सदियौँ देखि गरिबी, बेरोजगारी, परम्परागत कृषि प्रणाली, चरम व्यापार घाटा ब्यहोर्दै हिँडेको नेपाली समाजलाई देश भित्रै औद्योगिक क्रान्ति सिर्जना गर्नका लागि स्वदेश भित्र कच्चा पदार्थ उत्पादन गर्न सकिने तथा प्रयोगविहीन वस्तुहरू तथा स्थानीय स्रोतहरूको आत्मनिर्भर सहितको दिगो व्यवसायिक अवसरहरूको पूर्णतः सदुपयोग गर्दै रोजगारी सिर्जना, नमूना उद्योग स्थापनाको प्राथमिकतामा सम्बद्धको ध्यानाकर्षण गरिएको छ ।
देशमा व्यापारघाटाको न्यूनिकरण तथा प्रतिस्थापनमा मुख्य रूपमा साझेदार गर्दै उद्यमशील संस्कृति बढावा प्रदान गर्दै, समाजवाद उन्मूख अर्थतन्त्र निर्माणमा टेवा पुर्याउन स्वदेशमै व्यावसायिक उद्योग स्थापना गरी वस्तु उत्पादन गर्न जरुरी छ भन्ने कुराको बोध गराउनुनै यो आलेखको आशय हो ।
व्यवसायिक परियोजनाका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने, खेर गइरहेका र न्यून मुल्यमा विक्री हुने वस्तुहरूको संकलनलाई व्यवसायिक रूप प्रदान गर्ने, स्थानीय रूपमा रहेका समुदायलाई उद्योगको साझेदारी मालिकको रूपमा स्थापित गर्न शेयर प्रदान गर्ने तथा उद्योगमै रोजगारी प्रदान गर्न पहिलो प्राथमिकतामा राखी व्यवसायिक परियोजना सञ्चालन गर्न ढिला गरिनुु हुँदैन ।
स्वदेशमै विभिन्न व्यवसायिक अवसरहरूको प्रशस्त सम्भावना हुँदाहुँदै पनि औद्योगिकीकरणका सकारात्मक वातावरण सिर्जना हुन नसकिरहेको परिप्रेक्ष्य विद्यमान छ । अर्कातिर व्यापार घाटा वर्षेनी बढ्दो क्रममा छ । उद्योग सञ्चालन गरी स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने यथेष्ठ आधारलाई मध्यनजर गर्दै देश भित्रकै गौरवमय व्यवसायिक परियोजना स्थापना गरी रोजगारी सिर्जना तथा बहुप्रतिक्षित लाभ सिर्जना गर्न देशलाई औद्योगीकरण गर्न आवश्यकता रहेको छ ।
स्थानीय स्तरमा सजिलै प्राप्त हुने स्रोत र साधनको समुचित प्रयोग गरेर वस्तु उत्पादन गर्ने ज्ञान, सीप र धारणाको विकास गर्नु जरुरी छ । व्यवसाय स्थापना तथा मूल्य श्रृंखलामा आधारित व्यवसायिक वातावरण निर्माण गर्न ग्रामिण स्तरमा उद्यमशिल संस्कृतिको निर्माण गर्न सरकार तथा सरोकारवालाहरूको ध्यान जान जरुरी छ ।
देशका अधिकांश बासिन्दाहरूको आर्थिक अवस्था दयनिय रहेको कुरा विभिन्न अध्ययन अनुसन्धान गरिएका विषयहरूमा आधारित तथ्याङ्क तथा प्रतिवेदनहरूले उल्लेख गरेका छन् । विभिन्न आर्थिक उपार्जन, सीप विकास, गरिबी निवारण तथा उद्यम विकास सम्बन्धी परियोजना तथा कार्यक्रमहरू सञ्चालन गर्नका लागि लक्षित समुदायलाई कसरी समेट्न सकिन्छ भन्ने सन्दर्भमा अध्ययन, अनुसन्धान गरी समुदाय स्तरमा प्रशस्त रोजगारी सिर्जना गर्न सकिने आधारहरू तयार हुनु पर्छ ।
नेपालमा उद्योग स्थापना गर्न ज्ञान, सिपको कमीले गर्दा स्थानीय स्रोतहरूको वास्तविक पहिचान तथा उपयोग हुन सकेको छैन । बहुप्रतिक्षित लाभ सिर्जना मुख्य उद्देश्य बोकेको व्यवसायिक उद्योगले प्रत्यक्ष रूपमा आयआर्जन, रोजगारी सिर्जना, समुदाय स्तरको लगानी वातावरणले देशको आर्थिक स्तरमा फन्को मार्ने सम्भावना बढी रहन्छ तर स्वदेशमै उद्यम संचालनका लागि स्थानीय स्रोतहरूको प्रचुर सम्ंभावना हुँदाहुँदै पनि उद्यमी बन्न नसकी बेरोजगारीका कारण थुप्रै युवा विदेश पलायन भएका छन् । विदेशमा आर्जन गरेको सिपलाई स्वदेशमै लगानी गर्ने उद्देश्य सहित सरकारले उद्योगमा लगानी गर्न जरुरी छ ।
हामी पनि विगत ६ वर्षदेखि पल्प तथा पेपरमा अध्ययन, अनुसन्धान गर्दै सामाजिक स्तरमा के कसरी उद्योग स्थापना गर्न सकिन्छ भनेर उद्योग दर्तामा लाग्यौं । कानुनी झमेला, राजनीतिले ग्रस्त भ्रष्टाचारी कर्मचारी तन्त्र, वित्तीय संस्थामा सिमित धनाढ्य व्यक्तिको पुँजी लगानी भएको देशमा सामाजिक स्तरबाट उद्योग स्थापना गर्नु चुनौतिपूर्ण कार्य रहेछ । श्रमको मुल्याङ्कन भन्दा सुकिला–मुकिला राजनीतिक गफाडीको बोलवाला भएको समाजमा आर्थिक व्यवस्थापन गर्नु पनि चुनौति नै रहेछ । उद्योग स्थापना, आत्मनिर्भरता, स्वरोजगारीको सम्भावना हुँदाहुँदै पनि राजनीतिले थिलो थिलो परेको हाम्रो समाजलाई समाजवाद उद्योग स्थापना गर्न स्वदेशमै प्रशस्त मात्रामा पाइने तथा सामुदायिक स्तरमा उत्पादन गर्न सकिने बाबियो, पराल, गहुँको नल, अम्रिसो, बाँस, ऊखुको छोक्रा लगायत फाइवरयुक्त पदार्थ प्रशोधित गरि एग्रेशिभ पल्प बनाई दैनिक ३०० मेट्रिक टन उत्पादन पल्पबाट विभिन्न साइजका पेपर उत्पादन गर्ने लक्ष्यका साथ अगाडी बढ्यौँ ।
यही लक्ष्य लिएर सरकारी स्तरमा परियोजना बारे जानकारी गर्दै (निवर्तमान लुम्बिनी प्रदेश मुख्यमन्त्री, सभामुख, प्रदेश योजना आयोग उपाध्यक्ष, उद्योग मन्त्रालय, आर्थिक मन्त्रालय) संघीय अर्थमन्त्रीसँग उद्योगको बारेमा छलफल गर्यौँ । तर, विडम्बना स्वदेशमै काम गर्छौँ रोजगारी सिर्जना गछौँ भनेर अगाडी बढ्नेलाई राजनीति दबदवाले गर्दा सफल हुन गा¥होे पर्ने रहेछ । राजनीतिलाई समाजसेवा भन्दा कमाउने धन्दा बनाएका कार्यकर्ता, विभिन्न संघ–संगठन, राजनितिक पार्टीका भातृ संगठनले गर्दा उद्योग स्थापना गर्न र सञ्चालन गर्न चुनौति रहेछ ।
आउँदो १० वर्ष भित्रमा नेपाललाई पेपर आयात मुक्त गर्ने उद्देश्यका साथ उद्योग स्थापनाका लागी जग्गा खरिद, डि.पि.आर., जमिन टेष्ट, पानी टेष्ट, आइइइ गरि निर्माण कार्य अगाडी बढाउँदै जाँदा बाझिएको कानुनी व्यवस्थाले विभिन्न बाधा उत्पन्न भई निर्माणमा ढिलाई हुने रहेछ ।
निर्वाचन सम्पन्न भएको तीन महिनामा पनि सरकार गठन नहुने हाम्रो देशमा उद्योग स्थापना गर्न सरकारबाट सहयोग उपलब्ध हुन्छ भनेर कल्पना पनि नगरौँ । अर्को पक्ष पैसा हुँदा जे जस्तोमा पनि लगानी गर्ने र नहुँदा विभिन्न कारण देखाएर लगानी नगर्ने वित्तीय संस्थाहरूलाई पनि परिमार्जित गर्न जरुरी छ ।
पल्प तथा पेपर उत्पादन मध्ये पहिलो चरणको पेपर रिसाइकल स्थापना गरी दैनिक ५० टन रिसाइकल पेपर उत्पादन गर्ने र अन्य कार्य गर्दै जान सहज हुने हुँदा आउँदो असार मसान्तसम्म सञ्चालन हुने गरी रिसाइकल उद्योग सञ्चालन गर्न लागिएको छ । हाम्रो लक्ष्यमा बायो पल्प उत्पादन गर्दा डाईजेष्टिरको माध्यमबाट निस्किने पदार्थ (ब्लाक लिक्क्वायर–लिग्नेम)बाट वायो उर्जा उत्पादन गरि कम्पनिलाई चाहिने उर्जा पूर्ति गर्ने र अपुग उर्जाको लागी सोलार प्लान्ट जडान गरी उर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ ।
बायो प्लान्टबाट उत्पादन हुने पदार्थलाई जैविक मलको रूपमा उत्पादन गरि सहुलियत दरमा कृषकलाई समुह माध्यमबाट विक्री वितरण गरिने छ । पानी व्यवस्थापनको लागी ट्रिटमेन्ट प्लान्ट स्थापना गरी पुनः प्रयोग गरिने लक्ष्य रहेको छ ।
न्यून मुल्यमा बिक्री गर्ने र अत्यधिक मुल्यमा खरिद गरी आयात गर्ने हाम्रो देशमा खेर गएका पेपर, प्याकेजिङ्ग उद्योगबाट र छापाखानाबाट निस्कने पेपरका झुरा, पुराना पत्रपत्रिका, पुराना किताब, पुराना कापी, पुराना कपडा, प्लाष्टिक, धानको भुस तथा काम नलाग्ने वस्तुहरूको प्रयोगबाट व्यवसायिक अवसरहरूको सिर्जना गर्दै एक्सिलेन्ट पेपर रिसाइकल कन्सर्न प्रा.लि. ले उद्योग सञ्चालन गर्ने जमर्को गरेको हो ।
पहिलो चरणमा स्थानीय रूपमा करिव २०० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै १००० जना भन्दा बढीलाई अप्रत्यक्ष रूपमा लाभान्वित गराउने, दिगो स्रोत व्यवस्थापन सहितको रणनीतिक योजना तथा कार्यान्वयन गर्ने, मुल्य श्रृंखलामा आधारित व्यवसाय स्थापनामा टेवा पुर्याउने, सरकारले लिएको गरिबी न्यूनिकरणको उद्देश्यमा महत्वपूर्ण साझेदारी गर्ने, लक्षित वर्गहरूको गरिबी न्यूनिकरणका लागि लिएको उद्देश्य प्राप्तिका लागि महत्वपूर्ण साझेदारी गर्ने हो ।
पव्लिक कम्पनीको रूपमा स्थापित गर्दै बहुउद्देश्य प्रकृतिका वस्तुहरू उत्पादन गर्ने, पब्लिक साझेदारीमा आधारित व्यवसायिक उद्योगको सञ्चालन तथा व्यवस्थापन गर्दै देशकै गौरवको उद्योग स्थापना गर्ने लक्ष्यका साथ अगाडी बढिरहेको उद्योग स्थापनार्थ सहकार्यको लागी लुम्बिनी प्रदेश मुख्यमन्त्रीज्युसँग पनि जानकारी गराइएको छ । उत्पादन मूलक नयाँ उद्योग स्थापना गर्न र सञ्चालन भइरहेका उद्योगलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले लगानीमा अनुदान वा व्याज अनुदान दिएर भए पनि सञ्चालन गराई प्रदेशलाई आत्मनिर्भर बनाउनु जरुरी छ अन्यथा यो सरकार पनि विगत जस्तै औद्योगिक निति किताबको पानामा मात्र सिमित हुने छ ।
संघ–संस्थाको नारामा मात्र सिमित हुने औद्योगिक क्रान्ति भन्दा सानो सानो पुँजी संकलन गरी उत्पादनमूखी उद्योग स्थापना गर्दा देश आत्मनिर्भरतिर अगाडी अवश्य बढ्ने छ । लुम्बिनी प्रदेश सरकारले गैर उत्पादन लगानी निरुत्साहित गरी स्वदेशमै उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गरी राष्ट्रलाई आत्मनिर्भर तिर बढाउन र राजस्वमा टेवा पु–याउने छ भन्ने अपेक्षा गरिएको छ । (भण्डारी एक्सिलेन्ट पेपर रिसाइकल कन्सर्न प्रा.लि.का कार्यकारी अध्यक्ष हुन्)