नेपालगन्जमा ‘ट्राभल मार्ट’ : खोलिंदैछ, पर्यटनको पश्चिम ढोका

बाँकेलाई पर्यटकीय हब बनाउने अभियानका रुपमा आजदेखि नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’को दोस्रो संस्करण ‘फेम ट्रिप वीथ सेल्स मिशन’ को आयोजना गरिंदैछ ।


नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नाट्टा बाँके च्याप्टरले हान बाँके, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल व्यवसायी संघ बाँके नेपालगन्जलगायतका संस्थासँग संयुक्त रुपमा आयोजना गरेको मार्टलाई बाँकेका स्थानीय तहले सहभागितामूलक सहयोग गरेका छन् ।


आयोजक समितिका संयोजक श्रीराम सिग्देलले पश्चिम नेपालका पर्यटकीय महत्वपूर्ण गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आइतबादेखि नेपालगन्जमा वेष्टर्न ट्राल मार्टको आयोजना गर्न लागिएको जानकारी दिंदै तयारी पुरा भएको बताए ।


गतवर्षदेखि आयोजना थालिएको मार्टको दोस्रो संस्करणमा कैलाश मानसरोवर ‘माउन्टेन फ्लाइट’ र प्रसिद्ध शक्ति पीठ नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा महाआरती आकर्षणको केन्द्रबिन्दुमा राखिएको छ । पहिलो पटक ६६ जना भारतीय टूर अपरेटरसहित आज आइतवार साँझ वागेश्वरीमा महाआरती र भोलि सोमबार बिहान साढे ७ बजे मानसरोवर माउन्टेन फ्लाइट शुभारम्भ गरिंदैछ ।


नेपाल पर्यटन बोर्डको सहयोगमा पहिलोपटक ट्राभल एजेन्ट्स एशोसियसन अफ इण्डिया (टाइ)का ६६ पदाधिकारीसमेत रहेका भारतीय टूर अपरेटर र त्यहाँका नौ जना पत्रकार नेपालगन्ज आइपुग्दैछन् ।

आयोजक समिति संयोजक सिग्देलले भने, ‘यति ठुलो र महत्वपूर्ण उपस्थितिमा भइरहेको यसपटकको मार्ट पश्चिम नेपालको पर्यटन व्यवसायमा ठूलो उपलब्धी हो ।’ सिग्देलले वेष्टर्न ट्राभल मार्टले पर्यटन व्यवसायमा पश्चिम नेपालको ढोका खोल्ने विश्वास आफुले गरेको बताए ।


आयोजक समितिका सह–संयोजक हान बाँकेका अध्यक्ष दिवाकर खनालले मार्ट र कैलाश मानसरोवरको उडानले पश्चिम नेपालमा भारतीय पर्यटक बढ्ने र त्यसको प्रवेशद्वार नेपालगन्ज हुने विश्वास व्यक्त गरे ।

‘नेपाल आउने भारतीय पर्यटकलाई गोरखपुर र रक्सौल नाकाबारे मात्र थाहा थियो,’ भारतीयलाई नेपाल आउने छोटो र सस्तो रुटको रुटबारे मार्टबाट प्रचारप्रसार हुने जानकारी दिंदै सह–संयोजक खनालले भने, ‘यसले पर्यटनको विकाशमा पश्चिमको ढोका खुल्छ ।’

पहिलोपटक ठूलो संख्यामा भारतीय टूर अपरेटर र भारतीय पत्रकार नेपाल आउदै गर्दा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाई) का पदाधिकारी र सदस्यहरु आफ्नो वार्षिक साधारण सभा पनि तय भएको छ । ‘यसले पनि नेपालगन्ज रुटलाई मान्यता दिन सहयोग पुग्छ,’ संयोजक सिग्देलको भनाइ छ ।


मंगलबारसम्म चल्ने मार्टका लागि भारतीय टूर अपरेटर, भारतीय पत्रकार, नेपाल पर्यटन बोर्डका अधिकृत, नाट्टा, टान, हान, रेवान, नारा लगायत पर्यटन व्यवसायी संघ संस्थाका प्रमुख तथा पदाधिकारीहरु नेपालगन्ज पुग्दैछन् । सोलो ट्राभलर कञ्चन राई ‘घुमन्ते’, सिर्जना सिज्जु देखि पर्यटनका क्षेत्रमा कलम–क्यामेरा चलाउने पत्रकारहरुपनि नेपालगन्ज आइपुग्दैछन् ।

पर्यटन व्यवसायीहरुको व्यवसायिक विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत बजारका टूर अपरेटर एवम् पर्यटन व्यवसायीसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न मार्ट सफल हुने विश्वास आयोजकको छ । ‘मार्टमा काठमाडौं उपत्यका लगायत सातै प्रदेशका पर्यटन व्यवसायीहरुको उपस्थिति हुने भएकाले भारतीय टुर अपरेटरसँग व्यवसायिक सम्झौताका सम्भावना पनि अपेक्षा गरिएको छ,’ नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले भने ।


सिग्देलका अनुसार, ठूलो भेला तथा सम्मेलन भइ स्थानीय संस्कृति, टूर प्याकेज र लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटक आकर्षण गर्नेे मुख्य उद्देश्यका साथ यो मार्ट सञ्चालन गर्न लागिएको हो ।


आयोजक समितिका सदस्य सचिव कृष्ण प्रसाद श्रेष्ठले नेपाली अर्थतन्त्र चलायमान बनाइरहन नेपालका लागि पर्यटननै मुख्य आधार बन्नसक्ने भएकाले पश्चिम नेपालबाट त्यसको सम्भावना खोज्न निरन्तर पहल र प्रयास गरिरहेको बताए ।

‘त्यसैको प्रतिफल हो वेष्टर्न ट्राभल मार्ट,’ पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजकसमेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्रष्ेठले भने ‘यसले पश्चिम नेपालको पर्यटनमा नयाँ र फरक सोचका साथ पर्यटकीय सम्भावनाको खोजी, विकास र व्यवसायिक विस्तारका लागि नेपालगन्जबाट नेतृत्व लिइएको हो ।’

भारतीय पर्यटकहरुलाई कर्णाली नदीमा ¥याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्ज भित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनुभव प्रदान गरिने कार्यक्रम पनि राखिएको नाट्टा बाँकेका सचिव भागिराम ओलीले जानकारी दिए ।

‘यसले पश्चिम नेपालको गन्तव्यहरुलाई पर्यटकका लागि प्रवद्र्धन हुनेगरी भारतीय बजारमा बजारीकरण गर्न सहयोग पुग्नेछ,’ ओलीले दैनिक नेपालगन्जसँग भने ।

आयोजक समितिका कोषाध्यक्ष डा. ओम मिश्रका अनुसार, मार्टमा स्टलबुकिङ गरेर प्रदर्शनी गर्ने टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायक संस्थाहरु र भारतबाट सहभागी हुने टुर अपरेटरहरुबीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया हुनेछ ।

‘आन्तरिक पर्यटन प्रवद्र्धनकालागि सातै प्रदेशका पर्यटन व्यवसायीहरुबीच टुर प्याकेज कार्यक्रमको आदान–प्रदान हुनेछ’ कोषाध्यक्ष डा. मिश्रले भने । नेपाली जडिबुटी, पाल्पाको ढाका, अल्लो लगायतका नेपाली मौलिक उत्पादनको स्टल सहुलियतमा राखिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया