म्याराथनको वल्र्ड कंग्रेसमा नेपाल

जापानको ओशाकामा भइरहेको म्याराथन वल्र्ड कंग्रेसमा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरी सहभागी भएका हुन्

नेपाललाई रनिङ गन्तव्य बनाउन सघाउने अध्यक्ष बोराओको प्रतिबद्धता पाइएको छ।


विश्वभरका म्याराथन आयोजकहरुको ‘वल्र्ड कंग्रेस’ मा पहिलो पटक नेपाली झण्डा देखिएको छ ।
जापानको ओशाकामा विहीवारदेखि आयोजना भएको एसोसिएसन अफ इन्टरनेशनल म्याराथन्स (एम्स)को २३ औं वल्र्ड कंग्रेसमा पहिलो पटक नेपाली झण्डा देखिएको हो ।


नेपालको प्रतिनिधित्व गर्दै नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरी एम्सको २३ औं वल्र्ड कंग्रेसमा भाग लिएका हुन् । नयाँ कार्यसमिति चयन गर्दै २४ औं वल्र्ड कंग्रेसको मिति र स्थान तय गर्ने कार्यक्रम तीन दिन सम्म चल्छ ।


विश्व म्याराथनको चार दशकको यात्रामा नेपालको प्रतिनिधित्व पहिलो पटक नेपालगन्ज म्याराथनले गरेको हो । त्यसको नेतृत्व सम्हालेर सफल आयोजना गरेका अध्यक्ष ठकुरी सहभागी २३ औं वल्र्ड कंग्रेसमा सहभागी भएका छन् ।


‘हामीले एम्स अध्यक्ष पाको बोराओलाई नेपाल र नेपालगन्ज म्याराथनका बारेमा जानकारी गराउने अवसर प्राप्त भयो,’ २३ औं वल्र्ड कंग्रेसमा अध्यक्ष बोराओलाई नेपाली ढाका टोपी पहिराएपछि ठकुरीले दैनिक नेपालगन्जसँग भने, ‘नेपाल रनिङ म्यागाजिन हस्तान्तरण गरियो, आयोजनाबारे यसरी म्यागजिन तयार गरेर लैजाने नेपालगन्ज म्याराथन मात्र हो ।’


पहिलो पटक नेपाली झण्डा सहितको सहभागिता र प्रस्तुतिसहितको नेपाल रनिङ म्यागाजिन देखेर अध्यक्ष लगायत सबै सहभागी निकै उत्साहित भएको जानकारी दिंदै ठकुरीले अध्यक्ष बोराओ नेपाल आउन निकै इच्छुक रहेको बताए । ‘नेपाललाई रनिङ गन्तव्य बनाउन सघाउने अध्यक्ष बोराओको प्रतिबद्धता पाइएको छ,’ ठकुरीले भने ।


अध्यक्ष ठकुरीका अनुसार, नेपाल रनिङमा नेपालगन्ज म्याराथनका विभिन्न आयामलाई समेटिएको छ । नेपाल रनिङमा नेपालगन्ज म्याराथनले एथलेटिक्सको विकास, सहरसँगै देशको परिचय र त्यहाँको पयर्टन प्रबद्र्धनमा हुन सक्ने फाइदाका विषयमा पनि चर्चा गरिएको छ ।


‘विश्वसँगै अगाडि बढ्नुपर्ने हो भने यो ठूलो अवसर हो रहेछ,’ नेपालगन्ज म्याराथनका आगामी संस्करणबारे ओशाकामा सपना बुनिरहेका अध्यक्ष ठकुरी भन्छन्, ‘मैले मात्र त के सक्छु र, सबैले सहयोग सहकार्य गरिदिए नेपालगन्ज मात्र हैन, देशले नै ठूलो लाभ उठाउने सम्भावना देखें मैले ।’


वल्र्ड कंग्रेसमा सहभागिताबाट उत्साहित नेपालगन्जका युवा ठकुरीले विश्वभरबाट आएका सबैको अनुभव सुनिरहँदा कस्तो अनुभव गरे ? ‘हामी धेरै पछाडि रहेछौं,’ उनको सटिक जवाफ छ ।


‘मेरो सपना त छ, कुनै दिन वल्र्ड कंग्रेस नेपालगन्जमा गर्ने हो ! त्यसका लागि नेपालगन्ज म्याराथनमा तिस हजार सहभागी हुनुपर्याे,’ पहिलो दिनको कार्यक्रम सकिरहँदा ओशाकाबाटै ठकुरीको अपील थियो, ‘त्यसका लागि सिंगो देशले सघाउनुपर्याे ।’


अध्यक्ष ठकुरीका अनुसार, वल्र्ड कंग्रेसको पहिलो दिन नोवल पुरस्कार विजेताको प्रिजेन्टेसन, ओलम्पिक गोल्ड मेडलिस्टको अनुभव, संसारका रेश आयोजकबीच अनुभव आदानप्रदान र एकअर्कालाई कसरी सहयोग गर्न सकिन्छ भन्ने छलफल बहस भएको छ ।


एम्सको सदस्यता प्राप्तिसँगै गत मंसिर २४ गते आयोजना भएको धारा नेपालगन्ज म्याराथन पहिलो पटक इलेक्ट्रोनिक चिप्स प्रयोग गरि भएको थियो । आठौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्गबहादुर खड्काले जितेका थिए । त्यस्तै १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले महिला हाफ म्याराथनको उपाधि जितेकी थिइन् ।


धारा नेपालगन्ज म्याराथनको नवौं संस्करण तयारीसमेत शुरु भइसकेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया