दादुरा उन्मुलन लक्ष्यमा धक्का


सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने सरकारको लक्ष्य सफल नभएपछि सन् २०२३ का लागि सारिएको थियो । तर, सन् २०२३ मा पनि दादुरा उन्मुलन लक्ष्य पूरा नहुने देखिएको छ । बाँकेमा महामारीका रूपमा दादुरा देखिएपछि सरकारी लक्ष्य अब पर धकेलिन स्वास्थ्य विज्ञ बताउँछन् । यद्यपि, जिल्लामा दादुरा भने नियन्त्रणको अवस्थामा छ । खोप अभियान सञ्चालन गरेपछि अहिले दादुराका बिरामी थपिएको पाइँदैन ।

बाँकेमा दादुरा संक्रमण नियन्त्रणमा आएको छ । बिहीबार जिल्लामा कुनै नयाँ संक्रमित थपिएका छैनन् । स्वास्थ्य कार्यालय नेपालगन्जका खोप सुपरभाइजर नरेश श्रेष्ठले जिल्लामा दादुरा देखिएको स्थानमा तत्कालै खोप अभियान थालिएको र लक्ष्य भन्दा बढी बालबालिकालाई खोप लगाइएकाले अब जोखिम नरहेको बताउँछन् । ‘बाँकेमा दादुरा देखिएको स्थानमा लक्ष्य भन्दा बढीलाई खोप लगाइसकेका छौं’, उनले भने, ‘खोप अभियान प्रभावकारी भएकाले आसपासका जिल्लाबाट बाँकेमा दादुरा फैलने सम्भावना निकै कम छ ।’

बाँकेमा दादुरा, रुबेलाको संक्रमण अनपेक्षित रहेको स्वास्थकर्मी बताउँछन् । नेपालगन्जबाट सुरु भएको दादुरा संक्रमण बाँकेका अन्य स्थानीय तहसम्म फैलिएको थियो । नेपालगन्जमा महामारीकै रूप दादुराले लिएको थियो । दादुरा नेपालगन्जमा नियन्त्रणमा आएपनि यसले सरकारको दादुरा निवारण लक्ष्यमा धक्का पुर्याउने स्वास्थ्यकर्मी बताउँछन् ।

‘दादुराका निवारण गर्ने सरकारको लक्ष्य निर्धारण गरेको बर्ष बिरामी फेला परेकाले चुनौति सिर्जना गरेको छ’, स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर नरेश श्रेष्ठले भने, ‘सन् २०२३ मा नेपालमा दादुरा निवारण घोषणा गर्ने सरकारको तयारी रहेपनि केही पछि सर्न सक्ने सम्भावना रहेको छ ।’

सरकारले २०२३ सम्म दादुरा रुबेला रोग निवारण गरिसक्ने लक्ष्य थियो । नेपालगन्जमा फैलिएको दादुरा नियन्त्रणमा आएको देखिएपछि निवारण मापदण्ड पूरा गर्न सम्भव नहुँदा निवारणको निर्धारित समय पर सर्ने स्वास्थ्यकर्मी बताउँछन् । सरकारले नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य लिएपनि संक्रमण बढेपछि सम्भव हुन सकेको थिएन । दादुरा निवारण १०१९ मा सफल नहुने देखिएपछि सरकारले सन् २०२३ का लागि सारेको थियो । ‘यसै बर्ष दादुरा निवारण घोषणा गर्नुपर्ने भएपनि नेपालगन्जमा देखिएको महामारीका कारण निवारण समय नै सार्नु पर्ने अवस्था छ,’ स्वास्थ्यकर्मी भन्छन् ।

दादुरा रुबेलाका बिरामी गत बर्षहरूमा पनि देखिएका थिए । विगतमा पनि जाजरकोट, धादिङमा दादुराका बिरामी भेटिएका थिए । दादुरा सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्छ र छिट्टै महामारीको रूप लिन पनि सक्छ । ‘एउटा जिल्लामा देखिएपछि चल्ने खोप अभियानले नियन्त्रणमा आएपनि खोप नलगाएका अन्य जिल्लाका बालबालिकाको आवतजावतले पनि सर्न सक्छ, सरकारको लक्ष्य अनुसार निवारण चुनौतिपूर्ण छ’, स्वास्थ्यकर्मी भन्छन् ।

गत पुस १२ देखि हालसम्म बाँकेमा ३ सय २२ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ जना होम हाइसोलेसनमा छन् । गम्भीर कोही पनि छैनन् भने एक जना संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया