भारतीय पर्यटन व्यवसायी भन्छन्, ‘नेपाल आकर्षक गन्तव्य

वेष्टर्न ट्राभल मार्टबाट फर्किए सहभागी


ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाइ)का अध्यक्ष ज्योति मयलले पर्यटकीय दृष्टिले नेपाल आकर्षक गन्तव्य भएको बताएकी छन् ।

वेष्टर्न ट्राभल मार्टको दोस्रो संस्करणमा सहभागी भएर फर्किने क्रममा मंगलवार विदाईपछि पत्रकारहरुसँगको भेटमा अध्यक्ष मयलले पश्चिम नेपालको पर्यटकीय स्थल घुम्न लायक भएको धारणा राख्दै भनिन्, ‘भारतीय पर्यटकका लागि पश्चिम नेपालको पर्यटकीय स्थल सबैभन्दा नजिक रहेको पाएँ ।’

नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, नेपालगन्जबाट नजिक रहेको कैलाश मानसरोवर जस्ता स्थलले भारतीय पर्यटकलाई आकर्षित गरेको अध्यक्ष मयलको भनाइ छ । ‘बढ्दो पूर्वाधार र सुविधाले पर्यटकका लागि आकषर्ण थपिंदै जाने देखिन्छ,’ उनल भनिन्, ‘पूर्वाधार र पर्यटन प्रचारप्रसारलाई सँगसँगै लैजानुपर्छ ।’

नेपालगन्ज–दिल्ली सिधा हवाई सेवा विस्तार गर्नका लागि ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाइ)ले भारतीय नागरिक उडड्यन लगायत सम्बद्ध अधिकारीसँग संस्थागत रुपले छलफल अगाडी बढाउने प्रतिबद्धता अध्यक्ष मयलको थियो ।

वेष्टर्न मार्टमा सहभागी हुन आएका भारतीय पर्यटन ब्यवसायी मंगलवार फर्किएका छन् । उनीहरुलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, ट्राभल एजेन्ट्स एशोसिएसन अफ नेपाल(नाट्टा) बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, हान बाँकेका डा. ओम मिश्र, केशव न्यौपाने लगायतले ढाकाको टोपी र माला लगाएर विदाई गरेका थिए ।

‘समग्रमा आयोजनाबाट हामी सन्तुष्ट छौं,’ आयोजक समितिका संयोजक सिग्देलले भने, ‘विस्तारै यसको परिणाम पनि व्यवसायिक क्षेत्रमा देखा पर्दै जानेछ ।’

मार्टको पहिलो दिन आइतवार नेपालगन्जमा औपचारिक उद्घाटनदेखि बी–टु–बी सत्र आयोजना गरिएको आयोजनामा दोस्रो दिन बर्दियाको ठाकुरद्वारामा विशेष कार्यक्रमसँगै समापन कार्यक्रम गरिएको थियो ।

तेस्रो दिन, मंगलवार बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमणपछि नेपालगन्ज आएका सहभागीहरुलाई आयोजकले विदाई गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया