यो देश बन्न अझै कति शहिद चाहिने हो ?

मित्रलाल सापकोटा

यो माघको महिना । यो महिना नेपालको राजनीतिक इतिहासमा शहिदको महिनाले चिनिन्छ । सरकारले हरेकबर्ष माघ १० देखि १६ गतेसम्मलाई शहिद सप्ताहको रुपमा औपचारिक रुपमा मनाउँदै आएको छ । देशमा राजनीतिक परिवर्तनका लागि भएका कुनैपनि आन्दोलनहरु कम भएका छैनन् । तर १०४ बर्षे जहाँनियाँ राणा शासनका बिरुद्ध उठेको आन्दोलन पक्कैपनि कम शाहसिक थिएन । जुनबेला राणाहरुको बोली नै कानून हुन्थ्यो त्यो बेला आफ्नो ज्यानको कुनै परवाह नगर्ने शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको प्राणआहुतीलाई शहिदको सम्मान स्वरुप २००७ यताका सबै शासनले निरन्तरता दिए ।

त्यसयता पनि बिभिन्न आन्दोलनहरु भए । तीनचार वटा व्यवस्थाहरु आए । झण्डै तीन दर्जन त सरकार नै बने । संविधान समेत सातववटा बने । क्रान्तिका नाममा धेरै नेपालीका टाउका पनि काटिए । धेरैका घरबार नै उजाडिए । व्यवस्था र सरकारहरुको परिवर्तनहरुसँगै मन्त्री बन्नेहरुको संख्या हजारका आसपास पुग्न थालिसकेको छ । सरकारी लाभको पदको कुरा गर्ने होभने लाखको हाराहारीमा पुगेको छ । आफ्ना आफन्तका भर्ती र व्यवसायिक लाभको हिसाब गर्ने त समाजिक गणित बनेको छ छैन भन्न सकिन्न ।

यति हुँदापनि देश बदल्न, देशको अवस्था बदल्न हिँडेकाहरु आजपनि आत्मदाह गर्न बाध्य छन् । शहिद सप्ताह कै पहिलो दिन माघ १० गते देशको निकै क्रान्तिकारी, चलायमान, गतिशील चतुर राजनीतिककर्मी, कतिपयका मसिहा र तारणहार भनिएका वर्तमान प्रधानमन्त्री र उच्चतम् भनिएको व्यवस्थाका मूलघरको ढोकानिर यहि व्यवस्थाभित्रको बेथितिबाट निराश भएका इलामका ३६ बर्षीय प्रेम प्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएर ज्यानकोे आहुती दिँदै थिए । ठिक त्यहि समयमा त्रिभुवन अन्र्तराष्ट्रिय हवाइअड्डामा यिनै प्रधानमन्त्रीलाई यहाँस्म्म पुर्याउन आफ्नो ज्यान हतेलीमा राखेर बन्दुक बोकेका जुम्ला तातोपानी–३ का ४० बर्षीय तिलक बहादुर कार्की समेत ७ जनाको मृत शरीरको बाकसहरु विदेशी भूमिबाट उत्रिँदै थिए । यो कुनै संयोग थिएन । यो व्यवस्थाभित्रका राज्यसञ्चालकहरुको किंकर्तव्यबिमूड अवस्थाको परिणाम थियो ।
लोकतन्त्र भनेको त सबै व्यवस्थाको उच्चतम् व्यवस्था हो भनिन्छ । तर कुन अर्थमा उच्चतम् व्यवस्था भनिएको हो त्यसबारे आम नेपालीले अनुभूत गर्ने अवसर अझै जुरेको छैन । कसैलाई बोल्न पाएकोमा उच्चतम् लागेको छ ।

कसैलाई तथानाम गाली गलौच गर्न पाएकोमा उच्चतम् व्यवस्था लागेको छ । कसैलाई रोजिछाडी सरकारी पदपैसामा मस्ती मार्न पाएकोमा उच्चतम् व्यवस्था लागेको छ । कसैलाई आफ्ना आफन्तहरु शाखासन्तानलाई सातपुस्ता पुग्नेगरि कमाउन पाउने मेलोमेसो पुर्याउन पाएकोमा उच्चतम् व्यवस्था लागेको छ । कसैलाई सरकारी रकममा सत्तोचुर कमाउन पाएकोमा उच्चतम् व्यवस्था लागेको छ । कसैलाई भष्ट्राचारको डुङ्गुर माथि बसेर र्याल काढ्दै जम्हाई काढ्न पाएकोमा उच्चतम् व्यवस्था लागेको छ । कसैलाई देशको माटोसँग गद्दारी गरेर विदेशीको तलुवा चाट्ने अवसरै अवसर मिलेकोमा उच्चतम् व्यवस्था लागेको छ ।

असाध्यै उच्चतम् लागेको यो व्यवस्थामा तिलक बहादुर कार्की र प्रेम प्रसाद आचार्यहरुलाई उच्चतम् लाग्ने आजसम्म केहि लक्षण देखिएन । देशको मुहार फेर्न भन्दै आफ्नै दाजुभाई काट्न आदेश पाउँदा पनि एकशब्द प्रतिपाद नगरि बन्दुक बारुद बोकेर घरबार छोडीहिँडेका तिलक बहादुर कार्की सेक्सन कमाण्ड समेत भए । प्रचण्ड जस्ता धेरैलाई सत्ताको मझेरीमा पुर्याएपछि आफ्नो परिवारको दयनीय अवस्था सम्झेका उनी आफ्नो ज्यानमा गोलीका छर्रा बोकेरै साउदी पसेका उनको ज्यान बाकसमा फक्र्यो । उनी आज यहि व्यवस्थाभित्रको बेथितिको शहिद भए ।

लोकतान्त्रिक व्यवस्था आएपछि जनताले गरिखान पाउने आशा पालेका प्रेम प्रसाद आचार्यले यहि व्यवस्थाको मूलघर बाहिर ज्यानको आहुती दिनुपर्छ भनेर कहिल्यै कल्पना समेत गरेका थिएनन् होला । उच्चतम् व्यवस्था आयो । गरिखाने दिन आए भनेर काठमाण्डौंमा सानोतिनो काम गर्न छिरेका उनी बेथितिको बिरुद्धमा शहिद भए । आसेपासेहरुको मुठ्ठीमा जकडिएको व्यवस्थाभित्र औंलामा गन्न मिल्नेहरुका हातमा पुगेर थन्किएको अर्थतन्त्रभित्र प्रेम प्रसाद जस्ताले गरिखान सकेका छैनन् । हिजो गाउँका साहुकारले चर्को ब्याज चलाएर घरखेत जफत गरे भन्नेहरुले बैंक, वित्तियसंस्था, लघुवित्त र सहकारी खोलेर वैधानिक रुपमा घरखेत लिलामी गर्ने बाटो बनाए । विकास साझेदारको नाउँमा अकुत सम्पत्ति घुमाइफिराइ केहि व्यक्तिले कमाउने र देश जनतालाई आर्थिक संकटमा पुर्याउने काम गरे । सस्तो ब्याजदरको रकम , कृषि अनुदान र सहज कर्जा समेत आफन्तलाई भाग पुर्याएर सत्तासँग पहुँच नभएका आम जनतालाई किनारा लगाए ।

वर्तमान राजनीतिले बिचौलियाको हालीमुहालीको बनमारा झाडी पालेर त्यसैबाट आफ्नो आम्दानीको श्रोत बनाउने सरकारी निकायको विकास गरेर देशलाई दिशाहीन बनाए । बेथितिको चाङमाथि बसेर ङिच्च हाँसेर सत्ताले राष्ट्रिय पूँजिपतिवर्ग, स्वरोजगार बनेको समूह, राज्यसँग कुनै सहयोग नै नलिइकन आफु बाँचेर राज्यलाई बिभिन्न करको माध्यमबाट योगदान गरेको वर्ग, साना उद्यमीहरु, किसानहरु, साना व्यवसायीहरु टिक्न नसकेर कहिले राष्ट्रबैकको ढोकामा त कहिले माइतीघर मण्डलामा पुगेर रोएको देखेन । देख्ने प्रयास पनि गरेको देखिएन । केहि झोले कार्यकर्ताहरु, महिमामण्डली पत्रकारहरु, काला कर्तूत ढाकछोप गर्ने कालाकोटधारीहरु, निमुखालाई कुल्चिने बुटहरु, करोडौंको गाडीमा झण्डा फरफराएर दौडिने सुटहरु मात्रै हुर्केबढेकोे व्यवस्था र थितिभित्र यस्ता थुपै्र तिलकबहादुरहरु र प्रेम प्रसादहरु शहिद भैरहेका छन् ।
प्रेम प्रसाद आचार्यले आफु आत्मदाह गर्नु अघि समाजिक सञ्जालमा केहि बुँदाहरु लेखेका रहेछन् । उनले लेखेका धेरै कुराहरुसँग यो पङ्तिकार पनि सहमत भएको छ । बहुसंख्यक नेपाली ती कुराहरुमा सहमत छन् भन्न सकिन्छ । आज वास्तवमा नै देशले व्यवस्था मात्रैको परिवर्तन खोजेको थिएन भन्ने प्रमाणित गर्न प्रेम प्रसादले आहुती दिनु पर्ने होइन । गरिखान नसकेर वा नपाएर वा गर्न खोजेर पनि यो व्यवस्थाले पालेका साँढेहरुको चपेटामा परेर जिउँदै शहिद भएकाहरुको फेहरिस्त खोज्ने आज कोहि छैन ।

