै आवास योजनालाई कार्यान्वयनमा ल्याउन लागेको सदस्य सचिव जोशीले खुलासा गरेका छन् ।
‘घर जग्गा सबैको आवश्यकता हो,’ सबैजसो पेशा, व्यवसायका व्यक्तिका लागि घरजग्गा आवश्यक रहेको तथ्यमा चर्चा गर्दै जोशीले भने, ‘शिक्षक लगायतका पेशाकर्मी जसले जग्गा खोजेर जीवनको सुन्दर घर बनाउने सपना साकार पार्न समय र परिस्थितिले साथ दिइरहेको हुँदैन, उहाँहरुको सपनाका घर हामी बनाउँदैछौं ।’
सदस्य सचिव जोशीले कोभिडको असरका बिचपनि टकसार रियल स्टेटले आफ्नो व्यापार व्यवसायलाई विस्तार गर्दै अगाडी बढेको बताए ।
रियल स्टेटका क्षेत्रमा टकसारले छोटो समयमा आफ्नो व्यापारलाई उच्च स्थानमा राख्न सफल भएको र छोटो समयमा राम्रो नाफा आर्जन गर्न सकेको जानकारी दिंदै जोशीले संस्थाका विभिन्न योजनाका कूल प्रक्षेपित परियोजना मुनाफा, बाँकी मौज्दात जग्गाको बिक्री र हाउजिङ प्लानिङका आगामी कार्ययोजनाबारे पनि वार्षिकोत्सवमा बहस गरिने जानकारी दिए ।
‘हामी सामुहिक इफोर्टका साथ हरेक क्रियाकलापमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कम्पनीका हित केन्द्रीत छौं,’ आर्थिक, खरिद, निर्माण, बजार प्रवद्र्धनजस्ता उपसमितिले आफ्नो–आफ्नो क्षेत्रमा काम गर्ने कम्पनीका कार्यप्रणाली सुनाउँदै सदस्य सचिव जोशीले भने, ‘त्यसैले आर्जन गरेका विश्वास, ब्राण्ड र ९७ जना शेयरधनीको सामुहिकतामा मेगा प्रोजेक्ट अगाडी बढाउने उर्जा जुटेको छ ।’
(हेर्नुस् संवाद) अध्यक्ष इश्वर प्रसाद पोखरेलसँग दैनिक नेपालगन्जले गरेको कुराकानी अंश
टकसार कसरी बन्यो ?
टकसारमा सबै विधाका व्यक्तिहरु आबद्ध हुनुहुन्छ । टकसारको सबैभन्दा ठूलो उद्देश्य के थियो भने, अहिले काम गरिरहेका व्यक्ति, संस्था भन्दा पृथक ढंगबाट जानुपर्छ । र, नयाँपन दिनुपर्छ । जग्गा किनबेचमा हुने चिटिङ रोक्नुपर्छ, उपभोक्ताहरुलाई ठगिनबाट बचाउनु पर्छ । साँच्चै नै हाम्रा ग्राहकले हामीलाई विश्वास गर्नुभयो, शुभ चिन्तकहरुले माया गर्नुभयो, सहयोग गर्नुभयो, शेयरधनी आ–आफ्नो ठाउँबाट लाग्नुभयो । जसको फलस्वरुप आजदुई बर्ष पुग्दा नपुग्दै टकसार उचाई लिन सफल भएको छ । अहिले टकसार अग्रस्थानमा छ ।
बाँकेमा व्यवस्थित घर जग्गा कारोबारको अवस्था के छ ?
बाँकेमा घर बनाएर व्यवस्थित ढंगबाट बेच्ने चलन सुरु नै भएको छैन । घडेरीहरु मात्रै बेच्ने चलन छ । त्यो पनिअलि टे«डिसनल टाइपबाट सेलिङ गरेको देख्छौं । टकसार रियल स्टेटले चाहीँ अलिकति आधुनिकीकरण गरेर, नयाँ ढंगबाट प्रविधिलाई जोडेर प्लानिङ्ग, हाउजिङको योजना सहित अगाडि बढेको छ ।
हाउजिङ माग हो वा योजना अनुसार अघि बढ्नु भएको हो ?
यसमा दुवै कुराहरु जोडिएका छन् । यो एउटा व्यवसायिक माग पनि हो र योजना पनि थियो, कस से कम यो क्षेत्रलाई नयाँपन दिनुपर्छ भन्ने । र, अहिले धेरै व्यक्तिहरु व्यस्त भैरहेको अवस्थामा समय दिएर आफ्ना घर निर्माण गर्नका लागि गाह्रो भैरहेको र त्यस्तो कम्पनी जसले रेडिमेट उनीहरुको रिक्वायरमेन्ट अनुसारको घर बनाएर दिने कम्पनीको रुपमा हामीले यसलाई अगाडि बढाइरहेका छौं ।
अहिले समग्रमा भन्नुपर्दा धेरैले टकसार रियल स्टेटप्रति विश्वास गरेर बुकिङ पनि गरिरहनु भएको छ । र, हामीले उहाँहरुको विश्वास र चाहनालाई पुरा गर्छौ ।
यतिबेला कति वटा परियोजना सञ्चालित छन् ?
हामीसँग ३ वटा परियोजना कम्प्लिट भएका छन् र चार वटा रनिङ छन् । नेपालगन्जको अन्त्यनजिक एरियामा हामीले करिब १५ विगाह जग्गामा मेगा प्रोजेक्ट सुरु गर्न गैरहेका छौं । र, त्यो प्रोजेक्टमा सबै खालका सुविधाहरु उपलब्ध गराउने उद्देश्य रहेको छ । त्यही किसिमले पार्टीहरुसँग डिल पनि भैरहेको छ । साच्चैनै भन्नुपर्दा नयाँ सहरको विकास गर्ने हाम्रो योजना हो र त्यो योजना हामी पूरा गर्छौ । र, त्यही किसिमले कामपनि अगाडि बढिरहेको छ ।
तपाईं त संघको अध्यक्ष पनि यसखालका योजनामा सहकार्य गरेर अगाडि बढ्न नसक्ने अवस्था हो ?
संघ निर्माण भएको धेरै लामो समय भएको छैन । छोटो समयमा पनि व्यवसायसँग आबद्ध साथीहरुसँग छलफल, अन्तरक्रिया के सञ्चालन गरेको छु भने काम गर्दा स्तरीयता हुनुपर्छ, एउटा संस्थाको कारणले अर्कोमा आँच पुग्नु हुँदैन भन्ने । रियल स्टेट यस्तै हो भन्ने म्यासेज दिनु हुँदैन । बरु सहकार्य गरेर स्तरीय प्रोडक्टहरु हामीले दिनुपर्छ । र, नयाँनयाँ प्रोडक्ट हामीले दिनुपर्छ, यहाँको आवश्यकता परिपूर्ति गर्नुपर्छ भन्ने जिल्ला देखि केन्द्रसम्म नै पहलपनि गरिरहेको छु । धेरै साथीहरु सकारात्मक पनि हुनुहुन्छ । धेरै साथीहरुले आफ्नो कार्यशैलीलाई चेन्ज पनि गर्नुभएको छ । र, सहकार्य गरेर जान सकिन्छ भन्ने वातावरण पनि बन्दैछ ।
दोस्रो बार्षिकोत्सवको सेरोफेरोमा के सन्देश दिनुहुन्छ ?
हामीसँग जोडिनु भएका, नजोडिनु भएका र जोडिन चाहनु भएका सबै महानुभावहरुलाई टकसार रियल स्टेटले जग्गा प्लाष्टिङ गरेर बिक्री गर्ने मात्रै नभई अहिले आर्थिक संकट रहेकाले जग्गा खरिदमा स–सानो लगानीको पहल, सहजीकरण पनि हाम्रो संस्थाले गर्ने छ । अर्को हामीले मेगा प्रोजेक्ट सुरु गर्दैछौं, त्यसबाट सबैले लाभ लिनुस् । शेयरधनीमात्रै नभई शेयरधनी नभएकाले लाभ लिनुस् । एउटा नयाँ सहर विकास गरौं । टकसारको पहिचान बनाऔं भन्ने अनुरोध गर्न चाहन्छु ।