प्रसिद्ध शक्तिपिठ नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा पाँचौं सोमबार महाआरतीको भव्य आयोजना गरिएको छ ।
महाआरतीमा बढ्दो श्रद्धालुको सहभागितालाई मध्यनजर बागेश्वरी गुठीले व्यवस्थित गर्दैै आवश्यक पहल थालेको जनाएको छ ।
‘महाआरतीको निरन्तरताका लागि कार्यविधि बनाइँदैछ’, बागेश्वरी गुठीका सचिव गोपाल अधिकारीले आगामी सोमबारसम्म अस्थायी पूर्वाधारमा महाआरती गरिने योजना सुनाउँदै भने, ‘कार्यविधिले त्यसलाई व्यवस्थित गर्नेछ ।’
अधिकारीका अनुसार, बागेश्वरीमा स्थायी प्रकृतिका पूर्वाधार निर्माण कार्य पनि भैरहेकाले त्यसको पूर्णता पछि मात्रै महाआरतीका लागि स्थायी संरचना बनाउने योजना गुठीको छ ।
महाआरतीलाई धार्मिक पर्यटनसँग जोडेर कार्यान्वयन ल्याउने अवधारणा रहेकाले नाट्टा बाँकेले बागेश्वरीको डिपिआरलाई पुनरावलोकन गरेर बृहत ढंगबाट जानुपर्ने जोड दिएको छ ।
‘महाआरती श्रद्धालुहरूको आकर्षक इभेन्ट बन्न सक्छ भनेर हामीले यसको सुरुवात गरेका हौं’, नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले प्रत्येक संस्करणमा आयोजनाले भव्यता लिंदै गएकोमा खुशी हुँदै भने, ‘गुठीले सबैको भावनाको कदर गरेर यसलाई निरन्तरता दिन आवश्यक पूर्वाधार तयार गरेर अगाडि बढ्नु पर्छ ।’