न्यून बिजक कायम गरेर वा बिल बीनाभन्सार नै यो व्यवस्थाको प्रशासनसँग सेटिङ बसाएर रातारात समान भित्र्याउने ब्यापारिले अरुको ब्यथा बुझ्दैन । यिनैले ब्यापार भएन भन्दै ठूलो स्वर गरेको र सत्तासँग साझेदारी गरेको आम जनताले बुझ्दैन । देशका चिनीमिलमा बर्षौ देखिको किसानको ऊखुको मोल बक्यौता राखेर सीमा पारीबाट बीना भन्सार भि त्र्याएको चीनीको बिल मिलाउनेहरुले पनि यो अवस्था बुझ्ने कुरै भएन । ‘क्यारिङ् गर्न पाउने हाम्रो अधिकार हो’ भन्नेहरु र देशभित्रको तरकारीको वेवास्ता गर्दै सीमा पारिबाट तरकारी निर्वाध आउने दिने नाकामा बसेकाहरुले पनि यहाँको ब्यथा बुुझ्न चाहेका छैनन् । गुणस्तरीय शिक्षाको नाममा अँग्रेजी रटाउने र युवालाई विदेश पठाउने शैक्षिक प्रणालीका राष्ट्रिय शिक्षा पुरस्कारधारीका नजरमा प्रेमप्रसादहरुले उठाएको प्रश्न नकारात्मक मात्रै लाग्छ ।

नेपालमा कपाल काट्न, गाडी मर्मत गर्न सिकेर यहिँ दुईचार पैसो कमाएर जहानकेटाकेटीसँग बस्ने रहर पाल्न सिकाउने हाम्रो पद्धति भएन तर अमुक देशको भीसा खोलेको भनेर म्यानपावर कम्पनीको उद्घाटन गर्न जाने शासकका झोलेहरुलाई भारतको मोदीले पकौडा बनाएर बेच भनेकोमा खिसिटिउरी गर्नमा मजा आउँछ । त्यो पकौडाको आर्थिक पाटोका बारेमा सोच्ने आवश्यकता हाम्रोतिर कसैलाई छैन ।

आज झट्ट हेर्दा प्रेम प्रसादले आत्मदाह गरेका छन् । उनको शरिर जलेको छ तर यथार्थमा त आम गरिखान खोज्ने नेपालीहरुको मन र मुटु पोलेको छ । यो कुरा कुन व्यवस्थाले र कुन चाहिँ दरबारले बुझिदिने हो ? कुन क्रान्तिले अब फेरि प्रेम प्रसादहरुले जल्नुपर्ने छैन ? यो त आजका जनपक्षीय भन्ने सरकारहरुले भन्नु पर्छ होला नि !

कुनैबेला नेकपा तुलसीलाल अमात्यलाई उत्तरकोरियाली र्आिर्थकनीतिका सर्मथक मान्थे नेपालका कम्यूनिष्टहरु । एमालेको जनताको बहुलदीय जनवादमा ंल्याएको आइएनजिओवाला आर्थिक नीतिका बिरोधी मानिने तुलसीलाल एमालेमा प्रवेश गरे । उनको जनताको जनवादी कार्यक्रममा नेपालको विकास स्वदेशी पूजिँले नै गर्नु पर्छ भन्दा उनलाई विकास गर्न नचाहने कम्यूनिष्ट भन्ने गर्थे । तर आज विकास गर्न चाहने कम्यूनिष्टहरुले भने देश लूटाएर विदेशीको मनग्य विकास गरिरहेका छन् । आफ्ना आफन्तका विकास गरेका छन् । जहाज हाइज्याक, बैंक डकैती, राष्ट्रिय सम्पत्तिमा आगो र बम, जनताका छोराछोरीका टाउका काट्ने सबैखाले अपराधलाई देश र जनताको हितमा गरेको राजनीतिको जामा लगाउँदै तिलकबहादुर र प्रेमप्रसादहरुलाई शहिद बनाइरहेका छन् । यो व्यवस्था र वर्तमान शासकहरुसँग शायदै कुनै जवाफ होला कि यो देश बन्न अझै कति शहिद चाहिने हो ?

शहिद सप्ताहमा ज्ञात अज्ञात शहिदहरु सहित मतृक तिलक बहादुर कार्की र प्रेम प्रसाद आचार्यलाई हार्दिक श्रद्धाञ्जलि ।

प्रतिक्रिया

प्रतिक्रिया